शृङ्खला २७ : मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए? 

‘तपाईँहरु आन्दोलन निकै चर्काएर गर्नुस्। दुई चार जना मान्छे मरे पनि केही फरक पर्दैन।’

महेन्द्रनगरको जनजाति महासंघको कार्यालयमा आफूलाई ‘अनुसन्धानको मान्छे’ बताउने एक अधवैँशेले यसो भन्दा अधिकारकर्मी माया नेगी झसङ्ग भइन्। तर, त्यसको प्रतिक्रियामा उनको केही पनि बोली फुटेन।

जानकी जोशी र प्रेमवती रानासहित उनलाई गएको असोजमा ती व्यक्तिले उकासेको सम्झँदै नेगीले भनिन्, ‘आन्दोलन गर्दागर्दै तपाईँ पारी भारतको दिशातिर नजिक नजिक, किनार किनार भएर बस्नुस् भन्नुभएको थियो।‘

निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना बितिसकेको थियो। गोली चलेर एक जनाको ज्यान  गएको महिना दिन भएको थियो। कर्फ्यु हटेर बल्लबल्ल स्थिति नियन्त्रणमा आउँदै थियो। तर, पनि महेन्द्रनगर आक्रोशित र आन्दोलित थियो।

आन्दोलनको मोर्चा सम्हालेका थिए मुख्यतः दुई समूहले – मीना भण्डारी र शारदा चन्द नेतृत्वको एउटा समूह र हेलेन श्रेष्ठ नेतृत्वको अर्को समूहले।

दुवै समूहका अगुवालाई ती व्यक्तिले उस्तैखाले ‘अफर’ गरेका थिए।

‘तपाईँहरु आन्दोलन गर्नुस्, मर्नुपर्छ, मार्नुपर्छ। अझै मर्नुपर्छ’ भनेको सम्झिन्छिन् हेलेन पनि।

हेलेनसँगै आन्दोलनमा होमिएकी प्रीती धीर भण्डारीले पनि ‘आन्दोलन गर्नुस्, सेवा सुविधा सबै दिन्छु’ भनेर उनले फोन गरेको बताइन्।

‘आन्दोलनमा सहभागी हुनेहरुका लागि पोशाक सिलाउनुस्, खर्च म पठाइदिन्छु भन्नुभएको थियो,’ माया सम्झिन्छन्।

आखिर को थिए त ती?

मर्ने, मार्ने गरी स्थिति उत्तेजक बनाउन खोज्ने ती रहस्यमय व्यक्ति हुन् सुनील शर्मा, जसको फेसबुक पेजमा प्रोफाइल पिक्चर पूर्वराजा ज्ञानेन्द्रको छ।

***

‘निर्मला बलात्कारको भिडियो छ’

गएको असोज २ गते माया नेगी माइती धनगढीबाट महेन्द्रनगरतर्फ फर्कँदै थिइन्। बाटैमा फोन आयो – ‘अनुसन्धानको मान्छे आउनुभा’छ। जानेको कुरा भन्दिनुपर्‍यो। अनुसन्धान फराकिलो हुन्छ।’

निर्मलाकी आमाको घर नजिकै थियो मायाको घर। जानेको कुरा बताउन उनलाई केही आपत्ति थिएन।

‘निर्मलाको बलात्कार भएको बेलाको भिडियो छ मसँग।’

सुनीलले यस्तो भनेपछि मायालाई लाग्यो साँच्चिकै उनी अनुसन्धानको मान्छे हुन्।

‘अब १५ दिनमा पत्ता लगाइदिन्छु पनि भन्नुभएको थियो,’ उनी सम्झिन्छिन्।

तर, ‘दिल्ली जानुपर्ने स्थिति परेमा तपाईँ पनि दिल्ली जानुस्’ भनेको सुन्दा उनी अन्यौलमा परिन्, ‘दिल्ली किन जानु? भिडियो छ भने त उहाँहरुले ल्याएर देखाइदिए भइहाल्थ्यो। को अपराधी भनेर त त्यसैबाट थाहा भइहाल्थ्यो।’

रहस्य थपिने गरी अझ सुनीलले भने, ‘तपाईँहरु आइजीको फोटो राखेर एउटा ब्यानर बनाउनुस्। आइजी जिन्दावाद भन्नुस्। आइजी सा’बलाई काम गर्न सजिलो हुन्छ।’

पहिलो दिनबाट नै छानबिनमा लापरवाही गरेको भन्दै स्थानीय र केन्द्रीय प्रहरी नेतृत्वप्रति आक्रोश चुलिरहेको अवस्थामा आइजी सर्वेन्द्र खनालको समर्थन गर्न उनले किन दबाब दिए?

‘उनले म भारतीय गुप्तचर संस्था ‘रअ’को एजेन्ट हुँ समेत भनेका थिए,’ महेन्द्रनगरमा भेटिएकी प्रीतिले त्यतिखेरको अवस्था सम्झँदै हामीलाई सुनाइन्।

के उनी साँच्चिकै ‘रअ’ एजेन्ट थिए? या अनुसन्धानका व्यक्ति?

***

पछि नलाग्‍न धम्की

प्रीतिलाई शंका लाग्यो। कांग्रेस निकट शारदा चन्द र तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ माया नेगी दोधारा पुगेर सुनीललाई भेटेको जानकारी प्रीतिले पाएकी थिइन्। त्यसैले उनले आफ्ना जेठाजुलाई यसबारे सोधिन्। तत्कालीन एमालेबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीकी भाइबुहारी हुन् प्रीति। उनले आफूलाई आएको फोन र गतिविधिबारे भण्डारीलाई सुनाइन्।

‘ऊबाट टाढै बसेको राम्रो,’ जेठाजुले सुझाव दिएपछि हेलेन र उनी सुनीललाई भेट्नै गएनन्।

तर, आन्दोलनको मोर्चामा रहेको अर्को समूह शारदा चन्द र माया नेगीसित सुनील निरन्तर सम्पर्कमा थिए।

‘तपाईँ विप्लव पार्टीमा लाग्‍नुस्।’

एक दिन एकाएक यस्तो सुझाव दिएपछि मायाले सुनीललाई उल्टै सोधिन्, ‘तपाईँ विप्लवको मान्छे हो?’

‘नाइँ नाइँ। म विप्लवको मान्छे हैन। तपाईँलाई समर्थन गर्नुस् मात्रै भनेको,’ सुनीलले भनेको सम्झन्छिन् माया।

सुरुमा उनले नेपाल प्रहरीकै अनुसन्धानकर्मी भएको अनुमान गरेकी थिइन्।

‘सर, यस्तोयस्तो मान्छे आएको छ। यो तपाईँको प्रहरीको मान्छे हो त?,’ उनले जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी कुबेर कडायतसित पनि सोधिन्। कडायतले ‘हाम्रो मान्छे हैन’ भनिदिए।

‘को हो म पनि बुझ्छु। कहाँ छ?,’ एसपी कडायतले उल्टै सोधे।

उनले सुनील बसेको होटलको जानकारी दिइन्।

राससका पत्रकार राजेन्द्र विष्टले त त्यही होटलको कोठा नम्बरसहित फेसबुकमा यस्तो आरोपसमेत लगाए

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Frajendra.bst%2Fposts%2F10216348983974648&width=500

शारदा चन्दले सुनील शर्मालाई महेन्द्रनगरमा ल्याएको बताउँछिन् माया। तर, बेलाबेलामा शारदा आफैले ‘यो मान्छे को हो? यसले मैले जसलाई फोन गरे पनि कसरी थाहा पाउँछ?’ भन्दै सोध्ने गरेको पनि मायाले हामीलाई सुनाइन्।

मायाले सोधिखोजी गर्दैगर्दा एक दिन सुनीलले धम्क्याए, ‘तपाईँ मेरो जति पछि लाग्नुहुन्छ, त्यति नराम्रो हुन्छ।‘

अलि डर पनि लाग्यो त्यसपछि उनलाई।

शारदा चन्दले उता सुनीललाई पनि कुरा लगाउने यता उनलाई पनि ‘यो मान्छे को हो?’ सोध्ने गरेको मायालाई राम्रैसँग थाहा भइसकेको थियो।

अति भएपछि उनले एक दिन शारदालाई भनिन्, ‘दिदी यो मान्छे को हो? तपाईँले यो मान्छेलाई कहाँबाट ल्याउनु भएको हो? यो मलाई थाहा छैन। तर तपाईँ र यो मान्छे दुई जनाकै कुरा राखेर म आज पत्रकार सम्मेलन गर्दैछु। मैले मेरो व्यक्तिगत सुरक्षा र जिल्ला भरको सुरक्षाका लागि पत्रकार सम्मेलन गर्छु।’

‘होइन होइन माया बहिनी, यो पत्रकार सम्मेलन नगरिदिनुस्। सरी, मैले माफ मागेँ। अबदेखि यो मान्छेले तपाईँलाई फोन गर्दैन,’ शारदाले हतारिएर भनिन्।

‘त्यसपछि त्यो मान्छेले मलाई फोन गरेन,’ गएको महिना काठमाडौँको बुद्धनगरमा भेटिएकी मायाले सुनाइन्।

को हो त त्यो मान्छे?

मायाले भनिन्, ‘त्यो मान्छे को हो मलाई अझ पनि थाहा छैन।’

‘तर उनले उक्साएको भरमा लागेको भए र माया नेगी नभएको भए अझ पनि दुई चार जनाको ज्यान जान सक्थ्यो कञ्चनपुरमा,’ उनको दाबी छ।

***

को हुन् त सुनील शर्मा?

