- बल्ल भेटियो यति ठूलो प्रमाण, निर्मलाको हत्या बमको घरको अम्बाको रुखमा झुण्डयाएर भएको खुलासा
- झुण्ड्याएर मारिएको थियो निर्मलालाई
- बिचरी निर्मलालाई अम्बाको रुखमा झुण्ड्याएर उखुबारीमा फालिएको पो रहेछ
युट्युबमा भेटिएका केही भिडियोका हेडलाइन हुन् यी।
घटना भएको चार महिनापछि रिपोर्टिङका लागि महेन्द्रनगर पुग्दा त्यहाँ पनि बम दिदीबहिनीको आँगनको अम्बाको रुख काटेको र कोठामा रङ लगाइएको चर्चा जारी थियो।
‘त्यही अम्बाको रूखमा झुन्ड्याएर मारेको हुनुपर्छ। अनि समातिने डरले काटेर फाले,’ एउटा चिया पसलमा गफिने क्रममा एक स्थानीयले हामीसँग प्रतिप्रश्न गर्दै भने, ‘नत्र फल लागेको त्यस्तो रुख किन काट्थे?’
त्यही पसलमा रहेका अर्काले सोधे, ‘रङ किन लगाउनु पर्थ्यो नत्र भित्तामा?’
त्यहाँमात्र होइन, हामीले काठमाडौंमै पनि ‘अम्बाको रुखमा झुण्ड्याएर मारेको रे’, ‘प्रमाण लुकाउन भित्तामा रङ लगाएको रे’ भन्नेजस्ता ‘रे’ धेरैको मुखबाट सुनेका थियौं। सामाजिक सञ्जालमा पनि यस्तो आशंकाका कथाहरु धेरै नै पोस्ट भइरहेका थिए।
अरु त छाडौं, पत्रकारहरुले समेत अम्बाको रुखबारे शंका गर्दै लेखेको स्ट्याटस धेरैले सेयर गरेको पनि देखेका थियौं।
महेन्द्रनगरबाट निस्कने मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीको २६ सेप्टेम्बरको फेसबुक स्टायटस।
अम्बाको रुख काटिनु र रङ लगाउनुसित निर्मलाको बलात्कार र हत्यासँग के कनेक्सन छ त? हामी पनि यसबारे जान्न चाहन्थ्यौं। त्यसैले महेन्द्रनगर बजारबाट करिब ३ किलोमिटर दुरी पार गरेर बम दिदी बहिनीको घर पुगेलगत्तै सोधेका थियौं – अम्बाको रुख कता थियो?
सडकमै जोडिएको कम्पाउन्डभित्र दुई तल्ले घर। चारैतिर पर्खाल लगाइएको। फलामको सानो गेट पार गरेपछि भित्र खुला आँगन।
यही सानो गेटभित्र पसेपछि आँगनको दाहिनेतिरको कुनामा एउटा काटिएको ठुटो देखियो। त्यसको नजिकै पर्खाल। निर्मलाको हत्यासँग जोडिँदै देश विदेशमा चर्चा कमाएको काटिएको अम्बाको रुख त्यही रहेछ।
निर्मला साउन १० गते पढ्न भनेर साथी रोशनी बमको घरमा आएकी थिइन्। फर्कँदा यही रुखमा फलेको अम्बासमेत उनले लिएर गएको भनिएको छ।
निर्मलाको साइकल भेटिएको स्थानमा प्रहरीले कालो पोलिथिनको झोला पनि फेला पारेको थियो। त्यसमा अम्बा पनि थियो। शव फेला परेपछि हेर्न पुगेका स्थानीयले प्रस्टैसँग अम्बा र झोला देखेका थिए।
निर्मलाको साइकल भेटिएको ठाउँ नजिकै भेटिएको निर्मलाको कपि र कालो प्लास्टिकको झोला। यही झोलाभित्र अम्बा थियो।
बम दिदी बहिनीको घरमा निर्मला गएको देख्नेहरु भएको तर फर्किएको देख्ने कोही नभएका कारण शंकाको केन्द्रमा यही घर थियो।
निर्मलाको शव भेटिएको ६ दिनपछि साउन १७ गते अम्बाको रुख काटिएको रहेछ। यसले थप शंका उब्जियो र अम्बाको बोटको प्रकरण राष्ट्रियमात्र होइन, सामाजिक सञ्जालमार्फत् विदेशमा रहेका नेपालीमाझ पनि फैलियो। सामाजिक सञ्जाल र युट्युब च्यानलहरुले यसलाई ‘सनसनी’ खबरका रुपमा पस्किए।
हामी यो घरमा पुग्दा बम दिदी बहिनीका बुबा दीपेन्द्र घरमा थिएनन्। जनविकास माध्यमिक विद्यालयका शिक्षक उनी श्रीमती इन्द्रादेवी बमसहित दार्चुला फर्किसकेका रहेछन्।
घरमा बम दिदीबहिनी र उनका दाजु विपिनमात्र थिए। त्यो घरमा लामो समयदेखि बम दिदी बहिनीमात्र बस्ने भनिए पनि खासमा घटनाको ५४ दिन अघिसम्म दाजु भाउजुसमेत बस्ने गरेको खुल्यो।
‘अम्बा चोरहरु आउँथे, पर्खाल भत्किएला भनेर काटेको हो। आफ्नै सुरक्षा होला भनेर हो काटेको,’ दीपेन्द्र बमले हामीलाई दार्चुलाबाटै फोनमा बताए।
उनले अम्बाको रुख काट्ने विषयमा गएको जेठ असारमा नै सल्लाह भएको समेत सुनाए, ‘म घर फर्किएपछि काट्छु भन्ने सल्लाह भएको थियो।’
अघिल्लो वर्ष पनि लटरम्म अम्बा फलेको थियो होला। चोर्न आउँथे होलान्। किन त्यतिखेर काट्नु भएन त?
हामीले प्रश्न गर्यौँ।
उनले जवाफ दिए, ‘अघिल्लो वर्ष अलि-अलिमात्रै फलेको थियो।’
दीपेन्द्रले घरको अगाडि पहिले नै पर्खाल भए पनि गत फागुनमा भने चारैतिर घेरेर पर्खाल थपेको सुनाए। हामी त्यहाँ पुग्दा थपिएको पर्खालका केही इँटाहरु उप्किएका देख्यौँ।
अम्बाको रुख काट्ने विषयमा उनका छिमेकीहरुले पनि पहिले नै चाल पाएका रहेछन्। हामीलाई उनीहरुले धेरै पहिले नै रुख काट्ने चर्चा भएको सुनाए।
‘अम्बाको बोट काट्यो रे, अम्बाको बोटमा झुण्ड्याएर मार्यो रे भन्छन्,’ बम दिदी बहिनीको घरको बायाँपट्टिको घरमा बस्दै आएकी सुमित्रा गुरुङले हामीलाई भनिन्, ‘अम्बाको बोट काट्ने कुरा त यिनको पहिलेदेखिको हो। किनकि अम्बाको रुखमा सुकुम्बासी बस्तीका केटाकेटीहरु आउँथे। ऊ त्यो वालबाट तानेर वालै भत्काउन लागिसकेका थिए।’
उनका श्रीमान् गणेश गुरुङले थपे, ‘यो घटनासँग अम्बाको रुखको सरोकारै छैन।’
सुन्नुस् अडियो-
https://www.youtube.com/embed/Nf38ChTWy9Q?rel=0
बम दिदीबहिनीको घरभन्दा ठीक अगाडि सडक छ। र, सडक पारी देवी पाण्डेको घर छ। उनकी छोरी कृतिका पनि अम्बा खान त्यहाँ गइरहन्थिन्।
देवीले हामीलाई भनिन्, ‘असारमा नै उनीहरुको आमाबुबासँग अम्बा काट्ने कुरा भएको मैले नै सुनेको छु।’
उनले पनि पटक-पटक अम्बाको रुख काट्न सुझाव दिएकी रहिछिन्। ‘केटाहरू पर्खाल चढेर अम्बा लुछ्थे। मैले असारमा पनि भनेको थिएँ- अम्बाको रुख काटिदेऊ है भनेर। चोरहरू पनि आउँछन्,’ उनले हामीसँग भनिन्।
सुन्नुस् अडियो-
आखिर अम्बाको रुख कसले काटेको थियो त?
बुबा दीपेन्द्र बमले फोनमा हामीलाई रुख छिमेकी रणबहादुर महराले काटेको बताएका थिए।
के तपाईँले रुख काट्नु भएको हो?
फोन सम्पर्कमा आएका महरालाई पनि हामीले सोध्यौँ। ‘हो, मैले र भगतपुरकै एक जना महिला मिलेर रुख काटेका हौँ,’ उनले स्वीकारे।
अनि रुख काटेर के गरे त उनीहरुले?
‘दुईवटा हाँगा थिए, आधा उनले आधा मैले लगेर गयाको हुम्,’ अम्बाको बोटबाट दाउरा बनाएको पनि उनले बताए।
अडियो सुन्नुस्-
अम्बाको रुखमा झुण्ड्याएर हत्या
एकछिनलाई मानौँ, ‘रे’को हल्ला अनुसार निर्मलाको हत्या अम्बाको रुखमा नै झुण्ड्याएर गरिएको थियो।
निर्मलाको हत्या दिउँसो २ बजेदेखि ५ बजेभित्र भएको मानिएको छ।
दिउँसै त्यसरी अम्बाको रुखमा झुण्ड्याएर हत्या गर्न सम्भव छ त? रुख सडकबाटै देखिने ठाउँमा भएकोले सम्भव छैन। बरु घरको पछाडिको कम्पाउन्ड भने सडकबाट देखिन्न। पछाडिको कम्पाउन्डमा भने मेवा र कागतीको बोट छ।
घर र घरको पछाडिपट्टीको गेट।
घरभित्र घाँटी थिची हत्या गरी अम्बाको रुखमा झुन्ड्याउन सम्भव छ त?
सडकबाटै देखिने ठाउँमा अम्बाको रुख भएकोले बाटोमा हिँड्नेहरु र छिमेकीहरुले त्यहाँ के भइरहेको हो देख्न सक्छन्। घरको मूलगेटबाट अम्बाको रुख भएको ठाउँसम्म करिब १० मिटरको दूरी छ। घरको चारैतिर लगाइएको कम्पाउन्ड वाल पनि करिब चार फिट भन्दा बढी छैन। त्यसैले बाटोमा हिँड्नेहरुले समेत सहजै देख्ने डर हुन्छ। दिउँसो यो काम सम्भव छैन।
राति अरुले नदेख्ने गरी झुण्ड्याउन त सकिएला तर त्यसमा पनि धेरै नै ‘रिस्क फ्याक्टर’हरु छन्।
गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनको खण्ड ३.३ मा अम्बाको रुख काटिएको सम्बन्धमा उल्लेख छ।
त्यसमा दीपेन्द्रले अम्बाको रुखमा अल्लारे केटाहरु चढेर खाने, होहल्ला गर्ने र छोरीहरुले पनि खासै अम्बा नरुचाउने बताएका छन्। र, त्यसले कम्पाउन्ड वाललाई नै असर गर्ला जस्तो लागेर रुख साउन १७ गते काटेको भनाई उल्लेख गरिएको छ।
के बम दिदीबहिनीको घरमा रङ लगाइयो?
निर्मला हत्याको घरमा नयाँ रङको कनेक्सन के हुनसक्छ?
एकछिनलाई मानौँ निर्मलाको हत्या बम दिदीबहिनीको घरमा नै भएको थियो। यदि खुकुरी प्रहार, चोटपटक वा केही धारिलो वस्तुले हिर्काएको भए भित्तामा रगत उछिट्टिएर लागेको वा संघर्ष भएको केही प्रमाणले रङसँग कनेक्सन गर्न सकिएला।
तर, यहाँ निर्मलाको हत्या बलात्कारपछि घाँटी अँठ्याएर भएको देखिएको छ। बलात्कारपछि रगत लागेको भए भूइँमा वा बेडमा लगाएको हुनुपर्छ। यस्तो अवस्थामा कोठामा नै रङ्ग लगाउन जरुरी हुन्छ?
उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले धेरै विषयमा शंका र अन्यौल उब्जाए पनि एउटा विषयमा भने निश्कर्ष नै दिएको छ। त्यो हो- घरमा नयाँ रङ लगाइएको विषय।
प्रतिवेदनमा लेखिएको छ, ‘उल्लिखित घरमा नयाँ रङरोगन पनि गरिएको भन्ने विषय व्यापक चर्चामा आएको, सोही घरभित्र गई हेर्दा त्यस्तो नयाँ रङरोगन गरिएको देखिन आएन।‘
अर्थात् प्रतिवेदनले रङ नलगाएको पुष्टि गरेको छ।
त्यस्तै न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा प्रस्तोता रवि लामिछानेले पनि बमको घरको कोठामा नै पुगेर रङ्ग लगाएको नदेखिएको दृश्य देखाएका थिए।
लामिछानेले हामीसित भने, ‘कार्यक्रमको सिलसिलामा म त्यो घरभित्र गएको हुँ। मेरो सादा आँखाले हेर्दा त्यहाँ रङ लगाएको देखिनँ। रङको कुनै वासना आएको पनि थिएन।‘