शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन 

महेन्द्रनगर बजारबाट निर्मला पन्तको खोल्टीस्थित घर नपुग्दै बीचमा आउँछ भगतपुर। यहाँको पिच बाटोसँगै जोडिएर एउटा घर बनिरहेको छ। सटरसमेत रहेको घरको प्लास्टर सकिसकेको छ।

यो घरको सम्बन्ध निर्मला प्रकरणसँग पनि जोडिएको छ। 

बन्दै गरेको घर वीरबहादुर खुनाको हो। भीमदत्त नगरपालिकामा कुचिकार रहेका उनको आर्थिक अवस्था कमजोरै छ। सरकारले कमैया मुक्ति घोषणा गर्दा पाएको पाँच धूर जमिनमात्र थियो, उनीसँग। जागिरबाट कमाएको जति त खानामै खर्च भइहाल्थ्यो। 

निर्मला प्रकरणमा कञ्चनपुरमा आन्दोलन चर्कँदा प्रहरीको गोली लागी ज्यान गुमाउने १३ वर्षका सन्नी खुना वीरबहादुरकै छोरा हुन्। 

बाँचुन्जेल जीविकोपार्जनमा छोराले मजदूरी गरी सघाएका थिए उनलाई। मृत्युपछि पनि सघाइरहेकै छन्। राहत वापत् पाएको १३ लाख रुपैयाँकै कारण बुबा वीरबहादुरले पक्की घर बनाउन सकेका हुन्।   

बन्दै गरेको घर नजिकै प्लास्टिकको सानो छाप्रो अगाडि बसेर वीरबहादुरले हामीलाई सुनाए, ‘१० लाख केन्द्र सरकार र भीमदत्त नगरपालिकाले तीन लाख रुपैयाँ दियो। प्रदेशको पाँच लाख आउन बाँकी छ।’

हामीसँग वीरबहादुरको कुराकानी चलिरहँदा सँगै थिइन् सन्नीकी सानीआमा मञ्जु। वीरबहादुरको कुरा नसकिँदै मञ्जुले थपिन्, ‘हामीले निवेदन दिइसकेका छौँ। उताबाट खबर गर्छौँ भन्नुहुन्छ। तर, खोइ किन हो, ढिलो भयो।’ 

केन्द्र र नगरपालिकाले असोजमै राहत रकम दिएको उनीहरुले सुनाए।

मृतक सन्नीको परिवारले मात्र हैन, निर्मलाको परिवारले पनि राहत रकम पाइसकेको छ। तर, धेरैलाई यसबारे थाहै छैन।

कान्तिपुर पब्लिकेशन्सको नेपाल म्यागेजिनले निर्मलाकी आमा दुर्गादेवी पन्तलाई वर्ष व्यक्ति २०७५ घोषणा गर्दाको आलेखमा ‘ज्यान सुक्दै गए पनि सरकारबाट अहिलेसम्म क्षतिपूर्ति लिएकी छैनन्’ लेखेको छ।  

हामीले निर्मलाकी आमालाई गएको चैत तेस्रो साता उनकै घरमा भेट्दा सरकारी राहत वापतको केही रकम आइसकेको, केही आउन बाँकी रहेको सुनाएकी थिइन्। 

महेन्द्रनगरमा कतिले त राहत वापतको रकममा लोभ्याएर निर्मलाकी आमालाई प्रहरीविरुद्धको मुद्दा फिर्ता लिन लगाएको शंकासमेत गरिरहेका थिए। तर, उनले केन्द्र सरकार र नगरपालिकाले दिएको राहत रकमको चेक प्रहरीकहाँ उजुरी सच्याउन जानुभन्दा धेरैअघि नै बुझिसकेकी हुन्। 

सन्नी र निर्मलाको परिवारले प्रदेश सरकारले घोषणा गरेको राहत रकम पाँच लाख भने पाउन बाँकी नै छ। 

‘रोजगारी दिन्छु भनेको थियो। सुरुमा स्थायी भनेको थियो। तर, ज्यालादारीमा राखेको छ। दिनको साढे ४ सय रुपैयाँ दिन्छ,’ मञ्जु खुनाले भनिन्।

भदौ ८ गते रक्षा बन्धनको दिन साढे ४ बजेतिर जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि प्रहरीले गोली चलाउँदा सन्नीको मृत्यु भएको थियो। 
त्यस दिन किन गोली चल्यो, आन्दोलनको नेतृत्व गर्नेहरु नै अचम्ममा छन्। 

महेन्द्रनगरमा त्यतिबेला आन्दोलनको नेतृत्व गरेका थिए- मीना भण्डारी र शारदा चन्द नेतृत्वको एउटा समूह र हेलेन श्रेष्ठ नेतृत्वको अर्को समूहले। 

‘जुन दिन गोली चल्यो, त्यो दिन भने न उहाँहरुले आन्दोलन गर्नुभएको थियो, न हामीले गरेका थियौँ,’ वनखेतस्थित आफ्नो वृद्धाश्रम परिसरमा शारदा चन्दले हामीलाई भनिन्।

महेन्द्रनगर बजारस्थित आफ्नै घरमा आन्दोलनबारे कुरा गर्दै हेलेन श्रेष्ठले पनि त्यस दिन कसैको आन्दोलन नरहेको र एक्कासी गोली चलेको खबर आएको सुनाइन्। 

दुई समूहले आन्दोलनको घोषित रुपमा नेतृत्व गर्नुभन्दा अघि स्वस्फूर्त आन्दोलनको अघोषित नेतृत्व लिएकी माया नेगीको समेत यस्तै धारणा छ। 

‘गोली चलेको दिन धेरै शान्त थियो। दिउँसो ३ बजेसम्म केही भएको थिएन। सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ, सहयोग गर्न तयार हुनुहोस् भन्ने फोन आएको थियो। धर्ना आन्दोलन बन्द गर्ने कुरा भएको थियो,’ उनले भनिन्। 

शारदा चन्द (बायाँ) र माया नेगी। 

भदौ ४ गते प्रहरीले दिलिप सिंह विष्टलाई अभियुक्त भन्दै सार्वजनिक गरेको थियो। सरकारले गोली चल्नु एक दिनअघि भदौ ७ गते उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। त्यही दिन गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। कञ्चनपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र एसपी कुबेर कठायतले गोली चलेको दिन हाजिर गरिसकेका थिए। 

दिउँसो ३ बजे समन्वय समितिको सर्वदलीय बैठक बस्ने भनिएको थियो। 

‘माहोल एकदम शान्त थियो। आन्दोलनका केही पनि कार्यक्रम भएन। चिसो चिसो दिन थियो। बजारमा त्यति मान्छे पनि थिएन,’ माया सम्झन्छिन्, ‘एकाएक माहौल बिग्रियो। कहाँ-कहाँका केटाहरु आएका थिए, बजारका एउटा पनि थिएनन्। सर्वदलीय बैठक बस्न सबै पुगिसकेकासम्म थिएनौं, गोली त एकाएक चल्यो। हेर्दाहेर्दै सन्नीको लाश आयो।’

शारदाले दिउँसो ३ बजे समन्वय समितिको बैठकमा गएको बेला १२ देखि १६ वर्षका बच्चा नारा लगाउँदै हिँडेको देखिन्। ‘मैले हकारेँ पनि, बच्चाहरु पढ्न जाऊ भनेँ। एकछिनमा नै गोली चलेको थाहा पाइयो। भागाभाग भयो,’ उनले बताइन्।

उनले गोली कसरी चल्यो भन्नेबारे मिडियाले समेत नबुझेको जिकिर गरिन्। भनिन्, ‘गोली नयाँ सिडियो र एसपीले चलाएको हो। दिल्लीराज विष्ट (पुराना एसपी)को पालामा गोली चलेको होइन। यस घटनामा जति एसपी विष्ट र अंगुर (सिआइबीका डिएसपी) दोषी छन्, नयाँ एसपी र सिडियो पनि दोषी हुन्।’

यस विषयमा कोही नबोलेकोमा पनि उनलाई आश्चर्य लागेको छ। शारदाको प्रश्न छ, ‘तर किन कोही बोल्दैनन् यस विषयमा? तारा (नयाँ प्रजिअ) र कुबेर कठायत (नयाँ एसपी)ले १ बजे हाजिर लगाउनुभएको छ। ५ बजे गोली चलेको छ। खै यसमा जनता बोलेको? खै मिडिया बोलेको? खै गोली हान्नेलाई कारबाही भएको? कहाँबाट गोली हानेको भिडियो छ त। यो गलत भएको हो। सरकारले गलत गरेको हो। सिडियोले आदेश गरेको छैन भन्नुहुन्छ। कसले गोली चलायो?’

सरकारले सेवाबाट हटाइसकेका तत्कालीन एसपी दिल्लीराज विष्टले पनि गोली चलेको बेलामा आफू धनगढी पुगिसकेको दावी गरे। ‘प्रहरी सञ्चारबाट भदौ ७ गते काजमा धनगढी खटाइएको जानकारी आएको थियो। त्यसैले म त्यही दिन धनगढी पुगिसकेको थिएँ,’ उनले भने। 

गोली किन चल्यो भन्ने विषयमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन प्रतिवेदनले ठहर गरेको छ – हाइ प्वाइन्टमा ड्युटीमा तैनाथ सुरक्षाकर्मीले घुँडामुनि फायर गर्दा अकस्मात् शरीरको माथिल्लो अंगमा लाग्न गएको हुनसक्ने देखिन्छ। 

प्रतिवेदनमा भनिएको छ- ‘उत्तेजित भिड नियन्त्रण गर्न पूर्व योजना र तयारी, तदनुरुपको परिचालन, एक्सेस नियन्त्रणका लागि विभिन्न स्थानमा ब्यारिएरको निर्माण लगायत ग्राजुअल रेस्पन्स एन्ड युज अफ मिनिमम फोर्सको सिद्धान्त अपनाइएको देखिएन।’

सरकारले एसपी विष्टलाई हटाउँदा यही ग्राजुअल रेस्पन्स एन्ड युज अफ मिनिमम फोर्सको सिद्धान्त प्रयोग नगरेको आरोप पनि लगाएको छ। त्यसको जवाफमा उनले आफू जिल्लामा रहँदा संयमता अपनाई सामान्य बलको प्रयोग मात्र गरेको जिकिर गरेका छन्। 

‘भदौ ६ गते नै प्रदेश नम्बर ७ प्रहरी कार्यालयबाट एसएसपी विक्रमबहादुर चन्द खटिएर आएको, भदौ ७ गते साँझ नै आफू धनगढीमा हाजिर भइसकेको र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यालय प्रमुखको रुपमा एसपी कुबेर कडायत ७ गते नै हाजिर भइसकेको’ उनले जवाफमा उल्लेख गरेका छन्। 

‘पछि भएका घटनाको जवाफदेहिता मेरो रहने कुरा सान्दर्भिक देखिँदैन,’ उनले गृहलाई दिएको स्पष्टीकरणमा उल्लेख छ।

तर, अरु विषयसँगै यस विषयलाई पनि कारण बनाई सरकारले उनलाई सेवाबाट हटायो। निर्मला प्रकरणमा भएका सबै नराम्रा कुराको दोष एसपी विष्टको थाप्लोमा हालेर सरकारले उन्मुक्तिको बाटो रोज्यो। बलात्कार र हत्यापछिको अनुसन्धानमा उनको नेतृत्वले कमजोरी देखाएकै हो। तर, त्यही सेरोफेरोमा काज सरुवा भइसकेपछि घटेको घटनामा पनि दोष उनीमाथि नै थोपारियो।

यस प्रकरणमा प्रहरीको गोली लागी एउटा ज्यान व्यर्थैमा ढल्यो।

यता, सन्नीका बुबा भने दोषीलाई कानुनी कारबाही भएको भए राम्रो हुन्थ्यो भन्छन्। उनलाई को दोषी थाहा छैन। कान्छी आमा मञ्जु पनि कानुनमा जे छ त्यहीअनुसार अपराधीलाई सजाय दिएको भए राम्रो हुन्थ्यो भन्छिन्। 

‘सन्नीलाई गोली लागेको ठाउँमा स्मारक बनाउने भनेको थियो। खै अहिले यति महिना भइसक्यो, सुरसार छैन,’ सन्नीका बुबा वीरबहादुर भन्छन्।

सरकारले सन्नीलाई सहिद घोषणा भने गरिसकेको छ। 

घटनामा अर्जुन भण्डारा र उमेश देउवा पनि घाइते भएका थिए। तीमध्ये भण्डारा अहिलेसम्म अस्पतालमै छन्।

महेन्द्र बमको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *