“आन्दोलन नगर भनेर ३५ लाख दिन्छु भनेका थिए। आन्दोलन गर, मर्नुपर्छ, मार्नुपर्छ – सेवा सुविधा सबै दिन्छु भनेर पनि आएका थिए।”
कञ्चनपुरमा सुरुका दिनमा भएको आन्दोलनको नेतृत्व गर्ने हेलेन श्रेष्ठले स्थलगत रिपोर्टिङका लागि गएको चैतमा महेन्द्रनगर पुगेका हामीलाई गल्ली नम्बर १ स्थित आफ्नै घरमा भेट्दा आफूलाई आएका विभिन्न अफर सुनाउँदै थिइन् – ‘तपाईँ क्यापेबल मान्छे, तपाईँमा दम देखेँ। हाम्रो पार्टीले सहयोग गर्छ तपाईँलाई। केन्द्रबाटै सहयोग हुन्छ।’
‘निर्मलाको लागि न्याय’ मात्र नभई यो आन्दोलन विभिन्न स्वार्थ समूहको खेल्ने विषय भएको यसैबाट प्रष्ट हुन्छ।
***
त्यो दिनको दृश्य अद्भुत थियो।
माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म यति धेरै ‘न्याय माग्नेहरु’ भेला भएका थिए कि कार्यक्रम आयोजकहरु बीच नै विवाद भयो।
भदौ ३०, २०७५ शनिबारको दिन।
त्यस दिन कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तकी आमा र बुबा पनि उपस्थित हुने भनिएको थियो प्रदर्शनमा। ट्विटरमा #JusticeForNirmala समूहको आह्वानसँगै स्वस्फूर्त जनसागर उर्लिएको थियो।
केही भइदियो भने के गर्ने?
सुरक्षाको जिम्मा कसले लिन्छ?
‘त्यत्रो जनसागर देखेपछि हामीलाई आँट आएन,’ समूहकी एक अभियन्ता अमृता लम्सालले हामीलाई त्यो दिन सम्झिँदै बताइन्, ‘आमा र बुबालाई मण्डलामा नल्याउनुस् भन्यौँ।’
अभियन्ताहरुको मत बाझियो – प्रदर्शनमा निर्मलाकी आमा र बुबालाई बोलाउने कि नबोलाउने?
‘हामी गलत साबित हुन्छौँ। हामीले आउँछन् भनिसकेका छौँ। त्यसैले ल्याउनुपर्छ भन्दै ल्हामो शेर्पा र मैले अड्डी कस्यौं,’ उनले सुनाइन्, ‘कहिले मास लिड नगरेका, हामीलाई निकै गाह्रो भयो।’
माइतीघरतिरबाट सम्भव नभएपछि निर्मलाकी आमा र बुबालाई अन्तिम समयमा बानेश्वरतिरबाट ल्याइयो। उनीहरुले त्यो ठूलो भिडलाई सम्बोधन गर्दै न्याय माग्न आह्वान पनि गरे। राष्ट्रिय मिडियाहरुमा त्यसको भव्य कभरेज भयो। निर्मलाको लागि न्यायको अभियानले छुट्टै उचाइ हासिल गर्यो।
त्यतिबेला र अहिलेको स्थिति उस्तै हो – अहिलेसम्म अपराधी पत्ता लागेको छैन। घटनाको एक वर्ष पुग्न केही दिनमात्र बाँकी रहँदा अहिले यो समूह के गर्दैछ त?
‘….’
एकछिन चुप बसेर अमृताले मुख खोलिन्, ‘अहिले त कसैले केही गरेको देख्दिनँ।’
किन? हामीले सोध्यौँ।
‘खै !’
***
काठमाडौँबाट ६ सय ९० किलोमिटर टाढा रहेको सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा पनि माहौल यहाँको भन्दा फरक छैन।
गत चैतमा स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुगेको बेला धनुष बोगटीले निर्मला प्रकरणमा कुरा हुनै छोडेको सुनाएका थिए।
यो आन्दोलन किन निष्क्रिय भयो भन्ने जान्न आन्दोलन कसरी उठ्यो थाहा पाउन जरुरी छ।
निर्मलाको घटना हुनुअघि पनि नगरपालिकाको करको विषयमा महेन्द्रनगर आन्दोलित थियो। साउनको ५ र ६ गते नै लाठी चार्ज भएको थियो र त्यसक्रममा एक महिला प्रहरीको बंगारासमेत भाँच्चिएको थियो।
आन्दोलन हुँदाको महेन्द्रनगर
साउन १० मा निर्मला हराइन्, भोलिपल्ट उखुबारीमा फेला परिन्। शव फेला परेदेखि नै त्यहाँ उपस्थित सर्वसाधारण आक्रोशित भइसकेका थिए। नाराबाजी भइसकेको थियो। त्यसमाथि प्रहरीले गरेका लापरवाहीले आगोमा घ्यु थप्ने काम गर्यो।
सुरुको दिनदेखि आन्दोलनमा रहेकी तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ तथा अधिकारकर्मी माया नेगी सम्झन्छिन्, ‘साउन ११ गते साढे २ बजेतिर फोन आयो। निर्मलाको लाश अस्पतालमा थियो। पोष्टमार्टम भइसकेको थियो। हाम्रो गाउँका थुपै साथीहरुलाई पुलिसले समातेको थियो। केहीलाई कुटपिट समेत गरेको थियो। २०/२५ जना हाम्रो आमा समूहका साथीहरुलाई लगेको थियो। तर, राति ११ बजेसम्ममा केही साथीहरुलाई रिहा गरेर ल्याउन सफल भइयो। त्यो दिनको घटना त्यति मात्रै हो।’
मायाका अनुसार त्यो दिनसम्म धेरै माग थिएनन् – घटना भएको स्थान जमिनदारको जग्गा। वरिपरि रुख लगाइएको थियो। जंगल जस्तो अवस्था भएकाले हिँड्न गाह्रो भयो। त्यही कारणले निर्मलाले ज्यान गुमाई भन्ने थियो।
- तत्काल एउटा पुलिस बिट चाहियो।
- जंगल फडानी गर्नुपर्यो
- उखुबारी लगाएको खेतमा ठेक्का दिन पाइएन
त्यही बेला ‘भीमदत्त नगरपालिकाका मेयरले सर्पले टोकेर निर्मला मरेको भन्यो’ भन्न थाले। हल्ला फैलन कति समय लाग्छ र? मायाले मेयरलाई फोन गरिन्। फोन उठेन। हल्ला झन् फैलन थाल्यो, झनै ठूलो आगो बल्यो। प्रहरीले पनि रेस्पोन्स गरेन। जनतामा त मानिस पक्राउ लगायतका विषयमा आक्रोश थियो नै।
तेस्रो दिन अन्त्येष्टिको कुरा उठ्यो। प्रशासन र दुई तीन वटा दलका स्थानीय नेता बसेर सहमति गरे। त्यसमा आपत्ति जनाइन् मायाले।
किन?
‘त्यसमा बलात्कार भन्ने शब्द नै उल्लेख थिएन,’ उनले हामीलाई भनिन्, ‘मलाई यसमा विमति भयो। बलात्कार भएकै हो। आज सर्पले टोकेको कुरा आएको छ। पछि पनि त्यही भन्लान्। अहिले नै राजनीतिक दल जस्तो बसेर यो किसिमको सम्झौता हुन्छ भने यो छोरीले न्याय पाउँदिन भन्ने लाग्यो। बलात्कार शब्द नलेखिएसम्म लाश उठाउन दिन्नौं भन्यौँ।’
‘त्यतिखेरसम्म यहाँ कुनै अधिकारकर्मी, नागरिक समाज कोही थिएन। आन्दोलनलाई लिड गर्ने केही साथीहरु मात्र नै थियौं,’ उनले सम्झिन्।
यही विवादका बीच पुलिसले अर्को दिन बिहानै शव लग्यो र जलायो। मायाले फूलको माला बनाएकी थिइन् घरमा। फेसबुक खोल्दा त जलाइसकेको फोटो देखिन्। लाश लगिसकेपछि पनि एक किसिमको आक्रोश भयो बजारमा। दाहसंस्कारपछि दुई तीन दिन शान्त भयो।
हेलेनको इन्ट्री
यही शान्त रहेकै समयमा हेलेन श्रेष्ठको इन्ट्री हुन्छ।
राप्रपाबाट स्थानीय निर्वाचनमा उम्मेदवार हुने चर्चा भए पनि मूलतः उनी व्यवसायी हुन्। फर्निचर उद्योग, धनगढीमा एसटिएस केबल टिभी, सिनेमा हल उनको परिवारको व्यवसायको साम्राज्यका केही उदाहरण हुन्।
यो आन्दोलनमा उनको इन्ट्री राजनीतिक रुपमा नभएर आमाको रुपमा भएको बताउँछिन् उनी।
घटना हुँदा श्रीमानको उपचार गरेर काठमाडौँबाट फर्किएको केही दिनमात्रै भएको थियो। यसअघिको आन्दोलनका क्रममा अस्पतालमा भिडभाड भएको देखेपछि के हो कुरा भनेर बुझेकी थिइन्।
बलात्कार भएको थाहा पाएपछि मन चसक्क भयो। आखिर उनी पनि आमा थिइन्। ‘अहो, मेरी छोरी पनि त टाढा छिन्’ भन्ने भयो। आफ्नी छोरी सम्झिन पुगिन् उनले।
निर्मलाको दाहसंस्कार भएपछि आन्दोलन सामसुम भयो।
‘हाम्रो पनि त छोरी हो नि, अस्तिसम्म कस्तो थियो, अहिले कस्तो साम्य भएको! केही त गर्नुपर्छ भन्ने लाग्यो। ४/५ जनालाई मनको कुरा पोखेँ पनि,’ उनले भनिन्।
दाहसंस्कार भएको ९ दिनपछि स्कुटी चढेर उनी केही साथीसहित निर्मलाको घरमा पुगिन्। त्यतिबेलासम्म निर्मलाका बुबाले पैसा खाएर छोरीको दाहसंस्कार गरेको हल्ला चलिसकेको थियो।
‘दाइ, यसरी बसेर हुन्न। पैसा खाएको हल्ला छ। खाएको भए खाएको हो भन्नुपर्यो। होइन भने केही गर्नुपर्यो। कसैले साथ नदिए पनि हामी दिन्छौँ,’ हेलेनले त्यहाँ त्यसो भनेपछि शोकमा परेको परिवार सडकमा आउन राजी भयो।
उनले आफ्नै मिडिया (एसटिएस टेलिभिजन) लाई बोलाउन लगाइन्।
‘पहिलो दिन त यो गल्लीका १० जनासँग न्यायको आवाज घन्काउँदै हिँडेको हो,’ उनले सम्झिइन्।
त्यसपछि बिस्तारै माहौल तात्तिँदै गयो। सेलाइसकेको आन्दोलन चर्कँदै गयो।
.. अनि घुस्यो राजनीतिक स्वार्थ
‘हामीलाई न लोभ न लालच। कसैले उचालेको हैन। हाम्रो त सीधा कुरा न्याय पाउनु पर्छ भन्ने थियो,’ हेलेनले आफ्नो धारणा बताउँदै गर्दा आफूलाई आएका अफरहरु बारे पनि सुनाउन भ्याइन्। आन्दोलन उचालेर मर्ने मार्ने बनाउन सेवा सुविधा सबै दिने भनेकोदेखि आन्दोलन नगर्ने भए राजनीतिक सहयोग दिने र ३५ लाख दिने भन्नेसम्मका अफर आए।
आन्दोलन फेरि उठ्न थालेपछि राजनीतिक स्वार्थ पनि घुस्यो। हेलेनका अनुसार यसमा मुख्य भूमिका शारदा चन्दको छ। अधिकारकर्मी शारदा नेपाली कांग्रेसकी ७५०३०२१५००४ नम्बरकी क्रियाशील सदस्य हुन्।
‘शारदा दिदी २५/३० दिनपछि आउनु भएको हो,’ हेलेन भन्छिन्, ‘मलाई फोन गर्नुभएको थियो। मैले आउनु न त दिदी। तपाईँ भनेको अधिकारकर्मी, हामी भनेको सामान्य बिजनेस गर्ने मान्छे भनेकी थिएँ।’
उनका अनुसार डा. रेणु राजभण्डारी र शारदा चन्दको इन्ट्री भएपछि न्याय माग्ने आन्दोलनमा राजनीतिक स्वार्थ घुसेर कुरा बिग्रिएको हो।
‘जब माहौल तात्तियो, त्यसपछि आए उनीहरु। आउने पनि कसरी भने टक्क संस्थाको गाडीबाट झर्ने। आधा घण्टा धर्ना दिने अनि जाने,’ हेलेनले भनिन्, ‘एउटी छोरीको बलात्कार भएको छ। त्यसलाई लिएर आफ्नो दुनो सोझ्याउने? छोरी मरेकोलाई हतियार बनाएर राजनीति गर्ने?’
शारदा चन्द भने असभ्य र अशिष्ट आन्दोलनलाई आफूहरुले ट्रयाकमा ल्याएको दावी गर्छिन्। आफ्नो वृद्धाश्रममा हामीसित कुरा गर्दै उनले स्वीकारिन्, ‘म घटना हुँदा यहाँ थिइनँ। पछिमात्र आएकी थिएँ। को-को आन्दोलनमा थिए, मलाई केही थाहा छैन। म मानव अधिकारकर्मी हो। मानव अधिकारकर्मीले कहिले पनि हिंसात्मक आन्दोलन गर्दैन। जसले हिंसात्मक आन्दोलन गर्छ उसलाई रोक्छ।’
आन्दोलनको स्वरुप देखेर चित्त नबुझेपछि आफू लागेको उनको दावी छ। ‘कसैको चरित्र हत्या गर्ने अधिकार पनि कसैलाई छैन। आन्दोलनको स्वरुप यस्तो थियो। जुन देख्दा मेरो मनले मानेन,’ उनले भनिन्, ‘मेयर र एसपी बलत्कारी भन्ने समूहमा चाहिँ हेलेनजी हुनुहुन्थ्यो।’
आन्दोलनकर्मीमा फुट
त्यसको केही समयमा दुई समूहले आ-आफ्नै ढंगले आन्दोलन गर्न थाले। हेलेनलाई शारदा चन्दको समूहले संयोजक स्वीकारेन।
एक दिन आन्दोलन सकाएर घर फर्किएपछि शारदा चन्दको समूहले छुट्टै मिटिङ बसेर मीना भण्डारीलाई संयोजक तोके।
राप्रपासँग जोडिएको भन्दै कांग्रेस समर्थक समूहले हेलेनलाई संयोजक स्वीकारेन। हेलेनको समूहमा गैर राजनीतिक आवरणमा रहेका तत्कालीन एमाले समर्थकहरु जोडिए जो आन्दोलनमा कांग्रेस समर्थकको नेतृत्व स्वीकार्न चाहँदैन थियो।शारदा चन्द र माया नेगी
‘यत्रो दिन आन्दोलन गर्यौँ, मेहनत गर्यौँ, उनीहरुलाई किन दिने?’ भन्दै उनीहरुले हेलेनलाई उचाले।
‘शारदाको पछि हिँड्यो भने त हामीलाई कांग्रेसको पछि किन हिँडेको भनिहाल्छन् नि,’ प्रीति धिर भण्डारीको यो भनाइले हामीलाई त्यहाँ भएको अधिकारको आन्दोलनमा घुसेको राजनीति बुझाइरहेको थियो।
एक दिन निर्मलाकी कान्छी आमाले मीनालाई ‘बहिनी, हेलेन संयोजक हुनु भएन है, तपाईँ नै हुनुपर्छ’ भनेको सुनिन् हेलेनले।
‘त्यसपछि झन् रिस उठ्यो,’ हेलेनले हामीलाई सुनाइन्, ‘मैले भनेँ, को बन्छ संयोजक? म छोड्दै छोड्दिनँ।’
हेलेन आफूहरुको आन्दोलनमा पार्टीको प्रभाव नपारेको, पार्टीको झण्डासमेत नल्याउन भनेको जिकिर गर्छिन्।
‘उनीहरु आएपछि अलग्गै गुट बनाउन थाले। भ्रातृ संगठनका झण्डा ल्याउन थाले। हामी त झण्डा बोकेर कुदेकै थिएनौँ नि। शारदा चन्दले झण्डा देख्ने बित्तिकै ए हाम्रो पार्टी आयो भनेको प्रत्यक्ष सुनेँ,’ आन्दोलनताकाको अवस्था सम्झिइन् उनले।
भदौ ५ गते सर्वदलीय बैठक बस्यो। बैठकमा माया नेगीले भनिन् – यो अति भयो। कतै राजनीति त भएन?
‘सत्तामा भएको दलका पनि दुईवटा गुट छन्। एउटाले गृहमन्त्री र अर्कोले प्रधानमन्त्रीलाई फेल गर्ने खेल छ। माहौल शान्त गरौँ, अनुसन्धानलाई फराकिलो पारौं। भोलि मानवीय क्षति नहोस् भनेँ,’ बैठकमा बोलेको आफ्नै भनाइलाई उदृत गर्दै सुनाइन् मायाले।
हेलेनले त्यतिखेरको अवस्थाबारे सुनाएको एउटा घटना भने निक्कै रोचक छ –
‘लाठी चार्जबाट घाइते भएपछि हस्पिटल लगेर, एडमिट गरेर एक्सरे गराएँ। लास्टमा शारदाको ग्रुप आएर ठ्याक्क फोटो खिचे। अझ यसो मुसार्नु, पानी ख्वाउनु रे! सिकाउनु पर्छ र? मानवता त मसित छ नि। फेसबुकमा फोटो राख्नकै लागि पनि आन्दोलन गरेर फोटो खिच्दा रहेछन्।’
***
यता काठमाडौँमा यी सबैबाट बेखबर एउटा समूह निर्मलालाई न्याय दिलाउन ट्विटरमा ह्यासट्याग #JusticeForNirmala लाई ट्रेन्डिङमा ल्याउन जोडतोडका साथ लाग्दै थियो।
काठमाडौँमा भएको र कञ्चनपुरमा भएको आन्दोलनका बीच कुनै समन्वय नभएको अर्का अभियन्ता विश्वदीप लामिछानेले बताए।
अमृता ह्यासट्यागको आइडिया आफूलाई ट्विटर युजर स्यानदाइले दिएको बताउँछिन्। विदेशमा जस्तो एउटा ह्यासट्याग राखेर गर्न पाए राम्रो हुने भनेर उनले केही ट्विटे साथीहरुलाई मेन्सन र डिएम गरिन्, जसमा विश्वदीप पनि एक थिए।
विश्वदीपले #JusticeForNirmala नामको एउटा ट्विटर डिएम ग्रुप बनाए। त्यसपछि उनीहरु यो ह्यासट्यागलाई ट्रेन्डिङमा ल्याउन लगातार ट्विट, रिट्विट गर्दै बसे।
‘५ हजार वटा ट्विट भयो भने ट्रेन्डिङमा आउँछ भनेका थिए। मलाई राति निद्रा लागिसकेको थियो। तर, ४७ सय जति ट्विट भइसकेको थियो। अहिले सुतेँ भने त हुन्न भनेर रातभर म ट्विट र रिट्विट गर्दै बसेँ,’ अमृताले भनिन्, ‘धेरै ट्विट गरेकोले मेरो अकाउन्ट सस्पेन्डसमेत भएको थियो।’
ट्विटरको यो अनौपचारिक समूहकै सदस्यहरुको पहलमा कला प्रदर्शनी भयो, वसन्तपुरमा कविता वाचन गरियो, युट्युबमा ‘म निर्मला’ भिडियो बन्यो। सडक नाटक मञ्चन गरियो।
गोदामचौर बलात्कार काण्डबारे निरन्तर आवाज उठाइरहेकी हिमा विष्टलगायतको #RageAgainstRape समूह पनि यही ट्विटर समूहमा मिसियो।
‘सुरुमा ५० जनाको समूह थियो, पछि ७०/७५ जना भयौँ,’ अमृता सम्झन्छिन्।
यही बीचमा एकाएक उनीहरुले सुने – निर्मलाकी आमा र बाबुलाई काठमाडौँ ल्याइँदैछ।
***
कञ्चनपुरको आन्दोलनमै रहेका हेलेनको समूहलाई पनि यो कुरा थाहै थिएन। अचानक उनीहरुले सुने- निर्मलाका आमाबाबुलाई त शारदा चन्दले काठमाडौँ लगिन्।
उनीहरुले निर्मलाकी कान्छी आमालाई सोधे। उनले ‘थाहा छैन’ भनिन्।
‘हामीलाई त्यतिबेला केही पनि लागेन। एकचोटी भनेको भए हुने भन्ने थियो। फोन गरेको कल नै रिसिभ गरेनन्। त्यहाँदेखि हामीसँग साइड लागे आमाबुबा,’ हेलेनले भनिन्।
माया नेगीलाई भने काठमाडौँ जानुपर्छ भनेर खबर गरिएको रहेछ। तर, उनी त्यतिबेला छक्क परिन्, जब शारदा चन्दले उनी लगायत काठमाडौँ जाने सबैलाई ‘कसैसँग सम्पर्क नगर्न’ उर्दी नै जारी गरिन्।
‘हामी बन्दी हो र? भन्दै मैले मानिनँ,’ मायाले सम्झिइन्।
उनका अनुसार निर्मलाका आमा र बुबालाई क-कसलाई भेट्ने, के बोल्ने सबै कुरा शारदाले नै सिकाएका थिए। निरीह बाबुआमा दुवैको मोबाइल पनि शारदाले आफै राखेको उनको दावी छ।
#JusticeForNirmala समूहकी अमृताले पनि कोक्याप नामको अधिकारकर्मी संस्थाले निर्मलाका आमाबुबालाई काठमाडौँ ल्याएको थाहा पाएपछि सम्पर्क गर्न खोजिन्। अहँ! रेस्पन्स नै गरेनन्। शारदा चन्दको फोन नम्बर पाइन् उनले। तर, फोन रिसिभ नै नगर्ने!
‘हामीलाई निर्मलाका आमाबुबासँग भेट्न दिइएको थिएन,’ विश्वदीपले सुनाए।
अल्का हाउसमा पहिलो पटक यो समूहका पाँच जनाले निर्मलाका आमाबुबालाई देखेका थिए तर भेटेर कुरा गर्न पाएनन्।
आफ्नो स्वतन्त्रतामाथि बन्देज लगाएर मोबाइलमा कुरा गर्न पनि नदिने, भेट्न पनि नदिने गरेपछि माया नेगी पनि बाझेर काठमाडौँबाट फर्किइन्।
***
किन निष्क्रिय भयो आन्दोलन?
माहौल तात्तिँदा अनेक किसिमका हल्ला बजारमा फैलाइएका थिए। मूलधारे मिडियासमेत त्यसैमा बहकिएको थियो।
जब, बिस्तारै सत्य कुरा बाहिरिँदै गयो, तब मान्छेले कुरा बुझ्दै गए।
सबैभन्दा राम्रो उदाहरण #JusticeForNirmala समूहको छ। समूहभित्रै सल्लाह गरेर आफ्नै खर्चमा यो समूहका चार जना – अमृता, विश्वदीप, च्यवन र लुना महेन्द्रनगरमा भइरहेको धर्नामा ऐक्यवद्धता जनाउन पुगे। त्यो उनीहरुको ‘फ्याक्ट फाइन्डिङ मिसन’ जस्तो पनि थियो।
संयोगले हामी पहिलो पटक स्थलगत रिपोर्टिङका लागि महेन्द्रनगर पुगेकै समयमा हामीले उनीहरुलाई भेट्यौँ।
फर्कने अघिल्लो रात धनगढीको रुबस होटलको रेस्टुरेन्टमा हामी छलफलमा थियौं। विश्वदीपले यो घटनामा कांग्रेस, एमाले र अरु दलहरुबीच भएको राजनीति राम्रैसँग बुझेका थिए। काठमाडौँबाट आउनुअघिसम्म भिआइपी अपराधीको हल्ला पत्याइरहेकी अमृता त्यहाँको वस्तुस्थिति बुझेपछि भिआइपी त हैनन् भन्नेमा पुगिसकेकी थिइन्। प्रहरीको लापरवाही त हो तर नियोजित रुपमा प्रमाण नष्ट गरेको देखिन्छ कि देखिन्न भन्ने बारेमा छलफल भयो।
विश्वदीपले त भने, ‘यहाँ आएर सबै कुरा बुझिसकेपछि म त #JusticeForNirmala ह्यासट्याग लेख्ने कि नलेख्ने भन्नेमा नै कन्फ्युज भएको छु।’
माया नेगीले पनि व्यक्तिगत हिसाबले आफै अनुसन्धान गरिन्। एसपीका छोरा ओपेरा होटलमा कोसित गएको सबै फेला पारिन्। बम दिदीबहिनीको घरमा कोही आउने जाने हो कि हैन, छिमेकीहरु के भन्छन् सबै खोजिन्। निश्कर्ष निस्कियो – धेरै कुरा हल्लाका भरमा भइरहेको छ।
‘धेरै भ्रमका कुरा आए। छानबिन समितिका सदस्य उप सचिव वीरेन्द्र केसीको राजीनामापछि भिआइपीको कुरा आयो,’ मायाले भनिन्, ‘मिडियाका केही साथीले भ्रम छर्ने काम गरे।’
एसपीका छोराले दिनभर दारु खान्थ्यो, भाङ खान्थ्यो भन्ने पनि सुनिन् उनले। उसको जन्मदिन वैशाखमा हो साउनमा किन मनायो भन्ने चर्चा पनि चल्यो। सब गलत ! खोजेपछि थाहा पाइन् उनले।
‘हावा पनि लाग्नु पात पनि खस्नु एकै चोटी भयो,’ उनले भनिन्, ‘म त ओपेरा होटेलमा पुगेका केटीको घरघरमा पनि पुगेँ। सबैलाई भेटेँ। अरु साथीहरुले गालीमात्र गरे। म खोज्नतिर लागेँ। निर्मलाको बुबाले धेरै भ्रम फैलाउने काम गरे। होटेल ओपेरा र तीन जना केटीको कुरा उसैले गरेको हो।’
हल्लाकै भरमा धेरै प्रभाव पारिरहेको थियो आन्दोलनमा। प्रमाण नष्टका विषयलाई पनि त्यसरी नै फैलाइयो।
‘प्रमाण नष्टको कुरा थिएन। जनतालाई प्रमाण भनेको के हो थाहा हुनुपर्छ,’ उनले भनिन्, ‘अनि कसरी प्रमाण नष्ट भयो? तर यहाँ धेरै खेल भयो।’
हुन पनि साउन ११ गतेको घटनामा १३ गते बल्ल कञ्चनपुर पुगेका सिआइबीका प्रहरीलाई समेत प्रमाण नष्टको आरोप लगाउँदै पछि मुद्दा दायरसमेत गरियो।
‘जसले आन्दोलन उचालिरहेको छ, त्यसैको भरमा पुलिस रह्यो,’ मायाले शारदा चन्दतर्फ संकेत गरिन्।
शारदा भने सरकारले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँछिन्।
राससका पत्रकार राजेन्द्र विष्टले उनी र तत्कालीन जिल्ला प्रमुख एसपी दिल्लीराज विष्टबीच भएको एसएमएस संवाद फेसबुकमा सार्वजनिक गरिदिए।
‘आन्दोलन नगरे त रमेश लेखक (कांग्रेस नेता) ले पार्टीबाट निकालिदिन्छ’ भन्ने हल्ला पनि मच्चाइयो।
शारदाले आफ्नो एसएमएस संवाद गोपनीयताको हक विपरीत सार्वजनिक गरिएको भन्दै प्रहरीमा साइबर क्राइमको उजुरी दिइन्। तर कुनै कारबाही भएन।
किन?
हामीले सोध्दा उनले भनिन्, ‘सरकारलाई सोध्न जानुस्। आज आन्दोलनकारी बीचमा फुट ल्याउने काम सरकारले नै गरेको हो।’
हुँदै नभएको ओपेरा होटलको डान्सबारमा बम दिदी डान्सर भएको, ब्याउँदै नब्याएको भैँसी बम दिदीबहिनीको छिमेकीको घरमा ब्याएको भनेर रिपोर्ट बनाउने खुलासा भइसकेपछि नेपाल मानवअधिकार संगठन (ह्युरोन) का इन्द्रप्रसाद अर्यालको पनि विश्वास गुम्यो। उनले इन्टरनेटमा राखिएको रिपोर्ट गुपचुप सच्याउन बाध्य भए। अर्याल पनि नेपाली कांग्रेस समर्थक कानुन व्यवसायी हुन्।
हेलेनले पनि बुझिन् हावाको भरमा चल्छ कञ्चनपुर। हामीलाई भनिन्, ‘यहाँ त हरेक कुरा चल्ने रहेछ। बम दिदी बहिनी डान्सबारमा काम गर्ने कुरा फैलियो। यहाँ डान्सबार जाने चलन कम छ। सबै ‘रे’मा चले।’
हेलेन र प्रीति त्यतिबेला झसङ्ग भए, जब प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेको तर डिएनए नमिलेपछि रिहा गरिएका दीलिपसिंह विष्टको व्यवहार उनीहरुले प्रत्यक्ष देखे।
छुटिसकेपछि उनीहरुले दीलिपलाई उपचारका लागि लगेका थिए।
‘त्यहाँ डाक्टरसँग उसले यस्तो कुरा गर्यो कि सुन्दा तपाईँहरु छक्क पर्नुहुन्छ। हामी त शक भयौँ,’ हेलेनले भनिन्, ‘म डराएँ। पछि त मलाई नै यस्तो गरेर तलदेखि माथिसम्म हेर्यो पूरै झम्टिने झैँ गरी। म त उसको एक्टिभिटी देखेर पूरै डराएँ। उसकै दाइलाई छिटो लैजानु भनेँ।’
डाक्टरसँग उसले बोलेको तरिका …, … इच्छा चाहना नभएको भए यस्तो कुरा कसरी गर्छ भन्ने प्रश्न गर्छिन् उनी।
‘त्यही भएर उसलाई घरमा पनि कोठामा सुताउँदैनन्। बुहारीले पनि हामीसँग अंकललाई देख्दा डर लाग्छ भनेका थिए,’ हेलेनले भनिन्।
समय क्रमसँगै मिडियामा आएका काउन्टर समाचार तथा विचारका कारण हल्लाहरु चिरिँदै गए। तर, दोषी अझै खुला हिँडिरहेकै छ। अपराधीलाई अझै कानुनको कठघरामा ल्याउन सकिएको छैन।
चलेका धेरै कुरा हल्ला भए साँचो कुरा चाहिँ के हो त?
निर्मलाको बलात्कार र हत्या आखिर कसले गर्यो त?
यी प्रश्नको जवाफ खोज्न जरुरी छ।
तर, अहिले न ट्विटरमा निर्मलालाई न्यायको माग हुन्छ न महेन्द्रनगरमा।
(महेन्द्र बमको सहयोगमा)