फेसबुकमा तत्कालीन राजा ज्ञानेन्द्रको सैनिक वर्दीको पोशाकको फोटो प्रोफाइल पिक्चर रहेको एउटा अकाउन्ट छ, जसमा नाम सुनील शर्मा र मुनितिर युनिट अफ इन्टरनेसनल क्राइम इन्भेस्टिगेसन लेखेको देखिन्छ।

यो वास्तवमा इजरायली प्रहरीको युनिटको नाम हो।

हामीले खोज्दा उनको इजरायली प्रहरीसँग नभएर नेपाली प्रहरीसँग भने केही सम्बन्ध भेटियो। मोरङ घर भएका सुनीललाई तत्कालीन आइजी मोतिलाल बोहराले संरक्षण गरेको त्यतिबेलाका मोरङका पत्रकारहरु सुनाउँछन्।

पत्रकार किशोर नेपालले सुनीललाई नेपाल प्रहरीले प्रयोग गर्ने गरेको र उनी प्रहरीको ‘इन्फर्मर’का रुपमा रहेको सुनाए। ‘हिमालय टाइम्समा उनले क्राइम सम्बन्धी समाचार लेख्थे, निकै गफ दिन्थे,’ नेपालले सम्झिए।

हिमालय टाइम्सका प्रकाशक उज्ज्वल शर्मासित पनि उनी निकट थिए।

विराटनगरमा उनका समकालीन पत्रकारहरुले हामीलाई दिएको जानकारी अनुसार सुनील ‘राजावादी’ हुन्। यसको संकेत उनले फेसबुकमा राख्ने गरेका पोस्टहरुले पनि दिन्छ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fphoto.php%3Ffbid%3D730876613714866%26set%3Da.133382786797588%26type%3D3&width=500

‘२०४६ सालमा बहुदल आएपछि विराटनगरबाट विस्थापित भएका हुन् उनी। त्यसभन्दा अघि पत्रकारिता पनि गर्थ्यो र प्रहरीको लागि खबरीको काम पनि गर्थ्यो। गफ लाउने, पैसा धुत्ने काम हो उसको,’ विराटनगरका एक पाका पत्रकारले हामीलाई सुनाए।

आन्दोलनकारीले कालोमोसो दल्ने कुरा भएपछि तत्कालीन आइजी बोहराका सुराकी उनी काठमाडौँ गएर सुरुचि साप्ताहिकमा काम थालेका थिए। त्यसपछि हिमालय टाइम्स, जनमञ्च आदि पत्रिकामा पनि काम गरे।

प्रहरीका वर्तमान र पूर्व अधिकारीहरुले पनि यस्तै जानकारी दिए।

‘प्रहरीलाई नै ब्ल्याकमेलिङ गर्ने खालको फटाहा मान्छे हो,’ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एक पूर्व प्रमुखले हामीलाई भने, ‘तर यस्ता खालका मान्छेहरु पनि कहिलेकाहीँ काम लाग्छ। त्यही भएर हामीले हातमा राखिरहन्थ्यौँ उनलाई।’

आफूलाई ‘रअ’को एजेन्ट दाबी गर्दै हिँडे पनि उनी प्रहरीका उच्च अधिकारीसँग सम्पर्कमा रहेको व्यक्ति भएको प्रहरी अधिकारीहरुले पनि स्वीकारे। ‘तराईमा हुने तस्करीबारे धेरै जानकारी राख्ने मान्छे हो, केही सूचना प्रहरीलाई दिने पनि गर्छ,’ एक प्रहरी अधिकारीले बताए।

संवेदनशील अवस्थामा रहेको महेन्द्रनगरमा हिंसा भड्काउने गरी आन्दोलनरत पक्षलाई उकास्न उनले भूमिका खेलेको प्रष्ट छ। तर यो काममा उनलाई कसले उपयोग गरेको हो?

रिपोर्टिङका क्रममा हामीले सम्पर्क गरेका धेरै र फरकफरक स्रोतहरुले निर्मला प्रकरणमा उनको भूमिका संदिग्ध रहँदै आएको दाबी गरे। अनुसन्धानमा जुटिरहेको प्रहरी उनीबारे बेखबर हुने त कुरै भएन। त्यसमाथि लामो समयदेखि प्रहरीले सुनीललाई ‘प्रयोग’ गर्दै आएको छ। निर्मलाको बलात्कार र हत्यासँगै उठेको आन्दोलनलाई थप भड्काउने भूमिकामा रहेका सुनील आखिर को हुन् त? प्रहरीकै मान्छे या भूमिगत रहेको विप्लव समूहको? राजावादी या भारतीय एजेन्ट? आन्दोलनमा उनको उपस्थितिले कसको एजेन्डालाई प्रतिनिधित्व गर्छ?

(महेन्द्र बमको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *