#WhoKilledNirmala

१४) Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, ‘प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन’

  • कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ/सविन ढकाल –

निर्मला पन्तको सामूहिक बलात्कार भएको खबर मिडियामा ‘लिक’ गराए पनि प्रहरीले आफ्नै प्रयोगशालामा गरेको परीक्षणमा एक जना पुरुषको मात्र डिएनए भेटिएको खुलेको छ। 

पहिलोपोस्टले प्राप्त गरेको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत भदौ २४ गते दिएको रिपोर्टमा निर्मलाको भेजिनल स्वाबबाट संकलित नमूनामा एउटामात्र ‘वाई’ एसटिआर प्रोफाइल भेटिएको उल्लेख छ। 

हामीसँग रहेको नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको ०७५/०७६-सिपिइएसआई-४०२-(डि)डिएनए-१० नम्बरको रिपोर्टको नक्कल हेरेपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले भने, ‘यो रिपोर्टबाट एक जनामात्र ‘मेल कन्ट्रिब्युटर’ भएको खुल्छ।’

अर्थात्, निर्मलाको योनीभित्रबाट संकलन गरिएको नमूनामा एक जनामात्र पुरुषको डिएनए भेटिएको छ।

कसरी थाहा हुन्छ?

प्रत्येक मान्छेको शरीरमा २३ जोडी क्रोमोजोम हुन्छ। त्यसमध्ये २२ वटा अटोजोम र एउटा सेक्स क्रोमोजोम हुन्छ। 

प्रत्येक क्रोमोजोममा एक-एक वटा डिएनए हुन्छ। 

सेक्स डिएनएमा दुई वटा हुन्छ। एउटा X, अर्को Y। पुरुषमा X र Y डिएनए हुन्छ भने महिलामा X डिएनएमात्रै हुन्छ। 

६ महिनाअघि मात्रै जागिरबाट अवकाश पाएका रिजाल भन्छन्, ‘बलात्कारको केसमा योनीबाट निकालिएको नमूनामा Y डिएनएको मात्र खोजी गरिन्छ। किनभने महिलामा Y डिएनए हुन्न।’ 

यदि नमूनामा Y  डिएनए भेटियो भने बलात्कारीले आफ्नो पहिचान छाडेको छ भन्ने थाहा हुन्छ। 

उनका अनुसार Y डिएनएमा कति थरिको (एलिल) छ भन्ने खुलेपछि बलात्कारमा कति जना पुरुष संलग्न  भन्ने खुल्छ। किनभने एक जना पुरुषमा एउटा मात्रै Y डिएनए हुन्छ। 

एक जना व्यक्तिको डिएनए अर्कोसँग मेल नखाने हुनाले अपराधी र पितृत्व पहिचानका लागि यसलाई विश्वासिलो विधि मानिन्छ। तर, यसका लागि नमूना संकलन गर्दा, ढुवानी गर्दा, भण्डारण गर्दा र परीक्षण गर्दाका कुनै पनि चरणमा नमूना दूषित हुनुहुँदैन। दूषित भए नभएको परीक्षणबाट प्रष्टै थाहा हुन्छ। 

प्रहरीको गम्भीर गल्ती

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीको अनुसन्धान सुरुदेखि नै विवादमा पर्दै आएको थियो।

साउन ११ गते निर्मलाको शव उखुबारीमा भेटिँदा खिचिएका भिडियो दृश्य त्यही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा देखिन्छ, घटनास्थलमा  खटिएको ‘सिन अफ क्राइम’ (सोको अफिसर) ले क्राइम सिन प्रोटेक्सन (पहेँलो) टेप लगाएर प्रवेश निषेध गरेको छैन। अझ घोप्टो अवस्थामा फेला परेको निर्मलाको शवलाई उत्तानो पार्दा गुप्ताङ छोप्न शवकै छेउमा भेटिएको उनको सुरुवाल प्रयोग गरिएको छ। त्यो पनि पानीले पखाल्दै।

साउन १३ गतेको प्रतिनिधि सभाको बैठकमा नै अनुसन्धान प्रकृयाको विरोधमा सांसदहरुले आवाज उठाएका थिए। त्यस दिन संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरीले प्रमाण मेट्ने काम भएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेकी थिइन्। 

गिरीले पहिलोपोस्टलाई भनिन्, ‘मैले एउटा भिडियो सामाजिक सञ्जालमा देखेको थिएँ। भिडियोमा प्रस्ट देखिन्थ्यो, पुलिसका कर्मचारीहरु उभिएका छन्, पुलिसका अन्य पदाधिकारीहरु उभिएका छन्। र, निर्मालाको ट्राउजर चाहिँ पानीमा पखालिरहेको छ। यो त प्रमाण मेटाउने काम भइरहेको छ। अनि मैले त्यो दिन हाउसमा गएर भन्या हो, एउटा त अपराध भयो, त्यसमा पनि अपराध मिटाउने काम भइरहेको छ। त्यो पनि सरकारी अधिकारीहरुमार्फत्। यो त बलात्कारभन्दा पनि ठूलो अपराध हो। यसका बारेमा गृहमन्त्रीले तुरुन्त संसदलाई जानकारी गराउनु पर्छ।’

अर्थात्, यस घटनामा प्रहरीको भूमिका विवादित रहेको विषय साउन १३ गते नै सांसदहरुले उठाइसकेका थिए। 

महाकाली अञ्चल अस्पतालमा साउन ११ गते लगिएको शवको पोस्टमार्टम गर्दा डाक्टरहरुले शवको योनी भित्रबाट कटन स्वाब स्टिक प्रयोग गर्दै तीन थरिका नमूना संकलन गरी टेस्ट ट्युबमा राखेका थिए। 

ती टेस्ट ट्युब बाहिर लेबल टाँसिएको थियो- 1O, 2M र 3H। 

प्रहरीले यी तीन वटै टेस्ट टयुबमा प्राप्त नमूना आफ्नै ल्याबमा मात्र परीक्षण गर्‍यो। यसलाई गम्भीर गल्ती मान्छन् रिजाल। 

‘नवराज सिलवालको केसमा बाहेक प्रहरीले आफू विवादमा परेको केसको फरेन्सिक जाँच आफ्नो ल्याबमा नगरी विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउने गरेको थियो,’ उनले भने। 

सिलवालले कार्यसम्पादन मूल्याङ्कनको कीर्ते कागजात अदालतमा प्रस्तुत गरेको हो कि हैन भनी निर्क्यौल गर्न प्रहरीले आफ्नै ल्याबमा परीक्षण गरेको थियो। 

प्रहरीले आफूमाथि विश्वासको संकट उब्जिएको यो केसमा किन तीन वटै नमूना आफ्नै ल्याबमा मात्र परीक्षण गर्‍यो?

हामीलाई प्राप्त रिपोर्ट अनुसार 2M लेबल लगाइएको टेस्ट ट्युबमा राखिएको भेजिनल स्वाबबाट नै १६ जेनेटिक लोकस/मार्कर मध्ये १२ वटामा प्रष्ट तथ्याङ्क आएको थियो भने एउटामा निश्कर्षमा पुग्न मिल्ने तथ्याङ्क आएको थिएन। 

‘आफ्नो अनुसन्धानमा प्रश्न उठिसकेपछि प्रहरीले अर्को नमूना अर्कै स्वतन्त्र ल्याबमा पठाउनु पर्थ्यो,’ रिजालले बताए। 

नेपालमा डिएनए परीक्षण दुई ठाउँमा मात्रै हुन्छ-

एक, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला
दुई, खुमलटारमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला

प्रहरीको प्रयोगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुग्ने परीक्षण

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको डिएनए परीक्षण अन्तर्राष्ट्रिय मापदण्ड नपुग्ने भेटिएको छ। 

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख दिनेशकुमार झाका अनुसार जति धेरै ह्याप्लोटाइपहरु (एसटिआर लोकी) को नम्बर निकालिन्छ, त्यति डिएनए प्रोफाइलिङ स्पष्ट हुन्छ। अर्थात्, जति बढी एसटिआर लोकीको परीक्षण गरिन्छ, त्यति विश्वसनीय हुन्छ। 

कति वटा एसटिआर लोकीको परीक्षण गर्ने हो, त्यसको देश अनुसार मापदण्ड फरक हुन्छ। तर, अन्तर्राष्ट्रिय मापदण्ड २० वटालाई मान्ने प्रचलन छ।
 
अमेरिकाको एफबिआईले पनि सन् २०१७ को जनवरी १ देखि कम्तिमा २० वटा हुनुपर्ने गाइडलाइन्स बनाएको छ। 

तर, नेपाल प्रहरीको ल्याबमा पुरानो मापदण्ड अनुसार १६ वटाको मात्रै परीक्षण हुने गरेको छ। अन्तर्राष्ट्रिय रुपमा हाल प्रचलनमा रहेको नयाँ मापदण्ड अनुसार डिएनए प्रोफाइलिङका लागि Y एसटिआरको  1D1S1656, 2D2S441, 2D2S1338, SD10S1248, SD12S391, SD19S433, र SD22S1045 को परीक्षण प्रहरीको ल्याबमा भएको देखिँदैन। 

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा २० भन्दा बढी २४/२५ वटासम्म एसटिआर लोकीको परीक्षण हुन्छ,’ झाले पहिलोपोस्टलाई बताए। 

यसको तथ्याङ्क डिजिटल भ्यालुमा आउने गर्छ।

त्यसो भए, प्रहरीले किन निर्मलाको योनीबाट संकलन गरिएको कम्तिमा एउटा नमूना आफ्नो ल्याबमा परीक्षणका लागि राखे पनि अर्को नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएन? यसको पछाडि नियत के हो? प्रश्न स्वभाविक रुपमा उठेको छ। 

जबकि, गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनको पेज नम्बर २४ र २५ मा पनि महाकाली अञ्चल अस्पतालमा साउन १३ गते गरिएको शव परीक्षणको रिपोर्टमा भेजिनल स्वाब (हाइ, मिड र लो) नेसनल फरेन्सिकमा पठाउने भनिएको पत्र थियो। 

समितिको प्रतिवेदनको अंश

तर, प्रहरीले गत साउन १५ गते निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाब विमानबाट परीक्षणका लागि नेसनल फरेन्सिक अर्थात् खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला नलगी सामखुशीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पुर्‍यायो। त्यहीँ तीन वटै टेस्टट्युबमा संकलित भेजिनल स्वाबको परीक्षण गरियो।

बलात्कारको हैन लापरवाहीको आरोप लागेका एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टबाट संकलित डिएनए नमूना भने प्रहरीले आफ्नो ल्याबमा मात्र नभई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि परीक्षणका लागि पठाएको थियो। 

किरण विष्टले पहिलोपोस्टसितको कुराकानीमा आफू र आयुषको डिएनए परीक्षणका लागि रगत मात्र नभएर खुमलटारमा मुखबाट बकल स्वाबसमेत संकलन गरिएको जानकारी दिए। 

‘अपराधीको डिएनए प्रोफाइलिङ ठूलो उपलब्धि’

फरेन्सिक एक्सपर्ट जीवनप्रसाद रिजाल अपराधीको डिएनए प्रोफाइलिङ हुनु ठूलो उपलब्धि भएको बताउँछन्। जुन नतिजा रिपोर्टमा देखिएको छ, त्यो यदि सही हो भने थुप्रै नकारात्मकताका बीच एउटा सकरात्मकता भेटिएको उनको कथन छ। 

रिपोर्टमा देखिएको तथ्याङ्कमा एक थरी मात्र Y डिएनए भेटिएका कारण नमूना दूषित भएको नदेखिएको उनको राय छ। 

यसैबाट अपराधी पहिचान गर्न सम्भव हुने रिजालको तर्क छ। निर्मलाको भेजिनल स्वाबबाट निकालेको डिएनए प्रष्ट भएको उनी बताउँछन्। भन्छन्, ‘तपाईहरुसँग भएको रिपोर्ट हेर्दा डिएनए क्लियर छ। कि त डिएनए नै आउँदैन, आयो भने प्रष्ट नै आउँछ।’ 

निर्मलाको भेजिनल स्वाब हो कि हैन?

संकलित भेजिनल स्वाब निर्मलाको हो कि हैन? यो प्रश्न पनि उठेको छ। 

‘के थाहा, अर्कैको पठाएको हो कि,’  हामीलाई महेन्द्रनगरमा यस्तो शंका सुनाउने धेरै थिए। स्वयं निर्मलाका बुबाले भेजिनल स्वाब निर्मलाकै हो कि हैन भनी आफू वा आमाको डिएनए परीक्षण गरी पुष्टि गर्नुपर्ने माग गरेका थिए। 

‘पहिला त मेरी छोरीबाटै निकालिएको हो कि हैन भन्ने विश्वास मलाई दिलाउनु पर्‍यो। मलाई त पुलिस, प्रशासनले गरेको कुनै काममा विश्वास छैन,’ जिल्ला प्रशासन कार्यालय अगाडि अनशन बसेका बेला उनले हामीलाई क्यामेरामा भनेका थिए। हाल उनी काठमाडौँमा उपचार गराइरहेका छन्। 

‘इन्डिया लैजान्छु, नेपालमा त म दिँदै दिन्न गर्न,’ उनले त्यतिखेर भनेका थिए।


रिजाल भेजिनल स्वाब संकलन प्रहरीले नगरी डाक्टरले गर्ने हुँदा त्यति धेरै शंका गर्नुपर्ने स्थिति नरहे पनि सुरुदेखि विश्वासको संकट भोगिरहेको यो केसमा विश्वास दिलाउनका लागि स्वतन्त्र फरेन्सिक विज्ञहरुको टोली गठन गर्नुपर्नेमा जोड दिन्छन्। 

‘त्यही टोलीले विदेशमा परीक्षण गर्नुपर्ने हो कि यहीँ प्रहरीको बाहेक अन्यत्र ल्याबमा परीक्षण गर्ने हो भनेर राय दिन सक्छ। त्यसको आधारमा सरकारले पीडित लगायत सबैको विश्वास जित्ने गरी कदम चाल्दा उपयुक्त हुन्छ,’ उनले भने।

धेरै किसिमबाट गिजोलिएको यो घटनामा प्राविधिक रुपमा विश्वास जित्न सजिलो भएको उनको राय छ। 

भेजिनल स्वाबमा संकलित नमूनाको अटोजोम निर्मलाका आमा वा बुबाको डिएनएसित परीक्षण गरेमा त्यो निर्मलाको शवबाटै संकलन गरिएको हो कि हैन भनेर प्रष्ट हुने उनी बताउँछन्।    

प्रहरीको परीक्षणमा शंका लागे अरु विकल्प नभएको अवस्थामा त्यही नमूनाबाटै पुनः परीक्षण गर्न सकिने रिजाल र झा दुवैको राय छ। 

त्यसो भए नमूना सुरक्षित राखिएको छ कि नष्ट गरिसकियो त?

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार आयोगले प्रहरीलाई ‘नमूना सुरक्षित राख्न’ निर्देशन दिँदै पत्राचार गरेको थियो।
 
अनुसन्धान भइरहेको कारण देखाउँदै प्रहरीको पत्र पहिलोपोस्टलाई देखाउन अस्वीकार गरेकी अन्सारीले नमूना सुरक्षित राखिएको जानकारी प्रहरीले दिएको दावी गरिन्। 

पत्र अध्ययनका लागि उपलब्ध गराउन हामीले आयोगमा सूचनाको हक अनुसार निवेदन दिएका छौँ।

के नक्कली अभियुक्त खडा गर्न सम्भव छ?

प्रहरीले मिडियामा प्रोपोगान्डा गर्नु, आधिकारिक रुपमा प्रहरीले अभियुक्त पहिचान ‘न्यारो डाउन’ भएको प्रतिक्रिया दिनु र सरकारका मन्त्रीहरुले अपराधी पत्ता लगाइसकेको भन्दै भाषण गर्नुले अभियुक्त पहिचान भइसकेको संकेत गर्छ। 

तर, मिडियामा प्रहरीले ‘सामूहिक बलात्कार भएको’ सूचना लिक गराएको छ। लिक गराइएको सूचना छाप्ने मिडियालाई पत्याउने हो भने प्रदीप रावलले बलात्कार गरेको साबिती बयान दिएका छन्। 

उनी १७ वर्षका मात्र भएकाले एक्लै बलात्कार सम्भव नहुने देखिएपछि सामूहिक बलात्कारको ‘प्लट’ रचिएको हुनसक्ने प्रवल सम्भावना छ। 
तर, प्रहरीले आफ्नै ल्याबमा गरेको डिएनए परीक्षणको रिपोर्टले सामूहिक बलात्कार देखाएको छैन।

एउटै वंशका नजिकका नाता पर्ने दुई जनाले बलात्कार गरेमा मात्र यसरी एक थरी मात्र Y डिएनए भेटिन सक्छ तर त्यसलाई पनि अटोजोम परीक्षण गरे दुई जना हो भनेर छुट्टिने रिजाल बताउँछन्। प्रहरीको रिपोर्टमा अटोजोम परीक्षण गरिएको छैन। र, प्रहरीले मिडियामा लिक गरेको खबरमा एकै परिवारका दुई जनाले बलात्कार गरेको भनिएको पनि छैन। 

के बलात्कार नगरे पनि राज्य संयन्त्र नै परिचालित गरेर नमिलेको डिएनए मिल्यो भनेर प्रस्तुत गर्न सम्भव छ?

हामीले यो प्रश्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख दिनेशकुमार झासित राख्यौँ। 

‘यति विधि नेगेटिभ पनि नबनौँ,’ हाम्रो प्रश्नपछि एकछिन मौन बसेका उनले आशय बुझेपछि हाँस्दै जवाफ फर्काए। 

त्यसो त, डिएनए मिल्यो भन्दैमा वा कागजमा जे मन लाग्यो त्यही तथ्याङ्क दिएर मात्र नभई इलेक्ट्रोफेरोग्रामको चार्टमा पनि देखिनु पर्ने फरेन्सिक एक्सपर्ट रिजाल बताउँछन्। 

रिजाल यो केसलाई सहज बनाउँदै लानु पर्नेमा झन् जटिल बनाउँदै लगेकोमा असन्तुष्ट छन्। उनले तत्काल फरेन्सिक विज्ञको टोली गठन गरी यसबारे जिम्मा दिनुपर्ने सुझाव दिन्छन्।

यदि नक्कली अभियुक्त खडा गरिएको आरोप लाग्यो भने सरकारले इलेक्ट्रोफेरोग्रामको चार्ट सार्वजनिक गर्नुपर्ने हुन्छ।  

प्रहरीले सामूहिक बलात्कार हुँदा एक जनाले मात्र गरेको तर मतियार अरु पनि भएको देखाउन सक्ने सम्भावना पनि छ। अथवा मिडियामा जसले साबिती बयान दिएको भनिएको छ, उसले बलात्कार गरेर वीर्यपतन योनीमा नगरी बाहिर गरेको प्लट रच्ने सम्भावना पनि हुनसक्छ। र, त्यो प्लटमा मुख्य अभियुक्त फरार रहेकाले डिएनए नमिलेको भन्न सक्ने अवस्था पनि हुनसक्छ। प्रहरीले नियन्त्रणमा लिएको रावल समूहका चन्द थरका एक युवक फरार रहेको र प्रहरीले उसलाई खोज्दै गरेको जानकारी पनि हामीले पाएका छौं।

तर, प्रहरीले आफ्नै ल्याबमा गरेको डिएनए प्रोफाइलिङमा प्रष्ट रुपमा जुन Y एसटिआर प्रोफाइल देखिएको छ, त्यो एक जनाको मात्र देखिएको छ।
 
नक्कली अभियुक्त खडा गरिएको भन्ने विवाद भएमा कागजमा दिइएका नम्बरको साटो स्वतन्त्र फरेन्सिक विज्ञहरुको टोलीले ल्याबमै गएर इलेक्ट्रोफेरोग्रामको चार्ट हेरी पुष्टि गरेपछि मात्रै निर्मलालाई बलात्कार गर्ने उही हो भनी वैज्ञानिक पुष्टि सम्भव हुन्छ। नत्र, सुरुदेखि नै नियतमा समेत विवादित रहेको यो केसको सहज अवतरण सम्भव छैन।

एक पटक दीलिपसिंह विष्टलाई नक्कली ‘प्लट’ बनाएर अभियुक्तका रुपमा खडा गरिसकेको प्रहरीले यस पटक फेरि त्यस्तै गल्ती दोहोर्‍याए त्यो उसको लागि मात्र होइन, अपराध अनुसन्धान गर्ने सिंगो निकायको विश्वासमाथि नै घातक हुनसक्छ।  

 

यस्तो छ डिएनए रिपोर्ट

(प्रतिवेदनको छायाप्रति हामीसित सुरक्षित छ)



यसमा निर्मलाको भेजिनल स्वाबमा भेटिएको Y डिएनएको १६ वटा जेनेटिक लोकस/मार्कर मध्ये ९ वटा अङ्क दीलिपसिंह विष्टको डिएनएसित मिलेको छ। 

के त्यसो भए प्रहरीले सुरुमा अभियुक्त बनाई सार्वजनिक गरिएका विष्टलाई अभियुक्त मान्न सकिन्छ? 

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख दिनेशकुमार झाका अनुसार पितृत्व पहिचानका क्रममा एक दुईवटा लोकस मार्करको अङ्कमा एक दुई अङ्कको अन्तर भए पनि त्यसलाई अपवाद मानेर स्वीकार गर्ने प्रचलन छ। तर, अपराधी पहिचान गर्न गरिने डिएनए परीक्षणमा शत् प्रतिशत मिल्न जरुरी हुन्छ।
 
फरेन्सिक एक्सपर्ट रिजालले  अपराधी पहिचानमा शत् प्रतिशत डिएनए मिल्नुपर्ने दावी गर्छन्। 


त्यस्तै प्रहरीको ल्याबले गत असोज ७ गते तयार पारेको रिपोर्टमा पनि निर्मलाको भेजिनल स्वाबबाट तयार भएको Y डिएनएका १६ जेनेटिक लोकस/मार्कर मध्ये एसपी दिल्लीराज विष्ट र उनका छोरा किरण विष्टको ६ वटा मिलेको छ। बाँकी १० वटा नमिलेकाले उनीहरुको डिएनए म्याच भएको मान्न सकिँदैन। 

भीमदत्त नगरपालिका मेयरका भतिजा आयुष विष्टको पनि पाँच वटा जेनेटिक लोकस/मार्कर मात्र मिलेको छ। 

प्रहरीले अब कसैलाई निर्मलाको भेजिनल स्वाबमा भेटिएको पुरुष Y डिएनएसित नमिली अभियुक्त भनी सार्वजनिक गर्न सक्दैन।  

के हुनसक्छ सम्भावित उपाय?

२० वर्षअघि अगस्त १० तारिखका दिन नेदरल्यान्ड्सको ब्रुन्स्सुममा ११ वर्षका किशोर निकी भेर्स्टाप्पेन हराए। 

भोलिपल्ट साँझ उनको लाश एक किलोमिटर जति पर फेला पर्‍यो कम्मरभन्दा माथि नाङ्गो हालतमा। लाशको प्रकृति हेर्दा यौन दुर्व्यवहार भएको जस्तो देखिन्थ्यो। तर, पोस्टमार्टममा मृत्युको स्पष्ट कारण खुलेन। 

हत्यारा पत्ता लगाउन डच प्रहरीले बृहत् अनुसन्धान गर्‍यो। तर, अनुसन्धानले छेउटुप्पो केही नतिजा ल्याउन सकेन। 

लामो समयसम्म डच प्रहरीले हत्यारा पत्ता लगाउन नसकेकोमा आलोचना खेप्नु पर्‍यो। कयौँ अनुसन्धान टोली बने, विघटन भए। तर, नतिजा शून्य।
 
हत्या गरिएका निकी। फोटो साभार : बिबिसी

निकीको शरीरमा अरुको डिएनए पनि भेटिएन। लाश भेटिएको ठाउँ नजिकै एउटा टिस्यु र चुरोटको ठूटो भेटियो जसमा मानव डिएनएको नमूना थियो।

डिसेम्बर १९९९ देखि जनवरी २००० सम्म घटनास्थलमा भएका ३५ जनाको डिएनए टेस्ट गरियो। सबको रिजल्ट आयो नेगेटिभ। 

हत्या भएको १२ वर्षपछि निकीको शरीरमा अरुको (फरेन) डिएनए पनि भेटियो। त्यसपछि ८० जनाको डिएनए स्याम्पल लिएर परीक्षण गरियो। अझै केही नतिजा आएन। 

यतिसम्म कि किशोर सहभागी भएको समर क्याम्पका सात वर्षअघि मरिसकेका संस्थापक जोस बार्टेनको शव उत्खनन् गरेर डिएनए स्याम्पल समेत लिइयो। तर, त्यो पनि म्याच भएन। 

त्यसपछि, यसै वर्षको सुरुमा अर्थात् सन् २०१८ को जनवरीमा लिम्बर्ग प्रान्तका साढे २१ हजार पुरुषलाई डिएनए स्याम्पल दिन आह्वान गरिने घोषणा भयो। डच इतिहासकै सबैभन्दा ठूलो डिएनए स्क्रिनिङ कार्यक्रम थियो त्यो। फेब्रुअरीदेखि जुन महिनासम्ममा १५ हजारभन्दा बढी स्याम्पल संकलन भए। 

अन्ततः २० वर्ष पुरानो हत्याको रहस्य पत्ता लगाउन यसैले सघायो। एक ५५ वर्षीय पुरुष जोस ब्रेचको डिएनए निकीको लुगामा भेटिएको डिएनएसित मिल्यो। ब्रेचले यसअघि बच्चाहरुलाई यौन दुर्व्यवहार गर्ने गरेको पनि खुल्यो। 

हत्या भएकै बेला उनी घटनास्थल वरपर भएको त पहिले नै पत्ता लागिसकेको थियो। तर त्यतिबेला उनी त्यहाँबाट यत्तिकै गुज्रिएकोमात्र अनुमान गरिएको थियो। ब्रेच आफैले डिएनए स्याम्पल त दिएका थिएनन्, तर उनका एक आफन्तको डिएनए स्याम्पलको मद्दतले प्रहरीलाई सर्च न्यारो डाउन गर्न सघायो।  

तर, अभियुक्त चार महिनाअघि नै आफ्नो घर छाडेर टाप कसिसकेका थिए। प्रहरीले स्पेनमा उनलाई २६ अगस्तमा फेला पार्‍यो र पक्रियो। अनि ६ सेप्टेम्बरमा नेदरल्यान्डसमा ल्याइयो। 

प्रहरीले उसको जाँच गरेपछि डिएनए शतप्रतिशत मिल्यो।

अरु सबै प्रमाण लोप भइसकेको अवस्थामा अहिले निर्मलाको केसमा पनि यही मोडल लागू हुनसक्छ। निर्मलाको बलात्कार तथा हत्या गर्ने व्यक्ति फरार भए पनि उसको निकट आफन्तको डिएनएबाट शंकित व्यक्तिलाई न्यारो डाउन गरी अन्ततः अरु प्रमाणसमेतको आधारमा पत्ता लगाउन सकिन्छ।

मास डिएनए टेस्ट विश्वमै कहिलेकाहीँ मात्र हुन्छ। तर, यसलाई स्थानीय बासिन्दाले प्रहरीले दुःख दिएको रुपमा नबुझी निर्मलालाई न्याय दिलाउन चालिएको कदमका रुपमा लिनुपर्छ।

 सन् २०१४ मा पश्चिमी फ्रान्सको एउटा स्कूलको ट्वाइलेटमा एक १६ वर्षीया किशोरीको बलात्कार हुँदा ४ सय ७५ स्कूले विद्यार्थी, ३१ शिक्षक र २१ स्टाफको डिएनए स्याम्पल लिइएको थियो। त्यसैगरी सन् १९९८ मा एउटा बेलायती हत्याको केसमा ८ सय जनाको स्याम्पल लिइएको थियो। सन् १९८६ मा डन एस्वर्थको बलात्कार र हत्या केसमा प्रहरीले ४ हजार पुरुषको डिएनए टेस्ट गरेको थियो र कोलिन पिचवर्थ दोषी भएको पत्ता लगाएको थियो।   

निर्मलाको केसमा प्रहरी र राज्यले विश्वास गुमाउँदै गएका कारण स्वतन्त्र फरेन्सिक विज्ञहरुको टोली गठन गरी त्यसको प्रत्यक्ष निगरानीमा अनुसन्धानलाई थप अगाडि बढाउनु पर्छ। 

(काठमाडौँमा सागर बुढाथोकी र कञ्चनपुरमा महेन्द्र बमको सहयोगमा) 

१५) चोरीका आरोपीलाई बलात्कारको ‘दोष’ : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च?

  • उमेश श्रेष्ठ/सविन ढकाल –

गएको साउन ९ गते बुधबार राति भीमदत्त नगरपालिकामा रहेको एक मासु पसलमा चोरी भयो। चोरी भएको उजुरी लिएर साहु पाले चौधरी नजिकै रहेको वडा प्रहरी कार्यालयमा पुगे।

चौधरीको पसलमा कुखुरा चोरी भएको हो कि कुखुराको मासु चोरी भएको हो कि पैसा चोरी भएको हो भन्नेमा आपसमा बाझिएका खबर आएका छन्। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर कठायत ३/४ सय रुपैयाँ चोरी भएको उजुरी परेको दावी गर्छन्।

उनका अनुसार सालघारी अस्थायी प्रहरी बिटले भगतपुर घर भएका रावल थरका किशोरलाई साउन १० गते बिहान नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय पुर्‍याएको थियो।  

रावलले पहिले पनि गाउँमा सामान्य चोरी तथा फटाइ गर्ने भएकाले प्रहरीको शंका उनीतिरै हुनु स्वभाविक थियो।

तर उनले चोरी गरेको स्वीकारेनन्। 

भने, ‘विशालले हो सर। म गएको थिइनँ।‘

विशाल र उनी साथी। दुवैको उमेर पनि १७ वर्ष। सँगै फट्याइँ गर्नदेखि लागूऔषध प्रयोग गर्नेसम्म उनीहरुको मित्रता देखिन्छ।

उसले पोल लगाएपछि प्रहरीले विशाल चौधरीलाई पनि नियन्त्रणमा लियो साउन १० गते। भोलिपल्ट (साउन ११ गते) छोरालाई छुटाउन आमा प्रहरी चौकी पुगिन्। चोरीको अभियोगमा हिरासतमा रहेका छोरालाई प्रहरी कहाँबाट घर लगिन्। 

भीमदत्त नगरपालिकामा त्यही दिन एउटा घटना भयो जसले अहिलेसम्म नेपाल तरङ्गित छ। उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव उखुबारीमा भेटियो। 

४ महिना बितिसक्दा पनि प्रहरीले अझै कसले निर्मलाको बलात्कार गरी हत्या गरेको पत्ता लगाउन सकेको छैन। तर केही दिनदेखि भने प्रहरी प्रमुख आइजी सर्वेन्द्र खनाल स्रोतबाट मिडियामा लिक गराइएका जानकारी र मन्त्रीहरुको बोली एकै सुनियो- अपराधीको नजिक पुगेका छौँ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले त शनिबारको सार्वजनिक कार्यक्रममै हत्यारा पक्राउ गरिसकेको र छिट्टै सार्वजनिक गर्ने दावी गरे। 

हेर्नुस् सरकारी समाचार एजेन्सी राससको समाचार

चार महिना पछि विशाललाई पुनः प्रहरीले नियन्त्रणमा लियो। तर यस पटक चोरीको हैन, बलात्कारको शंकामा। 

प्रहरीबाट लिक गरिएका सूचनाका आधारमा नयाँ पत्रिका दैनिकमा छापिएको समाचारमा बयानका क्रममा रावलले साइकलको चेन बनाइरहेकी निर्मलालाई भेटेको, गफ गर्न भन्दै खोला पारी लगेको र विशाल पनि आफू सँगसँगै आएको,  गफ गर्ने क्रममा उत्तेजित भएर उखुबारीमा लगेर बलात्कार गरेको, विशालले पनि बलात्कार गरेको र प्रतिकार गरेपछि हत्या गरेको उल्लेख छ। 

यसअघि डिएनए म्याच नभएपछि छुटेका दीलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्ने क्रममा पनि प्रहरीले यस्तै ‘प्लट’ तयार पारेको थियो। त्यस क्रममा पनि विष्टले निर्मलाको साइकलको चेन बनाइदिएको र त्यस क्रममा उत्तेजित भई खोलापारी लगेर बलात्कार गरेको भनिएको थियो।

त्यसैगरी रावलले पनि आफन्त बलात्कार गरिसकेको प्रहरी अनुसन्धानका खुलेको भन्दै प्लट तयार पारिएको छ। यसअघि दीलिपसिंह विष्टको पनि यस्तै आफन्त बलात्कार गरिसकेको ‘प्लट’ प्रहरीले बुनेको थियो।      

तर प्रहरी कता चुक्यो?

निर्मला हराएको दिनदेखि शव भेटिएको समयसम्म विशाल प्रहरी हिरासतमा भएको खुलेको छ। विशालकी फुपू प्रमिला चौधरी भन्छिन्, ’ऊ निर्दोष छ। उसले यस्तो काम गर्न सक्दैन। निर्मला हराएको दिनदेखि शव भेटिएको दिनसम्म ऊ प्रहरीको थुनामा थियो। कसरी उसले यस्तो गर्न सक्छ? प्रहरीले अहिले यातना दिएर दोषी साबित गर्न खोज्दै छ रे।‘

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले पनि विशाललाई साउन १० गते नियन्त्रणमा लिएको स्वीकारे। डिएसपी ‌ओझाले भने, ’साउन १० गते साँझ करिब ५ बजेदेखि ६ बजेको बीचमा हाम्रो टोलीले नियन्त्रणमा लिएको देखियो। भोलिपल्ट आमा आएर दिउँसोतिर घर लगेको बुझिएको छ।’ 

रावललाई भने प्रहरीले नियन्त्रणमा नलिएको उनको दावी छ। ‘साउन १० गते बिहान हाम्रा केटाहरुले रावललाई चोरेको हो भनेर सोधेका रहेछन्। उसले मैले होइन विशालले भनेपछि विशाललाई पक्राउ गरेको रहेछ।‘

निर्मलाको लागि न्याय भन्दै संघर्ष गरिरहेको समितिकी संयोजक मीना भण्डारी भन्छिन्, ’हामीले चौकीमा गएर बुझिसकेका छौँ। साउन १० गतेदेखि चौधरी प्रहरी कहाँ थियो। रावल भने भागेर टनकपुर गएको बुझिएको छ। उनीहरू यहाँ थिएनन् भने घटना कसरी भयो? प्रहरीले प्रपञ्च रचिरहेको छ। यातना दिएर अभियुक्त बनाउन खोज्दै गरेको देखिन्छ।‘ 

यसअघि आइजी कै निर्देशनमा खटिएको अंगुर जिसी नेतृत्वको सिआइबीको टिमले पनि रावललाई एक पटक नियन्त्रणमा लिएर सामान्य सोधपूछ पछि छाडिसकेको थियो।

रावललाई केही दिनअघि केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँमा पक्राउ गरेको थियो। त्यस्तै कञ्चनपुरबाट केही युवकलाई पक्राउ गरी काठमाडौँ ल्याई अनुसन्धान भइरहेको छ। यस पटक शङ्कास्पद व्यक्तिहरूलाई काठमाडौँमै ल्याएर अनुसन्धान गरिएको छ। 

पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च?

केही मिडियामा प्रहरी प्रमुख आइजी सर्वेन्द्र खनालले नै शङ्कास्पद व्यक्तिको बयान लिन गएको भन्ने समाचार आएका थिए। 

नेपाल प्रहरीका प्रवक्ता र सरकारका प्रवक्ताले पनि अपराधी नजिकै पुगेको भन्ने खालका अभिव्यक्ति दिए। 

तर प्रहरीसँग अभियुक्त खडा गर्न खासै प्रमाण भने भएको देखिँदैन। निर्मलाको भेजिनल स्वाबमा पुरुष डिएनए भेटिसकेको हुनाले जस्तै विश्वसनीय देखिने ‘प्लट’ बनाए पनि डिएनए नमिल्दासम्म त्यसको कुनै अर्थ रहँदैन।

प्रहरीले नियन्त्रणमा लिएकाहरू लागूऔषध दुर्व्यसनी हुन्। टिनएज समूहका देखिन्छन्। लागू पदार्थको नशामा बलात्कार गरेँ भनेर बयान दिएको भनिएको छ। 

तर थाइल्यान्डमा बसेर एसियन नेटवर्क अफ पिपल हु युज ड्रग्स संस्थामा नेपालसहितको क्षेत्रीय कार्यक्रम हेर्ने गरी काम गरिरहेका राजीव काफ्ले प्रश्न गर्छन् – ‘भायग्रा खाएको हो र यौन उत्तेजना बढ्नलाई?’

नेपालमा प्रयोग हुने लागू औषध भनेको सीमापारबाट आउने र इन्जेक्सनबाट लगाउने टिडिजेसिक, पेनकिलर फार्मेस्युटिकल ड्रग्स हुने जानकारी दिँदै काफ्लेले भने, ‘यस्तो लागूऔषधले डिसिजन मेकिङमा असर पारेर बलात्कारै गराउँछ भन्ने हुँदैन। जाँड रक्सीले भने हुनसक्छ।’ 

कि भने महँगो लागू औषध प्रयोग गरेको हुनुपर्छ जसले यौन उत्तेजना बढाउँछ। तर पक्राउ परेकाहरुको पृष्ठभूमि हेर्दा महँगो लागू औषध प्रयोग गर्ने खालका देखिँदैनन्। 

किन प्रहरी अविश्सनीय लाग्ने प्लट बनाउँदै छ त?

गएको मंसिर ११ गते सरकारले सामाजिक सुरक्षा योजना लागू गर्‍यो। त्यसको एक दिनअघि काठमाडौँका बिजुलीका खम्बामा नयाँ युगको सुरुवात भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो रहेको पोस्टर टाँसियो।

भोलिपल्टका सबै ब्रोडसिट राष्ट्रिय अखबारका ज्याकेट एडमा त्यही पोस्टर विज्ञापन देखियो।

योजना लागू गर्ने घोषणासहितको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार खै भन्नेहरुलाई देखाएको दावी गरे। 

त्यसलगत्तै उस्तै शैलिमा निर्मलाको फोटो राखेर ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर काठमाडौँमा देखा परे। लाख बढी सदस्य भएको केटाहरुकोको लोकप्रिय फेसबुक क्लोज ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) मा उस्तै डिजाइनका पोस्टर देशभर आफैले छापेर आफै टाँस्न आह्वान भयो गुगल ड्राइभमा डिजाइनको लिङ्क सेयर गर्दै।

यता सरकार विश्वमै विवादास्पद चर्चले आयोजना गरेको एउटा सम्मेलनका कारण पनि बदनामी भोगिरहेको थियो। यसै क्रममा निर्मलाको पोस्टर प्रहरीले च्यात्दै गरेका फोटो र भिडियो भाइरल भए। उसै त निर्मला प्रकरणमा प्रहरीको विश्वास गुमेको र सरकार बदनाम भइरहेको थियो, यसले त्यसलाई आगोमा घ्यु थप्ने काम मात्रै गर्‍यो। 

यही परिस्थितिमा मंसिर १२/१३ गतेदेखि निर्मलाको बलात्कार र हत्या प्रकरणमा शंकास्पद अभियुक्त पक्राउ परेको, आइजी खनाल आफैले बयान लिएको, साबिती बयान दिएको खबर आउन थाले। प्रहरी प्रवक्ताले अनुसन्धान न्यारोडाउन भइसकेको आधिकारिक प्रतिक्रिया दिए।

मंसिर २० गते सरकारका प्रवक्ता मन्त्री गोकुल बाँस्कोटाले ‘निर्मलाका प्रकरणका अपराधी पत्ता लागेको दिन सरकार भेटिन्छ’ भन्दै अपराधी सार्वजनिक हुन लागेको संकेत दिए।

योसँगै गएको हप्ता पोस्टर च्यातेको विषय ओझेलमा पर्‍यो।

तर यसले प्रहरी र सरकारको विश्वसनीयतामा सकारात्मक असर पर्‍यो कि नकारात्मक?

रावल थरका एक किशोरलाई प्रहरीले मुख्य शङ्कास्पद व्यक्तिको रुपमा उभ्याएको किसिमका समाचार आए। उनले साविती बयान दिएको भनियो। 

तर ती युवकले सुरुमा बलात्कार र हत्या गरेको स्वीकार गरे पनि बयान फेरिरहने गरेको देखिएको छ। घटना गराएको देखेको भनिएकाहरूको बयानमा पनि एकरुपता देखिँदैन। उनीहरूको फरक फरक बयान हुने गरेको प्रहरी स्रोतले नै जानकारी दिएको छ।

यसअघि पनि केही युवक पक्राउ गरी डिएनए नमिलेपछि छोडिएका थिए। ती व्यक्ति को थिए? कहीँ कतै समाचार आएन। प्रहरीले उनीहरूको नाम गोप्य राख्यो। तर अहिले शङ्काको भरमा नै अभियुक्तको नाम समेत किन प्रहरीले ‘लिक’ गरायो?

डिएनए रिपोर्ट नमिल्ने हो भने यो सब प्रोपोगान्डाले विश्वसनीयता कसको गुम्ला? यसको नेतृत्व गर्नेहरुले सोच्नु पर्ने विषय हो।

कञ्चनपुरमा महेन्द्र बमको सहयोगमा

१६) निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै

  • उमेश श्रेष्ठ/स्वेच्छा राउत –

‘निर्मलाको हत्या १०० प्रतिशत बम कै घरमा भएको हो।’

यसरी शतप्रतिशत ठोकुवा गर्ने कर्ण गुरुङ नेपालमा भने छैनन्। देशमै नभए पनि उनी कसरी यस्तो निश्कर्षमा पुगे त?

एउटा युट्युब भिडियोको कमेन्टमा उनले लेखेका छन्, ‘म अहिले देशबाहिर छु। मैले पहिलेदेखि निर्मला पन्तको हरेक भिडियो नटुटाई हेर्ने गरेको छु। सात समुद्र पारीबाट मैले हरेक भिडियोको आधारमा सूक्ष्म रुपले अध्ययन गर्दा म पुलिस नभए पनि मैले धक्कु दिँदै आएको छु कि निर्मला पन्तको हत्या बम दिदीबहिनीकै घरमा भएको थियो।’

उनले सो कमेन्टमा आफ्नो आक्रोश यसरी पोखेका छन्- ‘तर नेपालमै रहेको त्यत्रो पुलिस फोर्सले खै पत्ता लगाउन सकेको? थुक्क नेपालको पुलिस प्रशासन निकम्मा।’

यो कमेन्ट नौलो आवाज नामक युट्युब च्यानलको भिडियोमा आएको हो। निर्मला पन्तसँग जोडिएको विभिन्न विषयलाई यसले भ्रमपूर्ण हेडलाइन र थम्बनेल दिएर राखेको छ। तीमध्ये एउटा भिडियोको शीर्षक छ, ‘निर्मला पन्तको हत्या बम दिदीबहिनीकै घरमा भएको खुलासा – लाश लिन ४ बजे टेम्पो आएको’ । थम्बनेलमा रातो रङको टेम्पोको समेत फोटो छ।

भिडियोमा नेपाल मानव अधिकार संगठन (ह्युरोन) का महासचिव महामुनिश्वर आचार्यले ह्युरोनले गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन पढेका छन्। त्यसमा शीर्षकमा लेखिएजस्तो निर्मलाको हत्या बम दिदीबहिनीकै घरमा भएको खुलासा गरिएको छैन। प्रतिवेदनमा बिहान ४ बजेतिर त्यो घरमा ट्याम्पु/टुकटुक आएको भन्ने त उल्लेख छ तर यो ‘रे’हल्ला कसले सुनाएको हो, खुलाइएको छैन।  

कर्ण गुरुङलाई सात समुद्र पारी रहेर पनि नेपालको सुदूर पश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा भएको एउटा घरमा नै हत्या भएको भन्नेमा कुनै शंकाको गुञ्जायस नहुने बनाउनमा युट्युबका यस्तै भिडियोको पनि भूमिका छ।

यही भिडियोमा आएका कमेन्टहरुले प्रष्ट पार्छन्, कसरी आम दर्शकलाई घटनाबारे गलत जानकारी दिन र हिट्स बटुल्न सम्भव छ भन्ने। दुई लाख ३० हजार हिट्स पाइसकेको भिडियोमा भीम विकले लेखेका छन्- ‘एसपी दिल्ली विष्टलाई जिउँदै जलाउनु पर्छ।’

यो प्रतिवेदनमा उल्लेख भएका केही तथ्य गलत रहेको स्वयं ह्युरोनकै अध्यक्ष ईन्द्र अर्यालले हाम्रो क्यामेरामा बताएका छन्। प्रतिवेदनमा बबिता बम ओपेरा होटलको डान्सबारमा डान्सरको रुपमा काम गर्ने उल्लेख गरिएको छ। तर, न ओपेरा होटलमा डान्सबार छ, न बबिता डान्सरकै रुपमा काम गर्छिन्। 

अर्यालले हामीलाई ओपेरा होटलमा डान्सबार नभएको बताए। तर, बबिता अर्कै होटलमा डान्सर रहेको दावी गरे। डान्सबारको नाम भने उनले बताउन सकेनन्।

प्रतिवेदनमा बम दिदीबहिनीको घर छेउमा भैँसी ब्याएको र साल नझरुन्जेल रुङ्गेर बस्नेहरुले त्यो दिन घरबाट लाश/शव भन्ने आवाज सुनेको, बिहान ४ बजे टेम्पो आएको उल्लेख गरिएको छ।

जबकि, हामी स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुग्दा भैँसी एक वर्षअघि नै ब्याएको र टेम्पो आएको पनि नदेखेको छिमेकीहरुले बताएका थिए। 
तर, ‘झुट’ युट्युबबाट यसरी ‘सत्य’ का रुपमा स्थापित हुन पुग्यो कि सात समुद्र पारी बस्ने कर्ण गुरुङलाई मात्र हैन, धेरैको दिमागमा यही दृश्य स्थापित छ। 

यो रिपोर्ट तयार पार्दासम्म भिडियोमा २ सय भन्दा बढी कमेन्ट छन्। अधिकांशमा बम दिदीबहिनीहरुप्रति अश्लील, अपाच्य र हिंस्रक कमेन्ट गरिएका छन्। जबकि, भिडियोमा बम दिदीबहिनीलाई दोषी नै भनी ठहर गरिएको छैन।

टेम्पो आएको छ कि छैन? ‘रे’ को आधारमा प्रतिवेदन बनाइएको छ। तर भिडियो हेर्नेले कमेन्टमा ठोकुवा गरेका छन्- टेम्पो बम दिदिबहिनी र एसपी बाउछोरा, दुई डिएसपीले ल्याएको हो।

‘नेपाली मन’ नामबाट अर्को कमेन्टमा भनिएको छ- ‘सबै प्रमाण भएर पनि के घन्टाको भाषण गरेर बसेको? गएर समात न बम दिदीबहिनीलाई अनि दिल्लीराज विष्टलाई। बाँधेर चुट्दै तीनै जनालाई जिउँदै आगो लगाएर जलाउनु पर्छ, अनिमात्र निर्मला बहिनीको आत्माले शान्ति पाउँछ।’

‘खुलासा’ र ‘रहस्य खुल्यो’

हामीले युट्युबमा निर्मला सर्च गर्दा भेटेका केही भिडियोका हेडलाइन यस्ता छन्-

•     ‘बाहिरियो यस्तो रहस्य- निर्मला पन्तलाई बलात्कारपछि झुण्डाएर मारेको खुलासा’
•    ‘१०५ दिनपछि निर्मला हत्याबारे बम दिदिबहिनीको यस्तो सनसनिपूर्ण खुलासा’
•    ‘कञ्चनपुर घटना: बल्ल पत्ता लाग्यो निर्मलाको हत्यारा। कान्छी आमाले खोलिन् रहस्य’ 

यी शीर्षक र थम्बनेल (भिडियो प्ले गर्नुअघि देखिने फोटो) देख्दा लाग्छ निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो। त्यस्तै संकेत गर्ने शीर्षक राखिएको भिडियोमा भ्युज हजार हैन, लाखौंमा छ।

बलात्कारपछिको हत्या प्रकरण चर्चामा आएसँगै निर्मला शब्दमा युट्युबरको आकर्षण बढेको छ। उनीहरुलाई सत्य र तथ्यसँग केही मतलब छैन। ‘निर्मला’ शब्द जोडिएसँगै आउने ‘भ्युज’ यसको कारण हो। निर्मलाकै नाम जोडेर शीर्षक राखिएका भिडियोहरु अधिकांश ट्रेन्डिङमा आए। धेरैले हेरेपछि ट्रेन्डिङ सूचीमा आउँछ। 

त्यसैले घटनासँग गोरु बेचेको साइनो नभएका भिडियोले पनि भ्युज कमाए। सिम्रन म्युजिक मुभी नाम गरेको युट्युब च्यानलले ‘निर्मला पन्तको बारेमा सर्ट मुभी’ नाम दिएर नाटकीय भिडियो पोस्ट गरेको छ, जसको कथावस्तु निर्मलासम्बन्धी सार्वजनिक कुनै पनि घटनासँग मेल खाँदैन। तर पनि भिडियोले तीन लाखभन्दा बढी भ्युज कमाएको छ।  

निर्मला पन्तको नाम जोडेर अपलोड भएका अधिकांश भिडियोका कन्टेन्ट वास्तविकता र तथ्यमा आधारित छैनन्। केहीमा सार्वजनिक फोटोहरु राखेर अडियो सामाग्री बनाइएको छ भने केहीमा अरु मिडियामा प्रकाशित समाचार वाचनमात्र छ।

सनसनीपूर्ण र आक्रामक  शीर्षकहरु राखिएका प्रायः भिडियोको हिट्स अरु भिडियोको तुलनामा बढी देखिन्छ। 

विराटनगर अनलाइन टिभीले ‘बाहिरियो यस्तो रहस्य – निर्मला पन्तलाई बलात्कारपछि झुण्डाएर मारेको खुलासा’ शीर्षक राखेर अपलोड गरेको भिडियोमा उनको पोस्टमार्टमको रिपोर्ट झुटो भएको ठहर गरिएको छ। तर, भिडियो हेर्दा भने ‘रिपोर्ट झुटो हुनसक्ने अनुमान’ मात्र छ। ‘हुन सक्छ’ र ‘अनुमान’को भरमा निस्कर्षसमेत तयार पारिएको भिडियो रिपोर्ट ३ लाखभन्दा बढी पटक हेरिएको छ। 

अझै पनि देशभर निर्मलाको हत्यारा पत्ता लगाउन दबाब दिने क्रम जारी छ। तर, दुई महिनाअघि नै स्पन्दन मिडियाले ‘निर्मला हत्याको नयाँ खुलासा: दुई दिदी बहिनीले गरे हत्याको खुलासा’ शीर्षक दिएर आफ्नो भिडियोको प्रचार गर्‍यो। तर, भिडियोमा निर्मलाको नभएर रामेछापमा भएको वृद्धको हत्याबारे जानकारी दिइन्छ। भिडियो क्लिपहरुमा भने काठमाडौंमा भएको दवाव र्‍याली र निर्मलाकी आमाले दिएको मन्तव्य राखिएको छ। 

निर्मलाको नामबाटै यो भिडियोले एक लाख ३३ हजारभन्दा बढी भ्युज कटाइसकेको छ।  

युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै

निर्मला बलात्कार र हत्या प्रकरणमा संलग्न भन्दै केही व्यक्ति शङ्काको घेरामा परे। निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता, मेयर सुरेन्द्र विष्टका भतिज आयुष र एसपी दिल्लीराज विष्टका छोरा किरण मुख्य तारो बने। अनुसन्धान जारी थियो। मुद्दा अदालतमा समेत पुगेको छैन। तर, केही युट्युबरहरुले आफ्नै इजलास तोकेर आफैले प्रमाण भेटेको दावी गर्दै उनीहरुलाई दोषी ठहर गरी भिडियो बनाउन भ्याए। 

एसके अनलाइन टिभी नामक च्यानलले ‘पहिलो पटक निर्मला हत्याकाण्ड बारे लिक भयो दिल्लीराजका बाबु छोराले गरेको अडियो’ शीर्षक दिएर अपलोड गरेको भिडियोमा भनिएको छ- भित्री कुरा यस्तो पो रहेछ। थम्बनेलमा ‘कालो कर्तुत यसरी बाहिरियो’ लेखेको देखेपछि घटनामा चासो राख्ने जो कोही आकर्षित हुनु र क्लिक गर्नु स्वभाविक हो। 

भिडियोमा अडियो त छ तर थम्बनेलमा लेखेजस्तो कुनै पनि कर्तुत बारे जानकारी वा प्रमाण छैन। धेरैले च्यानल सञ्चालकलाई गाली समेत गरेका छन्। 

श्यामनारायण चौधरीले लेखेका छन्- ‘च्याउ उम्रे झैं उम्रेका युट्युबेहरु निर्मलाको हत्यामा तिमीहरु पैसा झोला भरी कमाऊ, तर यदि साँचो समाचारदाता हौ भने साँचो समाचार मात्र निकाल।’ 

‘यो भ्वाइस रेकर्ड अनुसार दिल्लीराज विष्ट र किरण विष्ट दोषी देखिँदैन त। कमाई खाने भाँडो मात्रै बनाउने होइन, सत्य समाचार दिनुहोस्।‘ 

तर, सबै दर्शक चौधरीजस्तै सचेत देखिँदैनन्। 

सञ्जु घलेले बम दिदीबहिनीलाई फाँसी हुनु पर्ने कमेन्ट लेखेकी छिन्। उनले जस्तै अधिकांशले बम दिदी बहिनीलाई सजाय दिनुपर्नेभन्दै अश्लील गालीसमेत गरेका छन्। 

सुबु मगर नामक प्रयोगकर्ताले त भिडियो डिसलाइक गर्ने सबै बलात्कारी हुन् भनेर ठहर गरेका छन्। लेख्छन्, ‘ती सबैलाई जेल चलान गर सरकार।’ 

निर्मलासित आत्मा र ज्योतिषको कनेक्सन

निर्मला जोडिएपछि जस्तो भिडियोको पनि भ्युज बढ्ने हुनाले युट्युबरहरुले ‘आत्मा’, ‘ज्योतिषको भविष्यवाणी’ भन्दै भिडियो बनाएका छन्।

‘निर्मला पन्तको आत्मा बोल्यो, यसरी बलात्कारीको नामै तोक्यो’ शीर्षकमा भ्वाइस अफ नेपाल नाम गरेको च्यानलले राखेको भिडियोमा दुबईबाट सबिता केसी भन्छिन्- ‘म आज निर्मलाको आत्मा बनेर आएकी छु।’ केहीबेर निर्मलाको हत्याबारे भूमिका बाँध्छिन् र कविता वाचन गर्न थाल्छिन्, जसमा बम दिदी बहिनीको घरमा के- के भएको थियो भन्ने घटना विवरण आफ्नै आँखाले देखे जसरी गरिएको छ।

त्यही कवितालाई ‘निर्मला पन्तको आत्माको व्यथा अहिलेसम्म भौँतारिँदै छ’ शीर्षक दिएर समेत राखिएको छ। यो भिडियोको थम्बनेलमा त निर्मलाको फोटोलाई फोटोसप गरी डरलाग्दो बनाइएको छ। कन्टेन्टमा पनि पटकपटक ‘हरर फिल्म’को फुटेज र डरलाग्दा फोटाहरु देखाइन्छ।

पछिल्ला केही दिनमा निर्मलाको हत्यारासँग जोडेर ज्योतिषीको अन्तर्वार्ताको भिडियोले पनि युट्युबमा भ्यु कमाइरहेको छ। यस्ता भिडियोको शीर्षकमा अपराधीको नाम भन्न सक्छु भनिएको हुन्छ तर भिडियोभित्र भने त्यस्तो हुन्न। 

पीडाको व्यापार 

भारतमा आमिर खानको प्रोडक्सनले एउटा फिल्म बनाएको थियो- पिपली लाइभ। यसमा पिपली नामको गाउँका एक गरीब किसान ऋणको पीडा खप्न नसकेर आत्महत्या गर्ने निर्णयमा पुग्छन्। यो कुरा एउटा स्थानीय रिपोर्टरले समाचार बनाउँछ। त्यसपछि एउटा सनसनीपूर्ण आत्महत्याको खबर लाइभ प्रसारण गर्ने होडमा मिडियाका बटालियन नै त्यो गाउँमा तैनाथ हुन्छन्। मानवीय पीडालाई मिडियाले कसरी व्यापारको माध्यम बनाउँछ भन्ने मार्मिक चित्रण फिल्ममा गरिएको छ। 

अहिले युट्युबका केही भिडियो हेर्दा त्यसकै छनक आउँछ। परिवार पीडामा छ। अपराधी पत्ता लागेको छैन। न्यायका लागि दबाब जारी छ। युट्युबरलाई भने निर्मलाको न्याय भन्दा भ्युजकै बढी चिन्ता देखिन्छ। त्यसैले युट्युबका विभिन्न च्यानलले निर्मला पन्तकी आमा दुर्गादेवी पन्त, सौतिनी आमा लक्ष्मीकुमारी र दिदी मनिषा पन्तलाई क्यामेरा तेर्स्याउँदै गीत गाउन र कविता वाचन गर्न उक्साइरहेका छन्। 

छोरी गुमाएको पीडाले दिएको घाउ आलै छ तर निर्मलाकी आमा र उनकी सौता दुवैले गीत सुनाउँछन्। पब्लिक आवाज नामक च्यानलले ‘निर्मलाको सम्झनामा आमा र सानी आमाले गाए, सबैलाई धुरुधुरु रुवाउने गीत’ शीर्षकमा अपलोड गरेको भिडियोमा करिब दुई लाख हिट्स छ।

निर्मलाकी दिदी मनीषाले स्कूल ड्रेसमा आफ्नी बहिनीको लागि लेखेको कविता वाचन गरेको भिडियो पनि यसैगरी सार्वजनिक भयो।  त्यसपछि विभिन्न युट्युब च्यानल उनको पछि लागे र अन्तर्वाता र कविता वाचन गर्न लगाएर अपलोड गरे। 

‘निर्मला पन्तको सम्झनामा आफ्नै दिदीले सुनाइन् मार्मिक गीत’

युट्युबमा यस्तै सामाग्रीहरु चर्चामा रहँदा सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’मा तेजेन्द्र गन्धर्वले ‘घटना’ बोलको गीत गाए। गीतमा उनले निर्मला पन्त तथा उनको बलात्कार र हत्याकाण्डबारे जानकारी दिए। गायक तथा कार्यक्रमको ‘कोच’ रहेका प्रमोद खरेलले शब्द दिएको उक्त गीतले पनि केही बेरमै पब्लिक सेन्टिमेन्ट छोयो। फेसबुक, ट्विटरमा भाइरल भयो। 

द भ्वाइसको अफिसियल युट्युब च्यानलमा यो गीतको भिडियो अपलोड भयो। हालसम्म भिडियो चार लाख ३५ हजारभन्दा बढीले हेरिसकेका छन्।

यसरी हुन्छ व्यापार

सात वर्षअगाडि गुगलले आफ्नो क्यास सर्भर नेपालमा नराखुन्जेल युट्युबका भिडियो हेर्नु र त्यसमा अपलोड गर्नु नै कठिन थियो। तर, त्यसपछि बिस्तारै युट्युब नेपालमा लोकप्रिय हुन थाल्यो। दुई वर्षअघिदेखि त युट्युबले नेपाली भाषामै कस्टमाइज्ड होमपेज सुरु गर्‍यो। नेपालमा धेरै हेरिएका भिडियोहरुको ट्रेन्डिङ लिस्ट राख्न थालियो। 

युट्युबमा दुई किसिमका भिडियो हुन्छन्- एउटा मनिटाइजेसन भएका, अर्को नभएका। मनिटाइजेसन भएका भिडियोहरु दर्शकले हेर्दा त्यसमा विज्ञापन देखिने गर्छ। विज्ञापनबाट आएको रकमको निश्चित प्रतिशत गुगलले भिडियो अपलोड गर्नेहरुलाई बाँड्छ। जति धेरै भिडियो हेरिन्छ, त्यति धेरै रकम आउँछ। युट्युबको कमाइ गुगलले नेपालमा चेक वा वेस्टर्न युनियन मनी ट्रान्सफरमार्फत् भिडियो अपलोड गर्नेलाई पठाउँछ। 

यही रकमकै लोभमा युट्युबको दुरुपयोग गर्नेहरुको जमात बढ्दो छ। सुरुमा नेपाली सर्ट मुभिज भन्दै अश्लील प्रकृतिका भिडियोहरु अपलोड गरेर पैसा कमाउन खोज्ने ट्रेन्ड थियो। अहिले त्यस्तो शैली करिब बन्द भइसक्यो। त्यसपछिभ ने सार्वजनिक चासोको विषयलाई सनसनीपूर्ण र भ्रामक शीर्षक राखेर पैसा कमाउने ट्रेन्ड बढ्दो छ।

युट्युबमा देखिने निर्मला पन्त जोडिएका भिडियो देख्दा पनि प्रष्ट हुन्छ- निर्मला काण्डबारे थाहा नहुने र सतही जानकारी राख्नेहरुमा कसरी भ्रम सिर्जना गराइरहेको छ र पीडितहरु कसरी अरुको व्याखपारिक स्वार्थमा प्रयोग भएका छन्। 

यसले तथ्य जानकारी सम्प्रेषण गर्ने युट्युब च्यानलहरुलाई पनि अप्ठ्यारो पारेको छ। 

‘सनसनीपूर्ण र गलत शीर्षक र जानकारी सम्प्रेषण गर्नेहरुले कसैको पनि मानहानी गर्न समय र मेहनत खर्चेका होइनन्। उनीहरुको लोभ नै पैसा कमाउने हो’, युट्युबमा ठूलोपर्दा टिभी सञ्चालन गर्ने जीवन पराजुली भन्छन्, ‘त्यस्ताले गर्दा हामीलाई पनि आम मान्छेले गलत तरिकाले हेर्न थालिसकेका छन्।’ 

सामाजिक एवं मनोरञ्जनात्मक विषयका भिडियो रिपोर्ट बनाउने एवं अन्तर्वार्ता लिने पराजुलीका अनुसार युट्युब भिडियो भन्नासाथ फेक जानकारी दिने स्रोत भनेर बुझ्नेको जमात बढिरहेको छ।

भन्छन्, ‘दर्शकले त हरेक जानकारीमा शङ्का गर्छन् नै, कलाकार पनि युट्युबका लागि भनेपछि अन्तर्वार्ताको लागि तयार हुन छाडिसके।’ 

युट्युबमा सेलिब्रिटीहरुसित रमाइलो अन्तर्वार्ता लिएर चर्चित ‘रमाइलो छ’ च्यानल सञ्चालक उत्सव रसाइली पनि निर्मलाको नाममा अपलोड गरिएका भिडियोहरुले भ्रम सिर्जना गरिरहेको स्वीकार्छन्। 

‘हामी युट्युब च्यानल संचालक नै त झुक्किन्छौं। जे पनि हेर्ने दर्शकमा झन् कस्तो भ्रम छरेको होला?’

 तोडमोड गरेर राखिएका हेडलाइन र थम्बनेलका कारण सही जानकारी दिनेमाथि समेत विश्वास गुमेकोमा उनी चिन्तित छन्। 

यस्तोमा दर्शक आफैले पनि कस्तो च्यानल हेर्ने, कस्तो सामाग्री बेवास्ता गर्ने भन्नेमा सचेत हुन आवश्यक रहेको तर्क उनको छ। 
भने, ‘एक दुई पटक हेरिएला। तेस्रो पटकदेखि अपलोडकर्ताको इन्टेन्सन बुझ्नु पर्छ। यस्तो संवेदनशील विषयमा भ्रामक जानकारी झनै हानिकारक बन्नसक्छ।‘

युट्युबको दुरुपयोग नेपालमा मात्र हैन, अन्य देशमा पनि भइरहेको छ। नेपालमा यसबारे बृहत् अध्ययन हुनु बाँकी नै छ। तर, सन् २०१३ मा एउटा जर्नलमा प्रकाशित अध्ययनको निचोड छ –  युट्युब मेडिकल सूचनाका लागि भरपर्दो स्रोत हैन। अध्ययनले उपलब्ध २७ प्रतिशत भिडियोले भ्रामक र खतरनाक सूचनाहरु प्रवाह गरिरहेको देखाएको थियो भने ५५ प्रतिशत भिडियोमा भने कुनै तथ्य र आवश्यक जानकारी नभएको देखिएको थियो।

युट्युबले आफैले पनि आफ्नो प्लेटफर्ममा दुरुपयोग भएको स्वीकार गरेको छ र सन् २०१८ को सुरुदेखि युट्युबले मनिटाइजेसनका लागि कडा शर्तको व्यवस्था गरेको छ। अब हजार सब्स्क्राइबर, १२ महिनामा ४ हजार घण्टा भिडियो हेरिएको हुनुपर्ने शर्त पूरा नगरी भिडियो मनिटाइजेसन हुँदैन।

युट्युबको नियमअनुसार गलत शीर्षक र थम्बनेल अपलोड गर्न पाइन्न। दर्शकले त्यस्तो गलत शीर्षक र थम्बनेल राख्ने भिडियोलाई रिपोर्ट पनि गर्न सक्छन्, रिपोर्ट भएमा युट्युबले त्यसैका आधारमा कारबाही पनि गर्न सक्छ। तर धेरैलाई यसरी पनि उजुरी गर्न सकिन्छ भन्ने थाहै छैन। 

चुनौति र जिम्मेवारी

टेलिभिजनको विकल्पका रुपमा प्रभाव जमाइरहेको युट्युबका भिडियो हेर्न पनि सजिलो छ। डेस्कटप वा ल्यापटप नभए मोबाइलबाटै पनि जुनसुकै ठाउँमा बसेर भिडियोहरु हेर्न सकिन्छ। 

टेलिभिजन जस्ता परम्परागत मिडियामाथि युट्युबरहरुले चुनौति त थपेका छन्, तर त्यस्ता मिडियाको समाजप्रतिको जिम्मेवारी पनि यी युट्युबरहरुले वहन गरिरहेका छन् त?

युट्युबहरुले रकमको लोभमा कुनै पनि घटनालाई सनसनीपूर्ण र अतिरञ्जित बनाएर बिना प्रमाण कसैलाई दोषी ठहर गरेर बनाएका हेडलाइन र भिडियोले त्यो हेर्ने दर्शकको दिमागमा जुन ‘इमेज’ स्थापित गरेको हुन्छ, त्यसलाई मेट्न सजिलो हुन्न। 

मनोविश्लेषक गोपाल ढकाल भन्छन्, ‘धेरै सोचेर त्यही कुरा सत्य मानेपछि माइण्डसेट बन्छ। अवचेतन मनमा त्यही सत्य हो भनेर गहिरो छाप पर्छ।‘ 

‘मानिसले आफूले विश्वास गरेको सत्य गलत नहोस् भन्ने चाहन्छ पनि। त्यही क्रममा आफूले विश्वास गरेको सत्य भन्दा विपरीत सत्य रहेछ भने पनि उसले सजिलै स्वीकार गर्दैन,‘ उनी भन्छन्। 

त्यस्तै मनोविश्लेषक बासु आचार्य पनि कुनै पनि कुरा अवचेतन मनले विश्वास गरेपछि त्यसको विपरीत सत्य मानिसले हतपत स्वीकार्न नसक्ने बताउँछन्।

‘फ्याक्ट होस् या फिक्शन अवचेतन मनमा गहिरोसँग त्यो कुरा सत्य भनेर बसेपछि अरुको कुरा विस्वास नगर्ने मानिसहरुको स्वाभाव हो। अझ तपाईँले विश्वास गरेको कुरा मिडियाले पनि सत्य हो भन्छ। ठूलो जमातले पनि त्यही सत्य हो भनिरहेको बेला एकाएक त्यो कुरा झुट भन्दैमा तपाई विश्वास गर्नुहुन्न।‘

युट्युबका भिडियोहरुले बम दिदीबहिनीलाई दोषी र लाश लिन टेम्पो आएको कुरालाई सत्यका रुपमा स्थापित गरेको उदाहरण सात समुद्रपारीबाट ‘निर्मलाको हत्या १०० प्रतिशत बम कै घरमा भएको हो’ भनी ठोकुवा गर्ने कर्ण गुरुङबाट लिन सकिन्छ। 

लाश लिन टेम्पो आएको कसैले देखेकै छैन, यो  ‘रे’ वाला हल्लामात्र हो भन्ने तथ्य गुरुङको अवचेतन मनमा गढेर रहेको ‘सत्य’ले स्वीकार्दैन। यस्ता भ्रमपूर्ण तथ्यले कसैको निजी जीवन र समाजमै कस्तो असर पारिरहेको छ? 

जसले यो भिडियो अपलोड गरेको छ, उसलाई यसको चिन्ता नहुनु स्वभाविक छ, किनभने यो भिडियोमा भएको भ्युज वापत् गुगलले ती अपलोडरलाई डलरको चेक पठाइसकेको होला, जसलाई नेपाली मुद्रामा कन्भर्ट गरेर उसले वेस्टर्न युनियन मनी ट्रान्सफरबाट भुक्तानी लिई खर्च पनि गरिसके होलान्। 

(सविन ढकाल र सागर बुढाथोकीको सहयोगमा)

१७) विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव

  • उमेश श्रेष्ठ/सविन ढकाल –

२४ वर्षअघि सन् १९९४, जुन १३ को मध्यरात लस एन्जल्समा निकोल ब्राउन र उनका ब्वाइफ्रेन्ड रोन गोल्डम्यानको शव भेटियो।

निकोलका पूर्वपति सेलिब्रिटी ओजे सिम्पसनलाई डबल मर्डरको चार्ज लाग्यो। उनको पक्राउदेखि उनलाई जुरीले सबै आरोपबाट सफाइ नदिएसम्मका ११ महिना यो केसको यति मिडिया कभरेज भयो कि यसलाई ‘ट्रायल अफ दी सेन्चुरी’का उपमा नै दिइयो।

यस केसमा सिम्पसनले आफ्ना लागि नामी वकिलहरुको एउटा समूह बनाए जसलाई मिडियाले ‘ड्रिम टिम’ को संज्ञा दिएको थियो। टिममा कन्सलट्यान्टको रुपमा डाक्टर डान क्रेनले काम गरेका थिए।

सिम्पसनको केसमा पनि डिएनएले निकै चर्चा पाएको थियो। यही केसका क्रममा डिएनए स्याम्पल ह्यान्डलिङको क्रममा भएको लापरवाही छताछुल्ल भयो। क्राइम सिनमा पाइएको स्याम्पलसित तुलना गर्न लिइएको सिम्पसनको रगतको नमूना प्रहरीका एक वैज्ञानिकले परीक्षणका लागि दिनुअघि एक दिनसम्म आफ्नै ल्याबको कोटमा राखेको खुल्यो। प्रहरीले क्राइम सिनमा नक्कली प्रमाण बनाएको र डिएनए प्रमाणलाई दूषित बनाएको आरोप लाग्यो।

त्यही केसमा जोडिएका डाक्टर क्रेन अहिले विश्वकै नाम चलेका डिएनए एक्सपर्ट मध्येका एक हुन्। अमेरिकाको राइट स्टेट युनिभर्सिटीका प्रोफेसर समेत रहेका उनले सन् २०१२ मा फरेन्सिक बायोमेट्रिक्स नामको कम्पनी खोले जसले विश्वभरबाट अहिलेसम्म सयौं डिएनए टेस्टको रिभ्यु गरिसकेको छ। 

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुग्न लाग्दा अझै पनि दोषी पत्ता लागेको छैन। तत्कालीन न्यायाधीश सुशीला कार्कीले शंकाको आधारमा डिएनए परीक्षणको रिपोर्टलाई नै अस्वीकार गरेको २०६७ सालको ‘कुख्यात फैसला‘पछि डिएनएको यति धेरै चर्चा भएको यो पहिलो ‘केस’ हो। 

हामीले नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको ०७५/०७६-सिपिइएसआई-४०२-(डि)डिएनए-१० र ०७५/०७६-सिपिएफएसएल-४०२(डि)-डिएनए-१० नम्बरका दुई रिपोर्टका आधारमा डिएनए एक्सपर्ट क्रेनसँग इन्टरनेटमार्फत् वार्ता गरेका थियौं। 

Y STR टेस्ट किन?

क्रेनका अनुसार बलात्कारको अनुसन्धानमा अक्सर Y STR नै परीक्षण गरिन्छ। किनभने, भेजिनल स्वाबको स्याम्पलमा धेरै परिमाणमा रहेका महिला डिएनएबाट पनि सानो परिमाणमा रहेको पुरुष डिएनएबाट डिएनए प्रोफाइलबारे जानकारी निकाल्न सकिन्छ।

प्रत्येक मान्छेको शरीरमा २३ जोडी क्रोमोजोम हुन्छ। त्यसमध्ये २२ वटा अटोजोम र एउटा सेक्स क्रोमोजोम हुन्छ। 

प्रत्येक क्रोमोजोममा एक-एक वटा डिएनए हुन्छ। 

सेक्स डिएनएमा दुई वटा हुन्छ। एउटा X, अर्को Y। पुरुषमा X र Y डिएनए हुन्छ भने महिलामा X डिएनएमात्रै हुन्छ। त्यसैले महिलाको योनीबाट निकालिएको स्याम्पलमा Y डिएनए भेटियो र त्यसको प्रोफाइलिङ गर्न सकियो भने पुरुष पत्ता लाग्छ।

निर्मलाको योनीमा भेटिएको पुरुष डिएनए कति जनाको?

क्रेनका अनुसार एउटै परिवारको आठ पुस्ता वा त्योभन्दा बढीसम्मको पुरुषको एउटै Y STR प्रोफाइल हुनसक्छ। 

Y क्रोमोजोम पुरुषको एउटै मात्र हुन्छ। दुई वा दुईभन्दा बढी पुरुषको Y क्रोमोजोमलाई मिक्स्ड Y STR को प्रोफाइलमा तथ्याङ्कको रुपमा अङ्क दिन गाह्रो हुन्छ। 

प्रहरीको रिपोर्टमा उल्लेख भएका तथ्याङ्क हेर्दा मिसिएको (दुई पुरुषको मिक्स्चर भएको) कुनै संकेत नदेखिएको क्रेनले बताए। 

पानीले पखाल्दा पनि डिएनए आउँछ?

निर्मलाको शवलाई पानीले पखालेको आरोप लागेको छ। घटनास्थलको फोटो हेर्दा शव फेला पर्दा योनीपट्टीको भाग पानीमा डुबेको अवस्थामा देखिएको छ। फोटो हेर्न क्लिक गर्नस्

हत्या भएको करिब २४ घण्टापछि मात्रै पोस्टमार्टमका लागि लग्दा डाक्टरहरुले योनीभित्रबाट भेजिनल स्वाबका तीन वटा नमूना निकालेका थिए। 

यस्तो अवस्थामा डिएनए ‘डिग्रेडेसन’ हुने सम्भावना कत्तिको हुन्छ?

क्रेनका अनुसार डिएनए डिग्रेडेसन हुने कारणहरु धेरै हुन्छन्- जसमा तापक्रम र आद्रतास्तर (मोइस्चर लेभल) ले पनि असर गर्छ। 

‘तर, एकदमै खराब अवस्थामा पनि डिएनए लामो समयसम्म रहन सक्छ। डिएनएको सबअप्टिमल क्वान्टिटी र क्वालिटीमा केही डिग्रेडेसनका संकेत देखिए पनि तपाईँले पठाउनु भएको रिपोर्ट हेर्दा झण्डै झण्डै पूर्ण Y STR प्रोफाइल आएको छ,’उनले भने। 

डिग्रेडेसनको संकेत कसरी थाहा पाउने?

रिपोर्टमा १६ वटा लोकीमध्ये एउटा स्याम्पलबाट चार वटाको तथ्याङ्क आएको छैन। अर्को स्याम्पलबाट भने एउटाको मात्र नआई १५ वटा लोकीको आएको छ। 

दुईवटै टेस्टबाट विभिन्न लोकीको एउटै तथ्याङ्क आएकोप्रति पनि इंगित गर्दै उनले भने, ‘प्रमाणका रुपमा ल्याइएको नमूनाबाट राम्रो जानकारी निकालिएको छ। 

कसको डिएनए हो त त्यो?

क्रेनले प्रहरीको रिपोर्टमा डिएनए प्रोफाइलको उपस्थिति देखाए पनि एभिडेन्स स्याम्पलसित डिएनएको सम्बन्धको समय (टाइमफ्रेम) र कारण (सर्कुम्सटेन्सेज) बारे केही उल्लेख नभएको औंल्याए। 

त्यसो भए यो रिपोर्टका आधारमा निर्मलाको योनीमा भेटिएको पुरुष डिएनए कसको हुनसक्छ त?

‘पीडितसित उनको मृत्यु हुनु केही घण्टाअघि वा केही दिनअघिसम्म सेक्स गरेको भए पनि यस्तो रिपोर्ट आउन सक्छ,’ उनले भने। 

क्रेनका अनुसार भेजिनल स्वाब संकलनको समयमा वा त्यसपछि दूषित (कन्टामिनेसन) भएको अवस्थामा पनि यस्तो देखिन सम्भव छ।

अर्थात्, भेजिनल स्वाबमा कुनै पुरुषको डिएनए थिएन तर त्यसलाई संकलन गर्दा, त्यसलाई धनगढी एयरपोर्टसम्म गाडीमा पठाउँदा, विमानमा राख्दा, विमानबाट काठमाडौं ल्याउँदा, काठमाडौं विमानस्थलबाट सामाखुशीस्थित प्रहरीको ल्याबमा लग्दा र ल्याबमा खोलेर रिपोर्ट निकाल्दासम्मको चरणमा कुनै पुरुषले छोएर पनि यस्तो आएको हुनसक्ने सम्भावना छ। 

यस्तो भएको शंका लागेमा ती सबै चरणमा स्याम्पल छुने सबै पुरुषको डिएनए परीक्षण गरी हो कि होइन यकिन गर्न सकिन्छ।   

दीलिपसिंह विष्टको आठ वटा मिलेको छ, दोषी हुनसक्ला?

निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाबबाट तयार भएको Y STR का १६ वटा जेनेटिक लोकस/मार्करमध्ये प्रहरीले अभियुक्तका रुपमा खडा गरेका दीलिपसिंह विष्टको आठ वटा मिलेको छ। के उनी दोषी हुनसक्लान्?

क्रेन भन्छन्, ‘एउटा मात्रै मार्कर नमिले पनि उसलाई एक्सक्लुड गर्नुपर्ने हुन्छ। यहाँ त आठ वटा मिलेको छैन। त्यही भएर न विष्ट, न उनका कुनै नजिकका नातेदार निकालिएको डिएनए प्रोफाइलको स्रोत हुनसक्छन्।’

चक्र बडुको १३ वटा मिलेको थिएन। त्यसैगरी एसपी विष्ट बाबु-छोराको ११ वटा र आयुष विष्टको पनि ११ वटा मिलेको थिएन। थप जानकारी हेर्नुस्- #WhoKilledNirmala शृङ्खला १४

भेजिनल स्वाबबाट निकालिएको डिएनए प्रोफाइल पर्याप्त छ?

डिएनएको सबअप्टिमल क्वान्टिटी र क्वालिटीमा केही कमी भए पनि उनका अनुसार प्रमाणको स्याम्पलका रुपमा संकलित भेजिनल स्वाबबाट फरेन्सिक सेटिङमा निकै सहयोग पुग्ने गरी पर्याप्त जानकारी भएको डिएनए प्रोफाइल तयार भएको छ। 

प्रहरीले आफ्नै भूमिकामा प्रश्न उठेको अवस्थामा पनि भेजिनल स्वाबको स्वतन्त्र ल्याबमा नगरी आफ्नै ल्याबमा परीक्षण गरेको छ। जनताको विश्वास जित्न अब के गर्नुपर्ला? पुनः परीक्षण?

स्याम्पल नै मिसह्यान्डल गरिएको हो भने पुनः परीक्षणले कुनै महत्त्वपूर्ण सहयोग नगर्ने क्रेनको राय छ। यस्तो अवस्थामा के गर्न सकिन्छ त?

क्रेनले सुझाएका उपाय यस्ता छन्-

•    स्वतन्त्र विज्ञहरुको समूह बनाउने
•    उनीहरुले ल्याबको टेस्ट रिजल्ट र टेस्टिङ ल्याबको केस फाइललाई स्वतन्त्र रुपमा समीक्षा गर्ने
•    के केको समीक्षा गर्न सकिन्छ? इलेक्ट्रोफेरोग्राम्स, बेञ्च नोटहरु, डिएनए क्वान्टिटेसन रिजल्ट, टेस्टिङ ल्याबको स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर र इन्टरप्रिटेसन गाइडलाइनहरु सबै समीक्षा गर्नुपर्छ। 

भेजिनल स्वाब कन्टामिनेसन भएको छ कि छैन थाहा पाउनलाई यी सब समीक्षा गर्नुपर्ने उनको भनाई छ। 

के चार्टको गलत व्याख्या गरेर नम्बर राखेको हुनसक्ला?

परीक्षण गरिएका १६ वटा जेनेटिक लोकस/मार्कर एलिलहरुको नम्बर गलत व्याख्या गरेर १३ को ठाउँमा १४ वा १२ राखेको हुनसक्ने कतिको सम्भावना छ? किनभने मेसिनबाट यो निस्कँदा नम्बरको रुपमा नभई चार्टको रुपमा आउँछ।

यो शंका उठे इलेक्ट्रोफेरोग्रामको चार्ट नै हेर्नुपर्ने उनी सुझाउँछन्। तर, रिपोर्टमा एलिल्सको टेबल हेर्दा गलत व्याख्या हुनसक्ने सम्भावना तुलनात्मक रुपमा निकै कम भएको उनी बताउँछन्। 

डा. क्रेनले सय वटाभन्दा बढी त्यस्ता क्रिमिनल ट्रायलमा विज्ञ साक्षीको रुपमा अदालतमा बयान दिएका छन्, जसमा डिएनए प्रमाणका रुपमा राखिएको थियो। 

५० वटाभन्दा बढी पियर रिभ्यु गरिएका पेपर प्रकाशन गरेका क्रेनका अधिकांश पेपर फरेन्सिक डिएनए टेस्टिङ, त्यसमा पनि अनुसन्धानका लागि सहयोग हुने गरी डिएनए प्रोफाइल जेनेरट गर्ने र डिएनएको संवेदनशीलताको विषयमा छ।  निर्मलाको केसमा डिएनएसम्बन्धी निकै प्रश्न प्राविधिक रुपमा पनि उठेको कारण हामीले विश्वका डिएनए विज्ञहरुसित सल्लाह गर्ने क्रममा क्रेनसित सम्पर्क भएको हो। 

यहाँ हामीले उठेका प्राविधिक पक्षको प्रश्नलाई कसरी हल गर्न सकिन्छ भनी उनले दिएका सुझाव पनि समेटेका छौँ। 

के निर्मलाको भेजिनल स्वाबमा जुन पुरुष डिएनए भेटियो, त्यसको आधारमा केही पत्ता लगाउन सकिन्छ त? 

उनका अनुसार जिनिलोजिकल डेटाबेस सर्च गरेर नातेदार पत्ता लगाउन सक्ने सम्भावना हुन्छ, रेसियल ब्याकग्राउन्ड पनि पत्ता लगाउन सकिन्छ। 

‘म जनवरीदेखि नयाँ क्लास सुरु गर्दैछु। तपाईँ चाहनु हुन्छ भने मेरा विद्यार्थीलाई यसबारे खोज्न लगाउँला नि त’, उनले कुराकानीको बिट मार्दै भने। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *