‘म पढ्नलाई रोशनीको घर जान लागेको, बाबुलाई पनि लिएर जान्छु है’ भनेर अनुमति नमागेको भए छिमेकी मञ्जु भट्टलाई निर्मला पन्त कता जान लागेको थाहा हुन्न थियो। उनले आफ्नो पाँच वर्षका छोरालाई लिएर जाने अनुमति भने दिइनन्। तर याद छ प्याजी रङको लेडिज साइकल चढेर निर्मला पन्त साउन १० गते बिहान साढे १० बजेतिर घरबाट निस्केकी थिइन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ खोल्टीस्थित घरबाट निर्मलाले पढ्न जान लागेको रोशनी बमको घरको दूरी २ किलोमिटर पनि छैन। पैदल हिँड्ने हो भने फटाफट हिँड्दा पनि लगभग २० मिनेटमा पुगिन्छ। साइकलबाट पनि १०/१२ मिनेटभन्दा बढी समय लाग्ने ठाउँ हैन त्यो।
सडक छेवैमा जोडिएको घर छ रोशनीको। उनका अनुसार निर्मलाको हातमा कालो लागेको थियो। शायद् साइकलको चेन छोएकोले होला। रोशनीले बारीमा हात धुने ठाउँ र साबुन देखाइदिएको बताउँछिन्।
त्यसपछि उनीहरु माथि कोठामा उक्लिए र साइन्सको होमवर्क गरी बसे केही घण्टासम्म।
चना चटपटे खाएको २० रुपैयाँ र केही अम्बा पनि लिएर अन्दाजी सवा २ बजे निर्मला घरबाट निस्केको रोशनीलाई याद छ।
समय ठ्याक्कै याद कसरी भयो त?
हामीले सोध्दा रोशनीले भनिन्, निर्मला गएपछि मैले टिभी हेरेकी थिएँ। टिभीमा टाइम २:३५ देखिएको याद छ।
त्यसको १० मिनेट जति अगाडि निर्मला घरबाट गएकी थिइन्। प्रत्यक्षदर्शीहरुका बयानहरुका आधारमा निर्मलाको यहाँसम्मको स्थितिमात्र खुल्छ। निर्मला त्यहाँबाट कता गइन्? कसैलाई थाहा छैन।
उनी निस्किएपछि केही समय हल्का पानी पनि परेको थियो।
रोशनीको घर जुन बाटोसँग जोडिएको छ, त्यो बाटोको माथितिर लाग्ने हो भने महेन्द्रनगर बजार पुगिन्छ। घर फर्किने बाटो भने तलतिरको हो, जुन बाटो हुँदै निर्मला आएकी थिइन्।
खासमा उनी कुन बाटो लागिन्, अहिलेसम्मको अनुसन्धान टोलीले पत्ता लगाउन नसकेका रहस्य मध्ये यो पनि एउटा हो।
माथितिर लाग्ने हो भने त झन् झन् धेरै घर भएको बस्तीको बाटो छ। तल फर्कने बाटो पनि हामीले काठमाडौँमा बस्दा गरेको अनुमान जस्तो सुनसान र डरलाग्दो थिएन।
यो बाटोमा मानिस हिँडिरहन्छन्। मानिसभन्दा बढी साइकल कुदिरहेका हुन्छन्। इलेक्ट्रोनिक टेम्पोहरु पनि कुदिरहेकै हुन्छन्।
निर्मला जुन बाटो गएको भए पनि बाटोमा पक्कै मान्छेहरु थिए। तर कसैले पनि उनलाई देखेको भनी अनुसन्धान गर्नेहरुलाई भन्न आएका छैनन्।
https://www.youtube.com/embed/V-QhW_Ei530?rel=0
दिउँसो ४, साढे ४ बजेतिर निर्मलाको साइकल उनको घर जाने बाटोको एउटा खोल्सामा पानीमा डुबेको अवस्थामा देख्नेहरु भने छन्।
स्थानीय महिला धना भण्डारी र उनकी देउरानी जमुना त्यो दिन त्यस क्षेत्रमा घाँसपात गर्न गएकी थिइन्। उनीहरुसँगै गएका देउरानीका ६ वर्षका छोरा सन्दीपले साइकल पहिलो पटक देखेका थिए। धनाले पनि साइकल पानीमा डुबेको अवस्थामा देखेको तर कसैले थोत्रो भएर फालेको होला भनेर वास्ता नगरेको बताएकी छिन्।
अरुले साइकल भने भोलिपल्ट साउन ११ गते मात्रै देखेका थिए पानीबाहिर। निकालेका थिए साधुराम चौधरीले। उनले साढे १० बजेतिर साइकल खोलाबाट निकालेर सडकमा राखेको बयान दिएका छन्।
पानीबाट निकालिसकेपछि निर्मलाको साइकल
साइकल भेटिएको ठाउँ रोशनीको घरबाट ६ सय मिटरको दूरीमा छ। साइकलबाट त्यस्तै तीन चार मिनेटमा पुगिने ठाउँ हो। निर्मलाको घर पुग्न भने त्यहाँबाट अझै ९ सय ५० मिटर टाढा छ।
जुन ठाउँमा साइकल भेटियो, त्यो ठाउँ सडकबाट झट्ट हेर्दा देखिन्न। रोशनीको घरबाट निर्मलाको घरतिर जाने हो भने बीचमा २ सय ४० मिटर यस्तो ठाउँ छ, जसको बायाँतिर रुख र झाडी छन् भने दायाँतिर खुला खेत। वरपर कतै घरहरु छैनन्।
यो कस्तो ठाउँ हो त?
स्कूल जान पनि सधैँ यही बाटो साइकलमा ओहोरदोहोर गर्ने रोशनीले हामीलाई भनिन्, ‘त्यहाँ कहिलेकाहीँ डेटिङ गर्ने मानिस पनि देखेको छु।’
निर्मलाको शव फेला परेको दिन माउन्टेन टेलिभिजनमा प्रसारण भएको मिसन न्युज कार्यक्रममा एक युवतीले भनेकी छिन्, ‘दिउँसोको एक दुई बजेतिर बाटोमा कोही नहिँड्ने बेला केटाहरु तलको शरीरमा कपडै हुन्थेन, केटीहरुलाई एक्लै दुक्लै मौका मारेर आऊ आऊ भनेर बोलाउने गर्थे। डरले केटीहरु साइकल चलाउनै बन्द गरेका थिए।’
अरुले पनि त्यहाँ यौन अंग देखाउने केटाहरु कहिलेकाहीँ हुने गरेको बताए।
त्यही २ सय ४० मिटरको इलाकामा तारजाली लगाएको ठाउँको एक तह छ। त्योभन्दा तल अर्को तह जमिन छ। निर्मलाको कपी भेटिएको ठाउँ यहीँ हो। त्यहाँबाट घुँडासम्म आउने पानी भएको करिब १५ फिट चौडाइ भएको नहर छ। यही नहरको पानीमा साइकल देखेको भनेकी थिइन् धनाले। नहरको पारीपट्टी पनि रुख र झाडी छन्। त्योभन्दा पारी उखुबारी छ। त्यहाँ उखुबारी छ भन्ने कुरा यता निर्मलाकै गाउँका केही बासिन्दालाई समेत लाश नभेटिउन्जेल थाहा थिएन।
त्यो ठाउँलाई यो भिडियोमा अझ प्रष्टसँग हेर्न सकिन्छ-
निर्मलाको घरतिरबाट साइकल भेटिएको ठाउँ जाने बाटो।
साइकल भेटिएको ठाउँबाट देखिएको नहर। घटना भएको चार महिनापछि यो फोटो खिचिएको हो।
आर्मी ब्यारेक कहाँ?
निर्मला प्रकरणमा सैनिकको समेत संलग्नता हुनसक्ने भनी चर्चा भएको देखिन्छ। तर हामीले घटनास्थल पुगी हेर्दा आर्मी ब्यारेक भने निर्मला र रोशनी बमको घरको बाटोमा नपर्ने देख्यौँ। महेन्द्रनगर बजारबाट करिब १५ सय मिटरको दुरीमा नेपाली सेनाको २५ नम्बर बाहिनी रहेको छ। बाटोमा हिँड्नेले ख्याल नगर्ने हो भने सहजै ब्यारेक देखिँदैन।
ब्यारेकदेखि ५/६ सय मिटरको दुरीमा बम दिदीबहिनीको घर पर्छ। निर्मलाको साइकल पाइएको स्थान र ब्यारेकको दूरी एक किलोमिटरभन्दा बढी छ। बाटो बीचमा मदन भण्डारी स्कूल पनि पर्छ। निर्मला र रोशनीले पढ्ने स्कूल भने यो हैन। यो प्राथमिक विद्यालयमात्र हो।
ओपेरा होटल कति टाढा?
घटनासँग जोडेर आशंका गरिएका ठाउँमध्ये एक ओपेरा होटल पनि हो। ओपेरा होटल महेन्द्रनगर बजारमा नै पर्छ। साइकल भेटिएको ठाउँबाट ओपेरा होटल तीन किलोमिटर टाढा छ। बम दिदीबहिनीको घरबाट होटल दुई किलोमिटरभन्दा अलि बढी छ।
बम दिदीबहिनीको घरबाट ५ मिटरको दूरीमा चोक छ। चोक नजिकै खाजा पसल, किराना पसलसमेत छन्। उनीहरुको घर भने बाटैमा जोडिएको छ। घरभित्रको आँगनमा के भइरहेको छ सहजै बाटोबाट देख्ने अवस्था छ। घर पछाडि भने केही खाली भाग छ। बम दिदीबहिनीको घरसँगै दायाँ बायाँ नजोडिएका घर छन्। अगाडि पनि घर छ। बम दिदीबहिनीको घरमा कम्पाउन्डमा केही गतिविधि भए छिमेकीले सहजै देख्न सक्छन्।
बम दिदीबहिनीको घरबाट निस्किएको भए निर्मला कता लागिन्? उनको साइकल कसरी त्यो ठाउँमा पुग्यो? साइकल कसैले फालेको हो कि निर्मला आफैले त्यहाँसम्म लगेर गएकी हुन्? यो प्रश्नको जवाफ खुल्न सकेको छैन। बम दिदीबहिनीको घरबाट निर्मला हराएकी हुनाले उनीहरुलाई नै यो विषयमा थाहा हुनुपर्ने भन्दै छानबिन त्यहीँबाट हुनुपर्ने माग निर्मलाका आमाबाबुको मात्र हैन हामी पुग्दा धर्नामा बसिरहेका अधिकारकर्मी र अन्यको पनि थियो।
(महेन्द्र बमको सहयोगमा)
(निर्मलाको साइकल र कापी भेटिएको ठाउँबाट कति टाढा छ उनको शव भेटिएको ठाउँ? के घटनास्थल शव भेटिएकै ठाउँ हुनसक्छ? कि अन्यत्रै घटना भएर शव त्यहाँ फ्याँकिएको हुनसक्छ? यो विषयमा विस्तृत अर्को भागमा )