कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थलगत अनुगमन गरेको गैर सरकारी संस्था नेपाल मानवअधिकार संगठन (ह्युरोन) ले आफ्नो स्थलगत अनुगमनको प्रतिवेदनका तथ्यहरुमाथि प्रश्न उठाउँदै आलोचना भएपछि गुपचुप सच्याएर पुरानै मिति राखी आफ्नो वेबसाइटमा अपलोड गरेको भेटिएको छ।
ह्युरोनले गत असोज १० गतेको मिति राखी संगठनको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो।
उक्त प्रतिवेदनको बूँदा नम्बर २ मा ‘बम दिदीबहिनीमध्ये जेठी बबिता बम डान्सबारमा डान्सरको रुपमा कार्यरत छिन्’ र ‘घटना भएको दिन निज कार्यरत ओपेरा होटलमा एक बर्थ डे पार्टी भएको’ लेखिएको थियो। (हेर्नुहोस् जारी गर्दाको प्रतिवेदन)
काठमाडौँको रिपोर्टर्स क्लबमा असोज १० गते पत्रकार सम्मेलन गरी रिपोर्ट सार्वजनिक गर्दा संगठनका महासचिव महामुनीश्वर आचार्यले सोही बूँदासहितको प्रतिवेदन पढी सुनाएका थिए। कार्यक्रमको भिडियो संगठनकै युट्युब च्यानलमा पनि अपलोड गरिएको छ। लिङ्क
ओपेरा होटलमा डान्सबार नै नभएकोबारे पहिलोपोस्टले #WhoKilledNirmala शृङ्खलाको अङ्क ६ मा खुलासा गरेको थियो। त्यसमा बबिताले आफू डान्सबारमा कहिल्यै काम नगरेको दावी पनि गरेकी थिइन्।
हाल संगठनको वेबसाइटमा राखिएको प्रतिवेदनमा भने बबिता बम डान्सबारमा डान्सर भएको तथ्य हटाइएको छ। त्यसैगरी ‘घटना भएको दिन निज कार्यरत ओपेरा होटल’ लेखिएकोमा त्यसलाई संशोधन गरी ‘घटना भएको दिन निज आवतजावत गर्ने भनिएको ओपेरा होटल’ बनाइएको छ।
(हेर्नुहोस् हाल संगठनको वेबसाइटमा राखिएको प्रतिवेदन पेज १, पेज २ र पेज ३)
प्रतिवेदन सच्याइएको वा संशोधन गरिएको बारे कुनै पनि जानकारी त्यसमा राखिएको छैन। सच्याउँदा समेत प्रतिवेदनको मिति पुरानै (असोज १०) नै राखिएको छ।
यही प्रतिवेदनमा उल्लिखित तथ्यका आधारमा विभिन्न युट्युब च्यानल र वेबसाइटहरुमा समाचार सामाग्रीहरु बनेका थिए र पाठकहरुमाझ एक किसिमको विचार निर्माण भएको थियो। तर तथ्य नै गलत पर्ने गरी प्रतिवेदन संशोधन हुँदा भने सामान्य जानकारीसमेत कसैलाई दिइएको छैन।
प्रतिवेदनमा निर्मला हराएको दिन साउन १० गते बेलुकी बम दिदीबहिनीको छिमेकमा भैँसी ब्याउन लागेको, त्यहाँ भेला हुनेहरुले लाश/शव भन्ने आवाज सुनेको, बिहान ४ बजेतिर त्यो घरमा ट्याम्पु/टुकटुक आएको जस्ता तथ्य पनि उल्लेख थिए। ती तथ्य भने हाल पनि यथावत छन्।
जबकि पहिलोपोस्टले बम दिदीबहिनीहरुको घर वरपरका छिमेकीहरु समेतसँग सोधखोज गर्ने क्रममा त्यो दिन कतै भैँसी नब्याएको पाइएको थियो।
खोजबिनका क्रममा थाहा भयो- रिपोर्टहरुमा भनिएको भैँसी त्यो ठाउँको छिमेकमा पक्कै ब्याएको रहेछ। तर, करिब एक वर्ष अगाडि।
कुन घरमा भैँसी ब्याएको थियो र मान्छेहरु जम्मा भएका थिए? अनि लाश र शव भन्ने आवाज सुन्ने को-को थिए? कतै खुलेन।
‘रे’ भन्नेहरु चाहिँ धेरै भेटिएका थिए। (पढ्नुस् पहिलोपोस्टको रिपोर्ट)
अर्यालविरुद्ध बमको मुद्दा
बबिताले हुँदै नभएका कुराहरु सिलसिलाबद्ध रुपमा प्रकाशित प्रसारित गरेर आफूहरुको बेइज्जती गरेको, ब्यक्तिगत गोपनियता, मान प्रतिष्ठा र मानवीय मर्यादाको अधिकारको समेत हनन् गरेको भन्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा फागुन २३ गते मुद्दासमेत दर्ता गरिसकेकी छिन्।
पत्रकार खेम भण्डारी र भक्ति फुलारालाई पनि विपक्षी बनाइएको मुद्दामा मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार चार लाख क्षतिपूर्ति र मुद्दाको खर्चबापतको खर्च ९० हजार रुपैयाँ समेत भराउन आदेशको माग गरिएको छ।
निर्मलाकी आमालाई दबाब
बमले मुद्दा अदालतमा दर्ता गरेको भोलिपल्ट अर्यालसहित केही अधिकारकर्मीहरु निर्मलाकी आमा दुर्गादेवी पन्तको घरमा दबाब दिन पुगेका थिए।
पहिलोपोस्टले पाएको निर्मलाको घरमा खिचिएको भिडियोमा अर्याल, शान्तिका लागि साझा अभियान (कोक्याप) अध्यक्ष बद्री भुसाल, सचिव पुष्ष पौडेल, स्थानीय महिला अधिकारकर्मी मिना भण्डारी, शारदा चन्द, लक्ष्मी मल्ल लगायतले निर्मलाकी आमालाई एकपछि अर्को प्रश्न गर्दै र्याखर्याख्ती पारेको देखिन्छ।
https://www.youtube.com/embed/-UHIaxdvH6c?rel=0
भिडियोमा दुर्गादेवीले निकै भावुक भएर भनिरहेकी हुन्छिन्, ’कुन आमाको हुन्छ र गर्भबाट जन्मिएको छोरीको हत्यारा नपक्रियोस् भन्ने। बिहानै उठेर भगवानसँग न्यायको लागि, अपराध गर्नेलाई, लुकाउनेलाई कीरा परोस् भनेर माग्छु। हैरान भएँ म सात महिनासम्म दौडधुप गर्दागर्दा।‘
निर्मला प्रकरणको अनुसन्धानमा प्रमाण नष्ट गरेको भन्दै आठ प्रहरीविरुद्ध अधिकारकर्मीहरुको पहलमा निर्मलाकी आमा र दीलिपसिंह विष्टका दाजु खड्ग विष्टलाई जाहेरी दिन लगाइएको थियो। सोही जाहेरी अनुसार सरकारी वकिलको कार्यालयले कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
निर्मलाकी आमाले प्रहरीले लापरवाही गरेको तर प्रमाण नष्ट गरेको आफूलाई थाहा नभएको भन्दै जाहेरी सच्याउन खोजेको भन्दै अधिकारकर्मीहरु आफूले भने अनुसार गर्न दबाब दिन पुगेका थिए।
यसअघि निर्मलाको भेजिनल स्वाब हो कि हैन भनी यकिन गर्न निर्मलाकी आमाको रगत नमूना लिँदा पनि कान्छी श्रीमतीसँग केही वर्षदेखि नै अलग बसिरहेका उनका श्रीमानले घरमै आएर निर्मलालाई गाली गर्दै दुर्व्यवहार गरेका थिए।
प्रदेश सरकार र केन्द्र सरकारले राहतका लागि दिने भनेको रकम पनि श्रीमानले दिएको दबाबका कारण आमाले लिन सकेकी छैनन्।