#WhoKilledNirmala

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि

उमेश श्रेष्ठ

तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८ साल ताका लाजिम्पाटमा रहेको आफ्नै छापाखानाबाट नेपालभाषाको दैनिक पत्रिका ‘राजमति’ चलाउँथे। पत्रिकामा एउटा स्तम्भ थियो – ‘प्रतिभा परिचय’।

यसै स्तम्भको एउटा श्रृंखलामा दुई दिदी बहिनीको तस्बिर छापियो – अमृत क्याम्पसका प्रतिभाशाली छात्रा भन्दै। कोलकातामा महावाणिज्यदूत रहेका माधवराज भण्डारीका यी दुई छोरी पद्मरत्नको पत्रिकाबाट सार्वजनिक भए। यी तिनै दिदी बहिनी हुन् जोसँग एउटा नसुल्झिएको गुत्थी छ।

र, जबजब बलात्कार र हत्याका घटनामा दोषी पहिचान हुँदैन यी दुवैका नाम फेरि स्मरण गरिन्छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यापछि फेरि धेरैले यी दुईको नाम र घटना सम्झिए – नमीता-सुनीता बलात्कार र हत्या, अपराधी अज्ञात!      

चार वर्ष भारतमा पढेर आएका नमीता र सुनीता स्मार्ट थिए। अङ्ग्रेजी राम्रोसँग बोल्ने पनि। ठमेलको अमृत साइन्स क्याम्पस पढ्दै गरेका उनीहरुका बारेमा छापिएको सामग्री धेरैका लागि प्रेरणाको स्रोत पनि बन्थ्यो। तर, केही आपराधिक मानसिकता भएका ‘आवारा’हरुका लागि पत्रिकामा छापिएको त्यही विवरण सिकारको आधार बन्यो। 

माधवराज भण्डारीको घर लाजिम्पाट। घर नजिकै थियो – शंकर होटल। होटलका संचालक राम श्रेष्ठ राष्ट्रिय पञ्चायत सदस्यसमेत थिए। उनका छोरा विनोदशंकर भने त्यतिखेर ‘आवारा’ मानिन्थे। ‘त्यो पत्रिका शंकर होटलमा पनि पुग्थ्यो,’ नमीता सुनीता काण्डमा लामो अनुसन्धान गरेका पत्रकार किशोर श्रेष्ठ भन्छन्, ‘सबै कुराले केटीहरू नोटिसमा भए। यिनीहरुलाई शिकार बनाउनु पर्छ भनेर प्लान बनाएर लागेको हुनुपर्छ।’

भएको थियो के?

२०३८ साल जेठ १८ गते काठमाडौंबाट आएको एउटा नीलो कार पोखराको ब्यारेकभित्र पस्यो। त्यतिबेला कास्कीका प्रमुख जिल्ला अधिकारी सूर्य सेन ओलीले आफ्नो आत्मकथामा लेखेअनुसार बा अ ११३२ नम्बरको त्यो नीलो कारमा विनोदशंकर श्रेष्ठ र राजु राणा आएको चर्चा थियो। त्यसको ठीक दुई दिनअघि काठमाडौंबाट पोखरा छुटेको एउटा बसमा तीन किशोरी थिए र उनीहरुलाई पछ्याइरहेका दुई युवक पनि।  

 ‘जेठ १६ गते दुईजना केटाहरू काठमाडौंबाट नमिता, सुनिता, नीरा (पराजुली) आएकै बसमा आए। बाटोमा ती केटीहरूलाई बिस्कुटहरू पनि दिँदै, पोखरामा कहाँकहाँ घुम्ने – कहाँ बस्ने – सोध्दै आए,’ ओलीले लेखेका छन्, ‘१७ गते उनीहरू बसेको ठाउँ वरिपरि टहल्लिएर फर्किएका पनि थिए।’

काठमाडौंदेखिको ‘प्लान’ पोखरामा पुगेर पूरा हुँदै थियो। बसमा आएका केटाहरुले यी तीन युवतीमाथि लगातार ‘रेकी’मात्र गरेनन् नीलो कारमा आएकासँग भेटको चाँजोपाँजोसमेत मिलाउन सफल भए। जेठ २४ गते नमीता, सुनीता र नीरा तीनैजना पोखरा बजार ब्यारेकमा उनीहरुको निम्तालु बनेर पसेको र कहिल्यै नफर्केको चर्चा भयो। यसपछि पालैपालो उनीहरूको लाशमात्र फेला पर्न थाल्यो। पहिले नमीता अनि सुनीताको शव भेटियो।

त्यसपछि घटनाका प्रत्यक्षदर्शी ठानिएका वनपाले चुडामणि अधिकारीको पनि लाश भेटियो। नमीता, सुनीतासँगै पोखरा पुगेकी नीराको भने लाश भेटिएन। घटनाको पाँच महिनापछि भेटिएको एउटा लाश नीराको शंका गरियो। अहिले जस्तो डिएनएको प्रविधि नभएकाले यकिन भएन। 

हाइ प्रोफाइल हत्याले सनसनी

न मोबाइल, न सामाजिक सञ्जाल, न अहिले जस्ता मिडिया- सञ्चारका साधन कम भए पनि काठमाडौँबाट गएका तीन किशोरीहरु पोखरामा हराएको खबरले काठमाडौँमा सनसनी फैलिसकेको थियो। सरकारी सेवाका प्रभावशाली कर्मचारीमात्र हैन, तत्कालीन अर्थमन्त्री यादवप्रसाद पन्तका सम्धीसमेत भएकाले नमीता-सुनीताका बाबु माधवराजले छोरीहरु खोज्नका लागि निकै ‘पावर’ लगाए।   

वैशाख २९, २०३८। 

हराएको पाँच दिनपछि सेती नदीको किनारमा एउटा लाश फेला पर्‍यो। टाउको पूर्व फर्किएको र शरीर उत्तानो अवस्थामा। प्याजी रङ्गको पाइजामा (पञ्जाबी पोशाक) थियो भेटिएको शरीरमा। कम्मरमाथि लगभग निर्वस्त्र। शवको घाँटीमा झुण्डिरहेको ब्याग, दुवै दिदी–बहिनीका परिचयपत्र, सुनको लकेट फेला परेपछि माधवराजले सनाखत गरे – कान्छी छोरी नमीता। 

अर्की छोरी सुनीताको अत्तोपत्तो थिएन। शव भेटिएकै दिन पोष्टमार्टमका लागि गण्डकी अञ्चल अस्पतालका सुपरिटेण्डेन्ट डा. कुमारसमशेर राणा तयार भएनन्। भोलिपल्ट मात्रै पोष्टमार्टम गरियो। रिपोर्टमा ‘पानीमा डुबी श्वास लिन नसकी मरी’ भन्ने भाषा प्रयोग गरिएको थियो।

***
नमीताको शव फेला परेको ९ दिनपछि असार ६ गते, नमीताको लाश भेटिएभन्दा थोरै तलमात्र नदी किनार अर्को शव फेला पर्‍यो। घोप्टो परेर ढलेको अवस्थामा भेटिएको शवमा कलेजी रङ्गको हाफ – बाहुले कुर्ता र तल्लो भागमा कालो बुट्टे अण्डरवेयर थियो। त्यो शव थियो नमीताकै दिदी सुनीताको। 

‘सुनीताको लाश नदीको छेवैमा फेला पर्दा उनको शरीरमा सुरुवाल थिएन, अण्डरवेयर दोब्रिएको थियो, घाँटीमा कालो (सल) चुनीले बेस्कन कसिएको थियो। छेवैमा लामो बाँस थियो,’ किशोर श्रेष्ठ आफ्नो पुस्तकमा लेख्छन् – ‘यसले के पुष्टि हुन्छ भने सुनीतालाई घटनास्थलबाटै उठाएर लगी कतै सामूहिक बलात्कार गरियो। पोल खुल्ने डरले उनकै चुन्नी (कुर्ता, सुरुवाल लगाउने केटीहरुले घाँटीमा प्रयोग गर्ने पातलो कपडा) ले घाँ“टी कसेर हत्या गरियो। हत्यापछि लाशलाई बोकेर ल्याई थपक्कसँ“ग त्यहाँ राखियो। अथवा यसो पनि भन्न सकिन्छ, लाश त्यसरी राखेर अपराधीहरुका तर्फबाट सुनीताका अभिभावकमाथि ‘दया’ देखाइयो।’

‘सुनीताको शवको पोष्टमार्टम रिपोर्टमा सिभिल सर्जन डा. कुमार समशेर र मेडिकल अफिसर बृजकिशोर प्रसादले लेखे – ‘घाँ“टीलाई दोपट्टाले बेरी श्वास लिन नदिएर मारेको देखिन्छ।’

***

दिदी बहिनी दुवैको शव भेटियो। तर, हत्यारा भेटिएनन्। घटनाको सुराक दिनेलाई ५ हजार रुपैयाँ इनामको घोषणा प्रशासनले गरे पनि त्यसको प्रभाव परेन। दुई सन्तान गुमाएका बाबु माधवराज भण्डारीलाई प्रशासनको पारा देखेर दिक्क लाग्नु स्वभाविक थियो। उनी आफ्नै किसिमले खोजपड्तालमा जुटे। 

पृथ्वीनारायण क्याम्पसमुनि सेती नदीको खोंचबाट निकालिएको नमीताको शव र त्यसको प्रकृति हेर्दा घटना नजिकै कतै भएको अनुमान लगाउन सकिन्थ्यो। वारि क्याम्पस र पारी फूलबारी। फूलबारीबाट लाश भेटिएको ठाउँ प्रष्टसँग देख्न सकिन्थ्यो। फूलबारी डुल्ने क्रममा असार ३ गते माधवराजले एउटा महत्वपूर्ण सूत्र पाए – वनपाले चूडामणि अधिकारी।

अधिकारी प्रायःजसो कार्यालय समयपछि खाना खानका निम्ति क्याम्पसमुनिको काठेसाँ“घु तरी सेती पार गरेर घर जान्थे र खाना खाएर त्यसरी नै फर्कन्थे। साँ“झ–बिहान नियमित ओहोर–दोहोर गरिरहने चूडामणिले पृथ्वीनारायण क्याम्पसमुनि घटेको घटनालाई नजिकैबाट देखेको हुनसक्ने अनुमान थियो।  

माधवराजले चूडामणिलाई भेटेर वास्तविकता बताउन अनुरोध गरे। कुरा भइरहेकै थियो, अकस्मात् दुईजना प्रहरी त्यहाँ पुगे। चूडामणिसहित माधवराजलाई समेत डीएसपी कार्यालय लगे। कारण केही बताइएन। इन्स्पेक्टर बाबुराम पुनले चूडामणिलाई साँझसम्म थुनिराख्ने आदेश दिए। पछि चूडामणिलाई ‘भोलिपल्ट दश बजे हाजिर हुन आउने’ भन्दै बिना सोधपुछ डीएसपी कार्यालयबाट छोडियो। 

साँझ चूडामणि घर फर्किए। भोलिपल्ट बिहान ९ बजे चूडामणिले हातमा बाँधेको घडी फुकाले। श्रीमतीलाई दिए, पस्किएको भात खाए र हिँडे। प्रत्यक्षदर्शीले उनलाई सधैं हिँ“ड्ने छोटो बाटो नहिँ“डिकन ब्यारेकतिरको बाटोबाट हिँडिरहेको देखेका थिए। उनी पनि त्यसपछि कहिल्यै फर्किएनन्।

सुनीताको लाश भेटिएको ६ दिनपछि असार १२ गते रामघाटमा अर्को लाश फेला पर्‍यो। त्यो लाश उही वनपाले चूडामणि अधिकारीको थियो। श्रीमती टीकादेवीले एकफेर लाश हेर्न पाइन्। किशोर श्रेष्ठको पुस्तकमा उल्लेख छ – ‘लोग्नेको हातको बूढी औंला भाँच्चिएको थियो, कोखामा एक रुपैयाँ“ (डबल) जत्रो प्वाल थियो, खुट्टामा एउटा चप्पल थियो, भर्खरै हातमा बाँ“धेको डोरो पनि केही भएको थिएन, शरीरचाहिँ“ कालै भइसकेको थियो।’ 

केन्द्रीय गुप्तचर विभागका मुख्य अधिकृत चाँदबहादुर राई र अञ्चलाधीश गणेशमान श्रेष्ठ ‘राम्रोसँ“ग’ पोष्टमार्टम गरिदिने अनुरोध लिएर चिप्लेढुङ्गास्थित डा. कुमारको क्लिनिकमा गए। नमीता–सुनीताको पालामा झैं यसपटक पनि डाक्टरले भोलिपल्ट पोष्टमार्टम गर्ने भन्दै राई र श्रेष्ठलाई फर्काइदिए। भोलिपल्ट – ‘कुहेको, तिघ्रा भाँच्“चिएको र आन्द्राभूँडी नभएको हुनाले पोष्टमार्टम गर्न नसकिएको’ भनियो।

चूडामणिको शरीर परिवारलाई जिम्मा नदिइकन हतारहतार जलाइयो। लाश जलाउनुभन्दा केही घण्टाअघि उनको शरीरबाट कमीज गायब पारियो।

सिरियल किलिङको घटनाले सिङ्गो देश तात्तिएको थियो। हत्याविरुद्ध विशाल प्रदर्शनहरु भइरहेका थिए। सरकारले भदौ १७ गते कास्कीको सिडिओलाई फिर्ता बोलाएर सूर्यबहादुर सेन ओलीलाई खटायो। चूडामणिको शव फेला परेको ५ महिनापछि असोज ४ गते सेती त्रिवेणी नजिकै बोरामा एउटा पुरानो शव फेला पर्‍यो। शव महिलाको भन्ने त चिनियो तर उमेर र मृत्युको कारण खुलेन। ओलीले आफ्नो पुस्तकमा त्यो शव नीरा पराजुलीको हुनसक्ने लेखेका छन्। 

***
प्रतिध्वनि साप्ताहिकका रिपोर्टर किशोर नेपाल घटनाको स्थलगत रिपोर्टिङ गर्न घटनालगत्तै पोखरा पुगेका थिए। त्यहाँ स्वतन्त्र भएर रिपोर्टिङ गर्न सजिलो थिएन। ‘रिपोर्टिङ गर्न म जहाँ-जहाँ जान्थेँ, उनीहरु चारैतिरबाट घेर्थे। पिटपाट गरौँला झैँ गरेर प्रस्तुत हुन्थे,’ घटनाबारे नेपालले बताए, ‘तँ किन आइराको यहाँ भन्थे। यहाँ कसैले केही गरेको छैन, पोखरा सुरक्षित ठाउँ हो भन्थे।’

नेपालका अनुसार त्यतिबेला पोखरा पुग्नै कठिन थियो। मुग्लिङ पुग्नै दिनभर लाग्थ्यो। त्यहाँबाट पनि पोखरा अझै टाढा। ‘रिपोर्टिङमा जाँदा त्यहाँका केही मानिसले मलाई नै खेदे,’ उनले भने।

प्रतिकूल परिस्थितिकै बीच उनले पोखराबाट हत्याकान्डसम्बन्धी रिपोर्टिङ गरे। प्रतिध्वनिमा एक अङ्क लामै डिटेल रिपोर्ट छापियो, उनकै बाइलाइनमा। घटनाको दोस्रो रिपोर्ट पनि उनले पठाए। तर, छापिएन। 

‘पब्लिसरलाई पनि अप्ठेरो परेको जस्तो लाग्छ त्यतिबेला,’ नेपाल सम्झिन्छन्।

उनले त्यहाँका स्थानीय साथीहरुसँग बुझे। ‘उनीहरुले मलाई भने – हेर बाबु, यो पत्ता लाग्दैन। पार लाग्दैन,’ नेपालले भने। त्यसपछि उनी पोखराबाट फर्किए।     

***
घटनाको १० वर्षपछि यही विषयमा खोजी गर्न अर्का पत्रकार पोखरामा उत्रिए। उनको नाम पनि किशोर नै थियो – किशोर श्रेष्ठ। घटना हुँदा उनी चार कक्षामा पढ्ने १२ वर्षका। 

‘आजैजस्तो लाग्छ यो काण्डमा संलग्न ठूलाठालूहरुमाथि कारबाहीको माग गर्दै स्कूले हामी भुराहरुले बजारभरि वालिङ, पोष्टरिङ गर्दै हिँडेको,’ उनी सम्झन्छन्। 

हाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष रहेका किशोरले पुरानो कुरा सम्झँदै भने, ‘२०४६ सालको जनआन्दोलनपछि राजा र राजदरबारबारे पनि केही लेख्न सकिने भयो। त्यसपछि अब केही त गर्नुपर्ने भयो भन्ने लाग्यो। सोच आयो क्राइममा नै केही लेख्नुपर्छ। पुराना घटना के भएका रहेछन् भनेर हेर्न थालेँ। एउटा घटनाले क्लिक गर्‍यो – नमीता-सुनीता हत्या प्रकरण।’ 

२०४८ सालमा उनी पोखरा पुगे। लाश भेटिएको ठाउँ सेती खोँच हेरे। जहाँ नमीता सुनीता भिडियो हेर्न गएका भनिएको थियो, त्यो ठाउँ हेरे। घटनास्थलको अध्ययन र केही व्यक्तिलाई भेटेर उनी काठमाडौं फर्किए। 

उनी भन्छन्, ‘घटना हुँदा अञ्चलाधीश गणेशमान श्रेष्ठ हुनुहुन्थ्यो। उहाँबाट केही जानकारी लिएँ। गुप्तचर लगायत घटनामा जोडिएका व्यक्तिलाई भेटेँ। कुमार उपाध्याय लगायत पुराना मानिसहरुलाई भेट्दै गएँ।’

धेरैजनासँगको भेटपछि दृष्टि साप्ताहिकमा घटनाबारे रिपोर्टिङको सिरिज सुरु भयो।

हरेक हप्ता नमीता-सुनीता हत्याकान्डबारे उनका खोजमूलक समाचार दृष्टिको एउटा पूरा पेजमा छापिन्थ्यो। यसैबारे उनले ‘दरबार कान्डपछि दबाइएको अर्को हत्याकान्ड’ पुस्तक लेखे, जसले यो घटनालाई विस्तारमा लिपिवद्ध गरेको छ। 

*** 

‘ती राँ*हरु मर्दा के! राँ*हरुको चिलाउँदा हाम्रो सिडिओको सरुवा भयो’

नमीता – सुनीता हत्याकान्डबारे जानकारी दिने अर्को एउटा पुस्तक पनि छ सूर्यबहादुर सेन ओलीको आत्मकथा। घटनाको तीन महिनापछि कास्की जिल्लाको सिडिओलाई सरुवा गरेर उनलाई पठाइएको थियो। खटिएको भोलिपल्ट सरुवा हुन लागेका सिडिओ पद्मराज सुवेदीसँग विन्दवासिनी मन्दिर दर्शन गर्न जाँदा त्यहाँका पूजारी रुद्रनाथ बाहुनले भनेको भन्दै उनको आत्मकथामा उद्धृत गरिएका शब्द हुन् माथिका। उनले आत्मकथामा लेखेका छन्- ‘यसैबेलादेखि नमीता-सुनीताको हत्यामा त्यस बाहुनप्रति मैले अनुसन्धान सुरु गरेँ।’ 

***

पोस्टमार्टमको गडबड

ओलीले आत्मकथामा पोस्टमार्टममाथि प्रश्न गरेका छन्। शव बरामद गर्दाको प्रहरी मुचुल्का र अस्पतालको पोष्टमार्टम प्रतिवेदन बाझिएको उनको दावी छ। उदाहरणसहित उनले लेखेका छन् – ‘प्रहरीको प्रकृति मुचुल्कामा सुनीताको योनीबाट रगत निस्केको, च्यातिएको भन्छ भने पोष्टमार्टमले माछाले खाएको भन्छ। खाएको माछाले नै हो भन्ने डाक्टरलाई थाहा हुने कुरा हैन! साथै, माछाले खाएको भए मृत्युपछि खाएको हुनुपर्छ र मृत्युपछि खाएकोमा रगत आउनुपर्दैन।’ 

‘चूडामणिको प्रकृति मुचुल्कामा काखीमुनि एकातिर पाँच पैसा छिर्ने प्वाल अर्कोतर्फ लोटा छिर्ने भ्वाङ्ग भन्छ भने, पोष्टमार्टममा गिद्धले खाएको भ्वाङ भन्छ। गिद्धले नै खाएको भन्ने डाक्टरले थाहा पाउने कुरा हैन। साथै, शवको शरीरको अन्त पनि गिद्धले खाएको हुनुपर्ने – छैन।’ 

गोली हानेकै देख्ने प्रत्यक्षदर्शी

ओलीले आफ्नो आत्मकथामा चूडामणिलाई गोली हानेकै देख्ने एक महिला प्रत्यक्षदर्शी रहेको समेत लेखेका छन्। ती महिलालाई उदृत गर्दै उनले लेखेका छन् ‘असार ५ गते साँझ भोल्गाजस्तो रसियन जीपमा राखी सैनिकले बन्दुक तालिम गर्ने ठाउँमुनि लगी पेस्तोलले हानी चूडामणिलाई मारी सेती नदीमा फालेका हुन्। त्यसरी हत्या गर्ने प्रहरी ४ जना हुन्। हवल्दार कृष्ण बहादुरलाई चिन्दछु। अरूलाई चिन्दिनँ। अरू कृष्णबहादुरबाट खुलोस्।’

यति जानकारी पाएपछि उनी काठमाडौं आए र गृह सचिवलाई घटना विवरण सुनाए। हवल्दार कृष्णबहादुरबाट नमिता, सुनिताको हत्या पत्ता लाग्ने जानकारी दिए।

खासमा उनी प्रधानमन्त्री सूर्यबहादुर थापालाई भेट्न काठमाडौँ आएका थिए। थापाले सुरुमा भेटै दिएनन्। बरु दरबारका प्रमुख सचिव रञ्जनराज खनालले उल्टै सचेत गराए,  ‘सतर्क हुनू, हत्याराले तपाईंलाई पनि मारिदेला। एक जनालाई मार्नेले अरूलाई पनि मार्न सक्छ …। तपाईंलाई पनि मार्ला है बच्नुस्।’

त्यही क्रममा उनलाई फोनबाटै अपरिचितले धम्क्याए। उनले लेखेका छन्, ‘बिहान ६ बजे नै फोन आयो – कहाँ कताबाट को बोलेको भन्ने परिचय नदिइकन भन्यो – ‘सिडीओ हो?’

‘मैले भनेँ – ‘हो, म सिडीओमा काम गर्ने मान्छे बोल्दैछु’। 

उसले ‘ए। तँ सिडीओ, फूर्ती नगर है तैँले, जे गरिस्, यत्तिमा बस। अरू अगाडि बढिस् भने तेरो या त यहाँ बसाइ छैन, या खैरियत छैन। कुरो आफै बुझ। अगाडि नबढ !’ भन्यो।’

भिआइपी कनेक्सनले ज्यान जोगाउनै मुश्किल

घटनालाई डिटेलमा अध्ययन गरेका किशोर श्रेष्ठ भन्छन्- नमीता-सुनीता आफै पावरफूल परिवारका सदस्य थिए। उनले उनीहरुको घर चहारे। नजिकको वातावरण र मानिसका आवत जावतको अवस्था बुझे। 

नमीता-सुनीता पढेको अस्कल कलेज। राजाका सालो उदयशमशेरको घर पनि नजिकै। माधवराज  भण्डारी र राजाको एडिसी  शान्तकुमार मल्लको घर पनि सँगै। प्रधानमन्त्री निवास बालुवाटार पनि त्यहीँ। महावाणिज्यदूत भएर चार वर्ष माधवराज कलकत्ता (कोलकाता) बस्दा उतै पढेका छोरीहरू। 

‘सबै अध्ययन गरेपछि मैले शङ्काको घेरा नम्बर एक, दुई, तीन भनेर लेखेँ। त्यतिखेर अहिले जस्तो फोन ट्रयाकिङ, फिङ्गर प्रिन्ट, डिएनए गर्ने अवस्था थिएन। जे देखियो, त्यो अनि मानिसको बयान र सर्कम्सटेन्सेजहरुका आधारमा लेखेँ,’ श्रेष्ठले त्यतिखेर रिपोर्टिङ गर्दाको अवस्था सम्झिए, ‘यस्तो काम ठूलो ग्याङ नभई सम्भव छैन भन्ने लाग्यो। सीधै प्वाइन्ट आउट गर्न सकिने स्थिति थिएन तर जति सकियो, मैले निष्पक्ष हिसाबले न्याय गर्ने हिसाबले लेखेँ।’ 

‘त्यतिबेला ज्यान जोगाएर हिँड्न मुस्किल थियो। टेलिफोनमा कलर आइडी (टेलिफोनमा कल गर्नेको नम्बर देखिने प्रविधि) थिएन। थर्काउँदै ल्यान्डलाइनमा फोन आउँथ्यो घरमा। उनलाई फोनमा भन्थे, ‘आज थापाथली पुल कट्न पाउँदैन, दाउरा ठीक पारेर राख।’ 

‘अफिसमा फोन गरेर कति बेला आउने कति बेला जाने सबै हामी वाच गरिरहेका छौँ भनेर धम्की आउँथ्यो। सानैदेखि अखिलको राजनीति गरेकाले जेल पर्न पनि डर नमान्ने भएकोले मरे मरिन्छ भन्ने लागेर मात्रै हो,’ उनले भने। उनीमाथि शारीरिक रुपमा आक्रमण त भएन तर हतोत्साही पार्ने प्रयास ज्यादै भयो। 

जब नीर शाह अकमक्किए

सूर्य सेन ओलीले आत्मकथामा घटनामा शंकाको घेरामा रहेका नीर शाहलाई ‘क्लिन चिट’ दिएका छन्। तर, किशोर श्रेष्ठले भने शाहमाथि शंका गर्न छाडेका छैनन्। 

एउटा सानो प्रसंग उनले हामीसँग सेयर गरे –
 ‘सम्भावित शंकाको पात्रमा नीर शाहको नाम पनि थियो। उहाँसँग पनि इन्टरभ्यु लिनपर्‍यो भनेर नेपाल टेलिभिजनको सिंहदरबारमा रहेको अफिसमा पुगेँ। मैले तपाईँ त्यति बेला कहाँ हुनुहुन्थ्यो? भनेर सोधेँ। उहाँले म ‘स्मृतिको पर्खाल’ भित्र नाटक गर्न जमलमा थिएँ भन्नुभयो। 

मैले फोटो देखाएर सोधेँ यी केटीहरूलाई चिन्नुहुन्छ?’ 

‘उहाँले चिन्दिनँ भन्नुभयो।’

नीरा पराजुलीको घर पनि माधवराजको नजिकै थियो। नीराका बुबा थीरमणि पराजुली मुद्रण विभागमा काम गर्ने। उनी तास खेल्नका एकदमै शोखिन। त्यो घरमा भिआइपीहरुको तास खेल्ने काम हुने रहेछ। 

पछि मैले थाहा पाएँ नीर शाह पनि त्यहाँ जानु हुँदोरहेछ। उहाँहरूको नोटिसमा केटी पर्न सक्छिन् भन्ने लाग्यो। यद्यपि त्यो असत्य हुनसक्छ। तर, उहाँ जानुभएको भन्ने कुरा थाहा पाएपछि मैले  फेरि नीर शाहलाई फोन गरेँ। 

‘नीर जी, तपाईँ त्यहाँ जानुभएको रहेछ त। चिनजान रहेछ त। तपाईँले त चिन्दिनँ भन्नुभयो’ भनेर मैले प्रश्न गरेपछि उहाँ अक्मकिनु भयो।’
श्रेष्ठले पुस्तकमा लेखेका छन्- ‘तत्कालीन गण्डकी अञ्चलाधीश गणेशमान श्रेष्ठका अनुसार, पोखरा आउ“दा चन्द्रध्वज गुरुङसँग नीर शाह, उदयसमशेर र विनोदशंकरको फोटो थियो तर त्यसलाई प्रयोगमा ल्याइएन।‘

पुस्तकमा श्रेष्ठले उत्तम पुनको नाम पनि उल्लेख गरेका छन् जसका संरक्षणकर्ता तत्कालीन अधिराजकुमार धीरेन्द्र थिए। घटना दरबारसँग सोझै जोडिएको मानिन्थ्यो।

केस ढिसमिस

२०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको वंशनाश भयो। अधिराजकुमार ज्ञानेन्द्रलाई सिंहासनमा राखियो। त्यसको ठ्याक्कै १० दिनमा रहस्यमय ढंगबाट यो घटनालाई टुङ्गो लगाइयो।

२०३८ साल जेठ २४ गते पोखरामा भएको नमीता–सुनीता–नीरा–चूडामणि हत्याकाण्डसम्बन्धी मुद्दाको ठ्याक्कै २० वर्ष ६ दिनपछि २०५८ जेठ २९ मा पोखरास्थित पुनरावेदन सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई गोप्य पत्र पठायो। वादी श्री ५ को सरकार र प्रतिवादी ‘नखुलेको’ त्यो मुद्दा ‘सह–न्यायाधिवक्ताज्यूसमक्ष पेश हुँदा’ भन्दै पत्रमा ‘हाललाई कोही कसैउपर मुद्दा नचलाउने गरी मिति २०५८।२।२९ मा निकासा भएकाले कानूनबमोजिम गर्न’ आदेश दिइएको थियो। 

पत्रमा मुद्दाका जाहेरीवाल शेषमणि शर्मा कहाँ–कुन अवस्थामा छन्, भन्नेबारे केही उल्लेख थिएन। सोही हत्याकाण्डका भरपर्दा साक्षी वनपाले चूडामणि अधिकारीको लगत्तै भएको रहश्यमय मृत्युसम्बन्धी मुद्दाको बारेमा पनि ‘आदेश दिनेहरु’ चूपचाप छन्। पुनरावेदन सरकारी वकिलको कार्यालयले त्यसरी जिल्लालाई पत्र पठाएपछि जिल्लाले ‘पछि खोजी भएका बखत उपलब्ध गराउन सक्नेगरी’ भन्दै प्रशासनलाई कागजातहरु कसैले भेट्टाउनै नसक्नेगरी लुकाएर राख्न अनुरोध गर्दै अर्को पत्र पठायो।

जिल्ला प्रहरी कार्यालय, कास्कीले २०५८ को जेठमा नीरा पराजुलीको अवस्था अज्ञात रहेको र नमीता–सुनीता भण्डारीलाई कसले, कसरी हत्या गरी घटनास्थलमा फ्याँकेको भन्ने कुरा ‘हालसम्मको अनुसन्धानबाट खुल्न नआएको’ भन्दै पछि खुल्न आएको बखत कानूनबमोजिम गर्नेगरी उक्त मुद्दा टुङ्ग्याउने तारतम्य मिलाएको थियो।

राजा वीरेन्द्रको जूठो नसकिँदै नमिता–सुनीता हत्याकाण्डको मुद्दालाई किन ढिसमिस पारियो? यो कुरा अझै खुलेको छैन। शायद्, खुल्ने पनि छैन। 

निर्मला बलात्कार र हत्यासँगै स्मृतिमा

‘त्यति बेला कुनै सबुत प्रमाण देखिने नहुँदा नहुँदै पनि को-को मान्छे संलग्न हुनसक्छन् भनेर नोटिस गर्ने गरी केस बाहिर आयो भने अहिले त यति प्रविधि हुँदाहुँदै पनि कुहिरोको काग जस्तै भइएको छ,’ नमीता, सुनीता प्रकरणको अनुसन्धानमा लामो समय खटिएका किशोर श्रेष्ठ भन्छन्, ‘निर्मलाको केसमा सरकार र सुरक्षा संयन्त्र मात्र होइन, मिडिया पनि फेलियर भएको छ।’

***
बलात्कारका घटना वर्षेनी हजारभन्दा बढी हुन्छन्। तर, केही मात्र यस्ता घटना हुन्छन्, जसले सिङ्गो देशलाई प्रभावित पार्छ। कञ्चनपुरकी १३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कार पछि भएको विभत्स हत्या यस्तै घटना हो। आज १२१ दिन पुगे पनि हत्याराको छेउछाउ प्रहरी पुग्न नसकेकोमा आलोचना भइरहेको छ। निर्मलाको परिवार जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि २४ घण्टे अनशनमा छ। भीमदत्त नगरपालिकाको चोकचोकमा अहिले पनि यही घटनाबारे चर्चा हुन्छ। 

यो साता पहिलोपोस्ट टिम स्थलगत रिपोर्टिङका लागि कञ्चनपुर पुग्‍दा तिवारी मेडिकल सेन्टरमा भेटिएका स्वास्थ्यकर्मी वीरेन्द्र तिवारीले भनेका थिए, निर्मला प्रकरण पनि नमीता सुनीता जस्तै हुने देखियो।  

अहिलेको पुस्ताले बिर्सिसकेको नमीता सुनीता घटना सान्दर्भिक हुने भएकाले प्रस्तुत गरिएको हो।

(23rd November 2018, 07:04 pm | ७ मंसिर २०७५ मा पहिलोपोस्टमा प्रकाशित)

१) निर्मलालाई देशभर चिनाउने ‘आइकनिक’ फोटोमा लुकेको कथा

  • कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल –

‘आन्टी, आज रोशनीको घरमा पढ्न जानु छ। बाबुलाई पनि लिएर जान्छु नि है?’

साउन १० गते बिहीबार बिहान निर्मला पन्तले आफ्नो घर नजिकैकी छिमेकी मञ्जु भट्टसित अनुमति मागेकी थिइन्। निर्मला तीन दिदीबहिनीमा माहिली। लगातार तीन छोरी जन्माएपछि बाबु कान्छी आमा लिएर अलग्गै बस्न थालेको १० वर्ष बितिसकेको थियो। मञ्जुको पाँच वर्षका छोरालाई निर्मला आफ्नै भाइ जस्तै माया गर्ने गर्थिन्।

‘पर्दैन लैजान, फर्किएर आएपछि घरमा लगेर खेल्नू,’ मञ्जुले नकारिन्। 

‘हस्’ भन्दै निर्मला साइकल चढेर रोशनीको घरतर्फ लागिन्।

 तर, त्यसपछि फर्किनन्। 

त्यसको केही दिनपछि नै निर्मलाको एउटा फोटो सबै मिडियामा छाउन थाल्यो – एउटी निर्दोष पीडित किशोरीको रुपमा जसको निर्मम हत्या भइसकेको थियो।

निर्मला घरबाट साथीको घरतर्फ जाँदै गरेको अन्तिम पटक देख्ने मञ्जु नै थिइन्। अहिले सारा नेपालले चिन्ने निर्मलाको ‘आइकनिक’ फोटोको मञ्जुको परिवारसँग नजिकको सम्बन्ध छ।

***

रातो टीका, निधारको आधा भागसम्म झरेको कपाल, कालो फ्रेमको चश्मामा रातो टिसर्ट।

अनि हल्का मुस्कान। 

विगत चार महिनादेखि दिनहुँजसो मिडियामा देखिने फोटो हो यो। यसको प्रयोग यति धेरै भइसक्यो कि आकृति देख्ने बित्तिकै नचिन्ने शायदै कोही होलान्। 

दशैँमा कलाकार सुनील सिग्देलले निर्मलाको यही फोटोमा देवीको रुप ‘फ्युजन’ गरेर चित्र बनाए- ‘माई गडेसेस लस्ट दी ब्याटल’। चित्र सामाजिक सञ्जालमा भाइरल भयो।

तिहारमा यही फोटोको आधारमा बनाइएको मण्डल पनि उसैगरी भाइरल भयो। 

यो ‘आइकनिक’ फोटोको पछाडि पनि एउटा कथा छ। निर्मलाको यो फोटो उनको ‘सिङ्गल’ फोटो भने हैन। 

१३ वर्षीया किशोरीको घरबाट नजिकैको उखुबारीमा जस्तो अवस्थामा लाश भेटियो, त्यसले जोसुकैको मन विचलित बनाउँथ्यो। त्यही दिनदेखि स्थानीय हत्यारा पत्ता लगाउन आन्दोलित भएका थिए।

हत्यारा पत्ता नलागेसम्म शवको पोस्टमार्टमसम्म गर्न नदिने पक्षमा थिए स्थानीय वासिन्दा। समाचारहरुमा सुरुमा घटनास्थलकै विभत्स फोटोहरु पनि आएका थिए। किनभने निर्मलाको फोटो कसैसित थिएन। हातमा बोक्ने पम्पलेट तथा पर्चा छाप्नसमेत निर्मलाको फोटो खोजी भयो।

निर्मलाको न्यायका लागि संघर्ष गरिरहेको समितिकी संयोजक मीना भण्डारीले सुनाइन्, ‘घर, स्कूल, साथीभाइको मोबाइल कहीँ कतै फोटो भेट्नै मुस्किल भयो।’  

उनले थपिन् ‘पछि एउटा भिडियो फेसबुकमा भेटियो। हामीले सोधखोज गर्‍यौँ। त्यही भिडियोसँगै फोटो पनि खिचिएको रहेछ। ग्रुपमा भएको त्यही फोटोमा निर्मलामात्र लाई क्रप गरी फोटो निकाल्यौँ। क्रप गरेको फोटो निर्मला भन्दा मेच्योर देखिन्छ तर फोटोमा देखिए जस्ती ठूली थिइनन् उनी। ‘

भिडियो फेसबुकमा अपलोड गरेका थिए लक्ष्मण भट्टले। लक्ष्मण निर्मलाकी छिमेकी मञ्जुका श्रीमान्।

हराएको दिनदेखि नै खोजीमा लागेका थिए लक्ष्मण। हराएको राति २:३० बजेसम्म निर्मला भेटिन्छे कि भन्ने आशमा आमा दुर्गादेवीलगायतसँग खोजेरै बसेका थिए उनी। भोलिपल्ट बिहान साढे नौ बजेतिर शव भेटिएको दिन पनि उनी उखुबारी पुगेका थिए। निर्मला र उनको परिवारसँग आवतजावत बढी भएकाले त्यो घटनाले आहत् थियो भट्ट परिवार।

लक्ष्मणले लाश भेटिएको ठाउँबाट फर्किएपछि आफ्नो मोबाइल हेरे।

गएको वैशाख १ गते घरमा जेठो छोराको चूडा (पहिलो पटक पूजासहित कपाल काट्ने हिन्दु संस्कार) गर्दा निर्मलाले कपाल थापेको भिडियो देखे। सामान्यतया फूपु, दिदी बहिनीले कपाल थाप्ने चलन हुन्छ। भट्ट परिवारको कोही थिएन। त्यसैले निर्मलाले नै सेतो कपडामा कपाल थापेकी थिइन्।

त्यो भिडियोले उनलाई झनै मर्माहत् बनायो। ‘उहाँले नै त्यो भिडियो मध्याह्न १२ बजेर १२ मिनेटमा फेसबुकमा हाल्नु भएको हो,’ श्रीमती मञ्जुले भनिन्।

आन्दोलनकारीले मागेपछि उनले त्यतिबेला नै खिचेको अर्को एउटा फोटो दिएर पठाए। फोटोमा निर्मला, निर्मलाकी बहिनी, मञ्जु, उनका छोरासहित ६ जना देखिन्छन्। यही फोटोमा रहेकी निर्मलाको मात्र अनुहार क्रप गरिएको फोटो नै अहिले प्रचारमा आएको हो।

‘क्रप गरिएको फोटो हेर्दा उनको उमेर बढी जस्तो देखिन्छ। तर, हैन बिचरी सानी थिइन्। त्यो फोटोमा उनी जस्तो थिइन्, त्यस्ती देखिएकी छैनन्’, मञ्जुले सुनाइन्।  

हुन पनि हो, त्यति बेलाको भिडियोमा निर्मला यस्ती देखिन्छिन्- 

संयोगले वैशाखमा खिचेको यही फोटोमा लगाएकै रातो टिसर्ट हत्या भइसकेपछिको फोटोमा पनि देखिन्छ। 

***
मञ्जुलाई आफ्नो छोरा निर्मलासँगै पठाएको भए आज यो दिन हुँदैन थियो कि भन्ने सोच एकमनमा अझै परिरहन्छ।

उनको छोरा आफ्नो घरमा भन्दा बढी समय निर्मलाकै घरमा हुन्थ्यो। नजिकै भएकाले कहिले ऊ आफैँ जान्थ्यो, कहिले निर्मलाले बोकेर लैजान्थिन्। निर्मलाको घरमा टिभी नभएकाले टिभी हेर्ने घर पनि मञ्जुकै घर बनेको थियो।

मञ्जु आफ्नी छोरीसँग

‘टिभी हेर्न भन्दै हाम्रोमा नै आउँथिन्। एकछिन हेरेपछि ममीले मार्नुहुन्छ भन्दै फर्की हाल्थिन्। घरबाट कतै निस्किने स्वभाव नै थिएन,’ उनले भनिन्।

साउन १० गते बिहान साढे १० बजेतिर निर्मला घरबाट करिब २ किलोमिटरको दुरीमा रहेको साथी रोशनी बमको घरमा जानका लागि निस्किन्।
‘रोशनीलाई म राम्रोसँग चिन्छु। निर्मलाको घरमा आइरहन्थिन्। आन्टी के छ खबर भनेर राम्रो सँग नै बोल्ने गर्थिन्। असल केटी थिई,’ मञ्जुले सुनाइन्, ‘घटना भइसकेपछि मेरो रोशनीसँग भेट भएको थियो। तर त्यतिबेला भने उनले पहिले जसरी बोलिनन्।’  

***

धर्नास्थल वरपर निर्मलाको त्यही फोटो र पर्चा देखिन्थ्यो। जिल्ला प्रशासन कार्यालयको गेटमा समेत यस्तै पर्चा टाँसिएका थिए। भीमदत्त नगरपालिकाका अटोरिक्साहरुमा समेत हत्यारालाई तुरुन्त सार्वजनिक गर्नुपर्ने मागसहित निर्मलाको यही श्यामश्वेत तस्बिरसहितको पर्चा टाँसिएका थिए।

निर्मलाको घरमा समेत अरु कुनै फोटो नरहेको धर्नास्थलमा भेटिएकी संयोजक मीना भण्डारीसहित अरुले पनि दावी गरे। 

हामी निर्मला पढ्ने स्कूलतर्फ लाग्यौँ। सोध्यौँ‍- भर्ना गर्दाका फोटो छन् कि। निर्मलाको घर छेवैमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानअध्यापक जगन्नाथ पाण्डेले लगातार पढिरहेका विद्यार्थीको फोटोसहित भर्ना गर्नु नपर्ने सुनाए। अतिरिक्त क्रियाकलापका केही फोटोहरु छन् कि भनेर सोध्दा पनि उनले नभएको बताए।

सात कक्षा पढ्दै गरेकी निर्मलाकी बहिनी सरस्वती स्कूलकै चौरमा पढिरहेकी थिइन्। शिक्षकहरुले बोलाएपछि उनी हामीसामु आइन्। उनले दिदीको एउटा फोटो घरमा भएको बताइन्।

स्कूल छुट्टी भएपछि हामी नजिकैको घरतर्फ लाग्यौँ। जस्ताको छानो भएको भूइँतल्ले घरमै निर्मलाकी आमाले गोलगप्पा (पानीपुरी) बेच्ने गर्थिन्। घटनापछि भने त्यो बन्द छ। त्यतिबेला आमा चार किलोमिटर पर जिल्ला प्रशासन कार्यालय अगाडि धर्नास्थल थिइन्। उनको दैनिकी नै अहिले बिहान छोरीहरुलाई खाना पकाउने, धर्नास्थलमा जाने र साँझ घर फर्किने भएको छ। 

सरस्वतीसँगै दिदी मनीषा पनि घर आइपुगिन्। उनीहरुले हामीलाई दुई वटा फोटो देखाए, जुन अहिलेसम्म सार्वजनिक भएको थिएन। 

मनीषाले घरभित्रबाट एउटा फोटो ल्याइन्। ब्वाइज कट कपाल, पुक्क परेको गाला र हातमा श्रीकृष्णको फोटो। देखिरहेकोभन्दा फरक। फोटो लेमिनेसन गरिएको थियो। 

बहिनी सरस्वतीले अर्को सानो अटो साइजको फोटो ल्याइन्। अटो साइजको यो फोटोमा निर्मला अझै सानी देखिन्थिन्। 

(महेन्द्र बमको सहयोगमा)

(24th November 2018, 06:00 pm | ८ मंसिर २०७५ मा प्रकाशित)

२) कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य

‘म पढ्नलाई रोशनीको घर जान लागेको, बाबुलाई पनि लिएर जान्छु है’ भनेर अनुमति नमागेको भए छिमेकी मञ्जु भट्टलाई निर्मला पन्त कता जान लागेको थाहा हुन्न थियो। उनले आफ्नो पाँच वर्षका छोरालाई लिएर जाने अनुमति भने दिइनन्। तर याद छ प्याजी रङको लेडिज साइकल चढेर निर्मला पन्त साउन १० गते बिहान साढे १० बजेतिर घरबाट निस्केकी थिइन्। 

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ खोल्टीस्थित घरबाट निर्मलाले पढ्न जान लागेको रोशनी बमको घरको दूरी २ किलोमिटर पनि छैन। पैदल हिँड्ने हो भने फटाफट हिँड्दा पनि लगभग २० मिनेटमा पुगिन्छ। साइकलबाट पनि १०/१२ मिनेटभन्दा बढी समय लाग्ने ठाउँ हैन त्यो। 

सडक छेवैमा जोडिएको घर छ रोशनीको। उनका अनुसार निर्मलाको हातमा कालो लागेको थियो। शायद् साइकलको चेन छोएकोले होला। रोशनीले बारीमा हात धुने ठाउँ र साबुन देखाइदिएको बताउँछिन्। 

त्यसपछि उनीहरु  माथि कोठामा उक्लिए र साइन्सको होमवर्क गरी बसे केही घण्टासम्म।   

चना चटपटे खाएको २० रुपैयाँ र केही अम्बा पनि लिएर अन्दाजी सवा २ बजे निर्मला घरबाट निस्केको रोशनीलाई याद छ। 

समय ठ्याक्कै याद कसरी भयो त? 

हामीले सोध्दा रोशनीले भनिन्, निर्मला गएपछि मैले टिभी हेरेकी थिएँ। टिभीमा टाइम २:३५ देखिएको याद छ। 

त्यसको १० मिनेट जति अगाडि निर्मला घरबाट गएकी थिइन्। प्रत्यक्षदर्शीहरुका बयानहरुका आधारमा निर्मलाको यहाँसम्मको स्थितिमात्र खुल्छ। निर्मला त्यहाँबाट कता गइन्? कसैलाई थाहा छैन। 

उनी निस्किएपछि केही समय हल्का पानी पनि परेको थियो। 

रोशनीको घर जुन बाटोसँग जोडिएको छ, त्यो बाटोको माथितिर लाग्ने हो भने महेन्द्रनगर बजार पुगिन्छ। घर फर्किने बाटो भने तलतिरको हो, जुन बाटो हुँदै निर्मला आएकी थिइन्। 

खासमा उनी कुन बाटो लागिन्, अहिलेसम्मको अनुसन्धान टोलीले पत्ता लगाउन नसकेका रहस्य मध्ये यो पनि एउटा हो। 

माथितिर लाग्ने हो भने त झन् झन् धेरै घर भएको बस्तीको बाटो छ। तल फर्कने बाटो पनि हामीले काठमाडौँमा बस्दा गरेको अनुमान जस्तो सुनसान र डरलाग्दो थिएन। 

यो बाटोमा मानिस हिँडिरहन्छन्। मानिसभन्दा बढी साइकल कुदिरहेका हुन्छन्। इलेक्ट्रोनिक टेम्पोहरु पनि कुदिरहेकै हुन्छन्। 

निर्मला जुन बाटो गएको भए पनि बाटोमा पक्कै मान्छेहरु थिए। तर कसैले पनि उनलाई देखेको भनी अनुसन्धान गर्नेहरुलाई भन्न आएका छैनन्। 

दिउँसो ४, साढे ४ बजेतिर निर्मलाको साइकल उनको घर जाने बाटोको एउटा खोल्सामा पानीमा डुबेको अवस्थामा देख्नेहरु भने छन्। 

स्थानीय महिला धना भण्डारी र उनकी देउरानी जमुना त्यो दिन त्यस क्षेत्रमा घाँसपात गर्न गएकी थिइन्। उनीहरुसँगै गएका देउरानीका ६ वर्षका छोरा सन्दीपले साइकल पहिलो पटक देखेका थिए। धनाले पनि साइकल पानीमा डुबेको अवस्थामा देखेको तर कसैले थोत्रो भएर फालेको होला भनेर वास्ता नगरेको बताएकी छिन्। 

अरुले साइकल भने भोलिपल्ट साउन ११ गते मात्रै देखेका थिए पानीबाहिर। निकालेका थिए साधुराम चौधरीले। उनले साढे १० बजेतिर साइकल खोलाबाट निकालेर सडकमा राखेको बयान दिएका छन्। 

पानीबाट निकालिसकेपछि निर्मलाको साइकल

साइकल भेटिएको ठाउँ रोशनीको घरबाट ६ सय मिटरको दूरीमा छ। साइकलबाट त्यस्तै तीन चार मिनेटमा पुगिने ठाउँ हो। निर्मलाको घर पुग्न भने त्यहाँबाट अझै ९ सय ५० मिटर टाढा छ। 

जुन ठाउँमा साइकल भेटियो, त्यो ठाउँ सडकबाट झट्ट हेर्दा देखिन्न। रोशनीको घरबाट निर्मलाको घरतिर जाने हो भने बीचमा २ सय ४० मिटर यस्तो ठाउँ छ, जसको बायाँतिर रुख र झाडी छन् भने दायाँतिर खुला खेत। वरपर कतै घरहरु छैनन्। 

यो कस्तो ठाउँ हो त? 

स्कूल जान पनि सधैँ यही बाटो साइकलमा ओहोरदोहोर गर्ने रोशनीले हामीलाई भनिन्, ‘त्यहाँ कहिलेकाहीँ डेटिङ गर्ने मानिस पनि देखेको छु।’
निर्मलाको शव फेला परेको दिन माउन्टेन टेलिभिजनमा प्रसारण भएको मिसन न्युज कार्यक्रममा एक युवतीले भनेकी छिन्, ‘दिउँसोको एक दुई बजेतिर बाटोमा कोही नहिँड्ने बेला केटाहरु तलको शरीरमा कपडै हुन्थेन, केटीहरुलाई एक्लै दुक्लै मौका मारेर आऊ आऊ भनेर बोलाउने गर्थे। डरले केटीहरु साइकल चलाउनै बन्द गरेका थिए।’

अरुले पनि त्यहाँ यौन अंग देखाउने केटाहरु कहिलेकाहीँ हुने गरेको बताए। 

त्यही २ सय ४० मिटरको इलाकामा तारजाली लगाएको ठाउँको एक तह छ। त्योभन्दा तल अर्को तह जमिन छ। निर्मलाको कपी भेटिएको ठाउँ यहीँ हो। त्यहाँबाट घुँडासम्म आउने पानी भएको करिब १५ फिट चौडाइ भएको नहर छ। यही नहरको पानीमा साइकल देखेको भनेकी थिइन् धनाले। नहरको पारीपट्टी पनि रुख र झाडी छन्। त्योभन्दा पारी उखुबारी छ। त्यहाँ उखुबारी छ भन्ने कुरा यता निर्मलाकै गाउँका केही बासिन्दालाई समेत लाश नभेटिउन्जेल थाहा थिएन।  

त्यो ठाउँलाई यो भिडियोमा अझ प्रष्टसँग हेर्न सकिन्छ-

निर्मलाको घरतिरबाट साइकल भेटिएको ठाउँ जाने बाटो। 


साइकल भेटिएको ठाउँबाट देखिएको नहर। घटना भएको चार महिनापछि यो फोटो खिचिएको हो। 


आर्मी ब्यारेक कहाँ? 

निर्मला प्रकरणमा सैनिकको समेत संलग्नता हुनसक्ने भनी चर्चा भएको देखिन्छ। तर हामीले घटनास्थल पुगी हेर्दा आर्मी ब्यारेक भने निर्मला र रोशनी बमको घरको बाटोमा नपर्ने देख्यौँ। महेन्द्रनगर बजारबाट करिब १५ सय मिटरको दुरीमा नेपाली सेनाको २५ नम्बर बाहिनी रहेको छ। बाटोमा हिँड्नेले ख्याल नगर्ने हो भने सहजै ब्यारेक देखिँदैन। 

ब्यारेकदेखि ५/६ सय मिटरको दुरीमा बम दिदीबहिनीको घर पर्छ। निर्मलाको साइकल पाइएको स्थान र ब्यारेकको दूरी एक किलोमिटरभन्दा बढी छ। बाटो बीचमा मदन भण्डारी स्कूल पनि पर्छ। निर्मला र रोशनीले पढ्ने स्कूल भने यो हैन। यो प्राथमिक विद्यालयमात्र हो। 

ओपेरा होटल कति टाढा?

घटनासँग जोडेर आशंका गरिएका ठाउँमध्ये एक ओपेरा होटल पनि हो। ओपेरा होटल महेन्द्रनगर बजारमा नै पर्छ। साइकल भेटिएको ठाउँबाट ओपेरा होटल तीन किलोमिटर टाढा छ। बम दिदीबहिनीको घरबाट होटल दुई किलोमिटरभन्दा अलि बढी छ। 

बम दिदीबहिनीको घरबाट ५ मिटरको दूरीमा चोक छ। चोक नजिकै खाजा पसल, किराना पसलसमेत छन्। उनीहरुको घर भने बाटैमा जोडिएको छ। घरभित्रको आँगनमा के भइरहेको छ सहजै बाटोबाट देख्ने अवस्था छ। घर पछाडि भने केही खाली भाग छ। बम दिदीबहिनीको घरसँगै दायाँ बायाँ नजोडिएका घर छन्। अगाडि पनि घर छ। बम दिदीबहिनीको घरमा कम्पाउन्डमा केही गतिविधि भए छिमेकीले सहजै देख्न सक्छन्।

बम दिदीबहिनीको घरबाट निस्किएको भए निर्मला कता लागिन्? उनको साइकल कसरी त्यो ठाउँमा पुग्यो? साइकल कसैले फालेको हो कि निर्मला आफैले त्यहाँसम्म लगेर गएकी हुन्? यो प्रश्नको जवाफ खुल्न सकेको छैन। बम दिदीबहिनीको घरबाट निर्मला हराएकी हुनाले उनीहरुलाई नै यो विषयमा थाहा हुनुपर्ने भन्दै छानबिन त्यहीँबाट हुनुपर्ने माग निर्मलाका आमाबाबुको मात्र हैन हामी पुग्दा धर्नामा बसिरहेका अधिकारकर्मी र अन्यको पनि थियो। 

(महेन्द्र बमको सहयोगमा)

(निर्मलाको साइकल र कापी भेटिएको ठाउँबाट कति टाढा छ उनको शव भेटिएको ठाउँ? के घटनास्थल शव भेटिएकै ठाउँ हुनसक्छ? कि अन्यत्रै घटना भएर शव त्यहाँ फ्याँकिएको हुनसक्छ? यो विषयमा विस्तृत भोलि पहिलोपोस्टमा)

25th November 2018, 06:55 pm | ९ मंसिर २०७५ मा प्रकाशित।

३) क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?

मोन्टाज गरिएको फोटो

झ्याम्म परेको उखुबारी। त्यसको बीचमा एउटा अग्लो सिसौको रुख। त्यसैको मुनितिर साउन ११ गते बिहान भेटिइन् निर्मला, प्राण गइसकेको अवस्थामा।

के घटनास्थल त्यही हो? या अन्तै घटना गराएर शव त्यहाँ फ्याँकिएको हो?  #WhoKilledNirmala शृङ्खलाको तेस्रो भाग आज यही विषयमा

***
साउन १० गते दिउँसो सवा २ बजे बम दिदीबहिनीको घरबाट निस्किएकी भनिएकी निर्मला पन्त त्यसपछि बेपत्ता थिइन्। 

उनको साइकल त्यही दिन दिउँसो ४ बजे घना भण्डारीले खोलामा देखेकी हुन् तर बिग्रेको साइकल फालेको होला भनेर वास्ता गरिनन्। 

भोलिपल्ट निर्मला खोज्न हिँडेकाहरुले साधुराम चौधरीले खोलाबाट निकालेको अवस्थामा साइकल भेटे। त्यसपछि उनीहरुको खोज त्यही ठाउँ वरपर केन्द्रित भयो। 

निर्मलाको कपी र अम्बा राखेको कालो प्लास्टिकको झोला पनि त्यतै बाटो मुनितिर भेटियो। 

घटनाको चार महिनापछि गत साता भूपू सैनिक मोतीबहादुर नेपालले हामीलाई साइकल र कापी भेटिएको स्थान यसरी देखाए –

सीधा नाप्ने हो भने साइकल भेटिएको ठाउँबाट शव भेटिएको ठाउँसम्मको दूरी त्यस्तै ५० मिटर होला। तर, शव भेटिएको उखुबारी सडकसँग जोडिएको भने छैन। सडकसँगै करिब १५ फिट चौडाइ भएको नहर छ। नहरमा सधैँजसो नै घुँडाभन्दा माथि पानी बगिरहन्छ। 

साउनको महिना लगातार परेको झरीका कारण शव भेटिएको दिन नहरमा पानीको मात्रा झनै बढी भएको हुनुपर्छ। सामान्य अवस्थामा मानिसले उखुबारी भित्र पुग्न यो बाटो प्रयोग गर्दैनन्। तर, त्यो बाटोबाट जानै नसकिने भने हैन। जाने हो भने नहर पारी एउटा ढिस्को पनि उक्लिनुपर्छ। त्यसपछि बल्ल उखुबारी भित्र पुग्न सकिन्छ। 

बारीभित्रै सडकबाट सहजै नदेखिने चौरजस्तो ठाउँ पनि छ। 

उखुबारी पुग्न अर्को विकल्प पनि छ। साइकल भेटिएको स्थानबाट सडक हुँदै करिब सय मिटरको दुरीमा नहर पारी जाने काठको साँघु छ। २० मिटर जति लामो र १ मिटर चौडा साँघु हुँदै पारी पुगिन्छ। रातको समयमा लाइट नबालिकन साँघु तर्नसमेत मुस्किल पर्छ। बीचमा खुट्टा छिर्ने डर हुन्छ। यो साँघु तरेपछि करिब ३० मिटरको दुरीमा नै चक्रदेव बडुको घर छ। चक्रदेवको घरबाट साँघुबाट वारपार गर्ने मानिस प्रस्टै देखिन्छ। त्यतिमात्र हैन त्यहाँ राति कोही आए घरको कुकुरसमेत भुक्ने गरेको बडुको परिवारका सदस्यले बताए। 

साँघु तरेपछि नहरको किनार हुँदै देब्रेतिर ३० मिटर लागेपछि केही सुनसान ठाउँ छ। यो ठाउँ सडक पारी बाट र चक्रदेवको घरबाट सहजै देखिँदैन। त्यो स्थानबाट १५ देखि २० मिटरभित्र उखुबारीमा छिरेपछि निर्मलाको शव भेटिएको स्थान पुगिन्छ। घटनापछि अहिले उखुबारीमा शव भएको स्थान पुग्न उखु माडेर  बाटो बनाइएको छ। निर्मलाको शव भेटिएको स्थान बडुको घरबाट त्यस्तै ३०/४०मिटरको दुरीमा छ। 

घटनाको चार महिनापछि हामी पुग्दासमेत उखुबारीभित्र हुँदै शव भेटिएको ठाउँसम्म पुग्न गाह्रो भयो। यो भिडियोमा हेर्न सक्नुहुन्छ –

हामी पुग्दा उखुबारीको बीचमा शव भेटिएको ठाउँमा पानी थिएन। तर, घटनास्थलमा खिचिएका फोटोहरु हेर्दा भने त्यतिबेला त्यहाँ पानीसमेत देखिन्छ। 

अब प्रश्न उठ्छ –  के घटनास्थल त्यही हो? 

कि अन्तै घटना गरेर शव त्यहाँ फ्याँकिएको हो?

अघिल्लो दिन ४ बजे नै साइकल देख्नेहरु भएकाले दिउँसै यस्तो स्थानमा बलात्कार गर्न सम्भव छ? योजनावद्ध रुपमा बलात्कार गर्ने अपराधीले यस्तो ठाउँ छनौट गर्न सक्छ?

पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी केही अपराधीहरुले अपराध गर्न मौकाको खोजी गर्ने बताउँछन्। मान्छे नहुने र एकान्त ठाउँमा नै बढी यस्ता घटना हुने गरेको देखिएको उनको अनुभव छ। भन्छन्, ‘एक्सिडेन्ट्ली यस्तो अपराध भएको भए बेग्लै हो। अपराध योजनावद्ध हो भने, यस्ता घटनामा कसैले नदेख्ने र सुरक्षित ठाउँ नै खोज्ने गरेको देखिन्छ।’

माथिको फोटो शव भेटिए लगत्तै खिचिएका फोटोहरुमध्येको एक हो। फोटोमा कम्मरमुनि निर्मलाको कपडा छैन। (यो फोटोमा ब्लर गरिएकोछ) माथि उनले त्यही रातो टिसर्ट लगाएकी छिन्, जुन उनको मिडियामा आएको क्रप गरिएको फोटोमा लगाएकी थिइन्। 

गृह मन्त्रालयले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा पनि शवको अवस्थाको विवरण उल्लेख छ – शवको आधा शरीरसम्मको भाग पानीमा रहेको र बायाँ खुट्टा आधा खुम्च्याएको अवस्थामा छ। नली खुट्टादेखि आधा तिघ्रासम्मको भाग पानीमा डुबेको छ। दायाँ खुट्टाको गोलीगाँठोदेखि तिघ्रासम्मको भागसमेत पानीमा डुबेको, मुखको भाग सीधा जमिनतर्फ फर्की पानीमा डुबेको छ। दायाँ हातको नाडीदेखि पाखुरासम्मको भागसमेत पानीमा डुबेको अवस्थामा छ। 

प्रतिवेदनमा योनीको भाग पूरै पानीमा रहेको र शव पल्टाई हेर्दा योनीको भागबाट पानीसँगै रगत बग्दै गरेको, योनीको भित्री भागमा जमेका रगत जस्तो देखिने वस्तुहरु देखिएको पनि उल्लेख छ। 

त्यस्तै प्रतिवेदनमा शव फेला परेको स्थानमा दुई वटा उखुको बोट हल्का बांगो र एउटा बोट तत्काल भाँचिएको अवस्थामा रहे बाहेक अन्य उखुका बोट तथा पात भाँच्चिएको वा मडारिएकोसम्म नदेखिएको पनि उल्लेख छ। 

प्रतिवेदनमा उल्लेख नभएको एउटा विषय छ जसले अनुसन्धानकर्ताहरुलाई समेत झुक्याएको थियो- निर्मलाको एउटा हातले उखुको लाँक्रो समात्न लागेको जस्तो देखिएको छ। 

यसैका आधारमा निर्मलाले प्रतिकार गरेको जस्तो देखिएको विश्लेषण गर्दै प्रहरीले सुरुमा घटनास्थल नै यही हो भनेको थियो। 

तर, मानिस मरिसकेपछि खुल्ला रहेको हात वा शरीरको भाग केही दोब्रिने र कक्रिने भएकाले पनि यस्तो देखिन सक्ने अर्कोखाले तर्क छ। 

मानिस मर्नुभन्दा अघि शरीरको अंग खुम्चिने, तन्किने प्रकिया हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल फोरेन्सिक डिपार्टमेन्टका निर्देशक डाक्टर प्रमोदकुमार श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘जब मानिस मर्छ, तब शरीरको एटिपी* भन्ने तत्व कम हुँदै जान्छ। यसको कारण बिस्तारै शरीरका अंगहरु कक्रिने वा खुम्चिने हुन्छ। मानिस मरेको ४ वा ६ घण्टापछि यस्तो देखिन्छ।’

‘मानिस मरेपछि अन्य अंगहरु पनि कडा हुँदै, खुम्चिँदै र कक्रिँदै जान्छ। तर, धेरैको ध्यान हातमा जान्छ,’ डा. श्रेष्ठ भन्छन्, ‘जस्तोसुकै प्रकृतिको मृत्यु भए पनि शरीरको अंग कक्रिएको नै हुन्छ।’

डा. श्रेष्ठको भनाईलाई आधार बनाउने हो भने निर्मलाको त्यो हात मृत्यु भइसकेपछि कक्रिएर उखु समातेको जस्तो देखिएको पनि हुनसक्छ। त्यसैले प्रतिकार गरेको देखिएको आधारमा घटनास्थल नै त्यही हो भन्ने ठोकुवा गर्न सकिन्न। 

अहिले प्रहरी ‘क्राइम सिन’ नै त्यही ठाउँ भएको भनेर ठोकुवा गर्दैन,  ‘हुन पनि सक्छ’ चाहिँ भन्छ। 

‘घटनाको प्रकृति हेर्दा घटनास्थल त्यही पनि हुन सक्छ भन्ने हो। तर, अहिले नै यही नै हो भन्न सक्ने अवस्थामा हामी पुगेका छैनौं,’ कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी कुबेरबहादुर कठायतले भने। घटना हुँदाताकाका एसपी दिल्लीराज विष्टपछि जिल्लाको कमान्ड अहिले उनैले सम्हालिरहेका छन्।

पानी र हिलो भएको ठाउँमा जबर्जस्ती गर्न असम्भव नै त नहोला तर सजिलो भने नहुने स्पष्टै छ। 

यदि त्यो ठाउँ ‘क्राइम सिन’ होइन भने अर्को कुन ठाउँ हो त? 

शंकाको घेरामा : होटेल ओपेरा 

निर्मलाको बलात्कार र हत्यामा सर्वसाधारणको शंकाका कुरा गर्दा ओपेरा होटलको पनि नाम आउँछ। महेन्द्रनगर बजारमा रहेको नाम चलेको होटल हो, ओपेरा। शव भेटिएको स्थानबाट होटेल करिब ३ किलोमिटरको दुरीमा पर्छ। 

प्रहरी अनुसन्धानमा भएको लापर्वाहीले घटना सुरुदेखि नै विवादमा परेको थियो। त्यसैले जिल्लाका प्रहरी प्रमुखको भूमिकामाथि प्रश्न खडा भयो। कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण निर्मला हराएको दिन होटेल ओपेरामा देखिएका थिए। त्यसैले होटल ओपेरा र एसपीका छोरा किरण दुवैमाथि प्रश्न उठ्यो।

फोटो स्रोत : गुगल म्याप
कल्पना गरौँ, होटलको कुनै कोठामा निर्मलाको बलात्कार भयो। त्यसपछि उनको हत्या गरियो। अब शव व्यवस्थापन गर्न होटलबाट त्यसलाई निकाल्नु पर्‍यो। कसरी निकाल्ने? कसैले शंका नहुने गरी निकाल्न सुटकेस वा त्यस्तै कुनै झोला चाहियो। होटलका अरु पाहुना र रिसेप्सनिस्टलाई छल्दै जानु पर्‍यो। त्यसपछि होटलको मूलगेटमा रहने सुरक्षाकर्मीको शंकाबाट पनि बच्नु पर्‍यो।  

मानौँ, यो सब गरेर शवसहितको सुटकेस वा झोला होटल बाहिर ल्याइपुर्‍याउन अपराधी सफल भयो। अब के? शवसहितको झोला काँधमा बोकेर लग्न सम्भव छैन। 

गाडीमा राखेर लग्न भने सकिन्छ। शव उखुबारीको बीचमा फ्याँकिएको छ। त्यो ठाउँमा गाडी पुग्दैन। त्यसैले बीच बाटोमा गाडी रोकेर शवसहितको झोला काठको साँघु भएको ठाउँबाट लानु पर्‍यो। अरुले देख्ने डरका कारण दिउँसो यो सम्भावना कम छ। राति भने दिउँसोभन्दा जोखिम कम हुनसक्छ। 

रातको अवस्थामा भए छेउकै नहरमा नफाली किन शव उखुबारीको बीचमा फ्याँक्नु पर्‍यो? साँघुबाट एक्लै टर्च नबाली शवसहितको भारी बोकेर पार हुन सजिलो पक्कै हुँदैन। टर्च बालेर कोही हिँडेको थियो भने, नजिकैको चक्र बडुको घरबाट प्रस्ट देखिने सम्भावना रहने भएकाले यसमा पनि जोखिम रहन्थ्यो नै। 

त्यतिमात्र होइन, यदि सुटकेसमै प्याक गरेर शव ल्याइएको थियो भने सुटकेशबाट निकाली फालेर थप जोखिम किन लियो? त्यसै मिल्काउँदा पनि हुन्थ्यो। तर, बरामद भएको शवको अवस्था त्यसरी मिल्काएजस्तो थिएन। 

यी सब कारणले होटलदेखि उखुबारीसम्म शव व्यवस्थापन गर्न अत्यन्तै जोखिम देखिन्छ। पूर्व डिआइजी मल्ल भन्छन्, ‘अपराधीले जोखिम कम हुने विकल्प नै रोज्छन्।’ 

फेरि निर्मला हराएको दिन नै दिउँसो ४ बजे साइकल देख्नेहरु छन्। अन्त कतै हत्या गरेर उनको साइकल चाहिँ दिउँसै त्यहाँ ल्याएर फाल्ने हिम्मत कसैले गर्ला? साइकल फ्याँक्नु, लाश व्यवस्थापन गरे जत्तिकै जोखिम हुने विषय पनि थियो।

(कञ्चनपुरमा महेन्द्र बम, काठमाडौँमा सागर बुढाथोकी र एनिमेसनमा रमेशमान श्रेष्ठको सहयोगमा)

(निर्मला बम दिदीबहिनीको घरमा जाने भनेर गएकी र घर नफर्किएका कारण शंकाको सुई त्यहाँ पनि तेर्सिएको छ। निर्मलाको शव भेटिएको ठाउँबाट ३० मिटरको दुरीमा चक्रदेव बडुको घर छ। निर्मला रोशनीको घरबाट निस्किएको केही बेरमा नै पानी परेको थियो। के पानी परेपछि ओत लाग्न निर्मला चक्रदेवको घरमा पुगिन्? कतै घटना चक्रदेवको घरमा त भएको होइन? चक्रदेव कसरी प्रहरीको शंकाको घेरामा परे र समातिए? अनि कसरी छुट्न सफल भए? पहिलोपोस्टको #WhoKilledNirmala श्रृंखलाको अर्को भागमा)

26th November 2018, 06:41 pm | १० मंसिर २०७५ मा प्रकाशित।

४) निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा

साउन १० गते दिउँसो सवा २ बजे बम दिदीबहिनीको घरबाट निस्किएकी भनिएकी निर्मला पन्त त्यसपछि कहाँ गइन्?

त्यहाँबाट निर्मलाको घर पुग्न साइकलबाट १० देखि १२ मिनेटभन्दा बढी समय लाग्दैन। डेढ किलोमिटर बाटोको बीचमा निर्मला कता हराइन् त? उखुबारीमा लाश त भेटियो। तर, लाश भेटिएको ठाउँ घटनास्थल नहुने सम्भावना पनि लगभग देखिसकियो। त्यसो भए ‘फर्स्ट क्राइम सिन’ कुन हो?

जतिखेर निर्मला त्यहाँबाट निस्केकी भनिएको थियो, त्यसको तीन-चार मिनेटमा ठूलो पानी परेको थियो। कतै निर्मला ओत लाग्न कुनै घरमा त गइनन्? किनभने वर्षे विदाको ‘होमवर्क’ गरेको कापी उनको साथमा थियो। भिज्नबाट त्यसलाई जोगाउन साइकल त्यतै छाडेर निर्मला ओत लाग्न कतै त गइनन्? गएकी भए कुन घरमा गइन्?

बम दिदीबहिनीको घरबाट निस्केर करिब ४ सय मिटरको दूरी पार गरेपछि वरपर कतै घर नभएको सुनसान ठाउँ आइपुग्छ। बायाँतिर रुख र झाडी छन् भने दायाँतिर खुला खेत। करिब २ सय ४० मिटर ठाउँ यस्तै छ।

त्यसभन्दा पर जाने हो भने, दुई वटा घर देखिन्छन्। दायाँ लोकेन्द्र भट्टको घर र बायाँ चक्रदेव बडुको। वरपर अरु कुनै घर छैनन्।

निर्मला हत्या प्रकरणपछि प्रहरीको अनुसन्धान ती दुई घरमा केन्द्रित भयो।

 शव फेला परेको भीमदत्त नगरपालिकाको यही वडाका प्रहरी इन्चार्ज जगदीश भट्टका भतिज हुन् लोकेन्द्र। माइलो भन्ने गोपाल चौधरी उनको घरमा बस्छन्।  

त्यो घरमा त्यतिबेला कोही नभएको अनुसन्धानमा खुल्यो। बाँकी रह्यो अर्को घर – चक्रदेव बडुको। 

चक्रकी बहिनी लक्ष्मी बडु निर्मलाकी ‘क्लास मेट’ समेत हुन्। कतै साथीको दाइको घरमा ओत लाग्न त निर्मला गइनन्? शंका उठ्नु स्वभाविक थियो। 

उखुबारीभित्र शव भेटिएको ठाउँबाट करिब ५० मिटरको दुरीमा चक्रको घर। साइकल भेटिएको स्थानबाट करिब १ सय ५० मिटर दुरीमा रहेको काठे साँघु तरेर थप ५० मिटर हिँडेपछि चक्रको घर पुगिन्छ।

प्रहरीले घरका परिवारहरुसित सोधपुछ थाल्यो। सोधपुछका क्रममा परिवारका सदस्यहरुकै कुरा बाझियो।

‘उहाँ शव भेटिएपछि घटनास्थलमै जानुभएको थियो। त्यहाँको फोटो खिचेर ल्याउनुभएको छ,’ चक्रकी श्रीमतीले प्रहरीलाई भनिन्।

तर, चक्रले चाहिँ ‘म शव भेटिएको ठाउँमा गएकै छैन। मैले फोटोसमेत खिचेको छैन’ भनिरहे। 

बयान बाझिएपछि चक्रमाथिको शंका झन् बलियो भयो।

शव भेटिएको स्थान वरपरका मात्र हैन, टाढाका मानिसहरु समेत पुग्दा नजिकै घर भएका चक्रदेव किन गएनन् त? 

यसपछि स्वभाविक रुपमा प्रहरीको शंका उनीतिर तेर्सिनु अनौठो भएन। पूर्व एआइजी नवराज ढकालका अनुसार अनुसन्धानलाई शंकाले सघाउन सक्छ। भने, ‘घटनाको परिस्थिति र प्रमाणले कसैलाई इङ्गित गर्दै गयो भने शंका लागेकै व्यक्तिबाट अनुसन्धान गर्न सकिन्छ।’

प्रहरीले निर्मला ‘गायब’ भएको दिन चक्रदेव कहाँ थिए भन्ने बुझ्न चाह्यो। प्रहरीको यो शंकाले अनुसन्धानलाई सघाउने सम्भावना बलियो थियो।   

आखिर कहाँ गएका थिए त साउन १० गते चक्रदेव?  उनले प्रहरीलाई भने, ‘म घरमा नै थिएँ।‘ 

तर, उनकी बहिनी लक्ष्मीको फरक भनाइ आयो- ‘दाइ मिल जानुभएको थियो।’ 

चक्र विगत ५ वर्षदेखि  भारतको मुम्बईमा बस्दै आएका थिए। कक्षा १० सम्म पढेका उनी त्यहाँको होटेलमा बार टेन्डरको काम गर्थे। ६ महिना अघिमात्रै उनी नेपाल आएका थिए। त्यसपछि उनी करिब ५ महिना काठमाडौंमै बसे। घटनाअगाडि डेढ महिनादेखि भने कञ्चनपुरमा नै थिए।

बम दिदीबहिनीको घरबाट निस्केको भनिएको सवा २ बजेदेखि स्थानीय महिला घना भण्डारीले साइकल देखेको भनेको दिउँसो ४ बजेभित्रको समयलाई नै आधार मानेर अनुसन्धानका क्रममा प्रहरीले सोध्दा चक्रदेव घरमै रहेको उनकी श्रीमतीले बताइन्।  

‘खाना खाएर म दिउँसो करिब १ बजेतिर कोठाभित्र छिरेँ। उहाँ (श्रीमान् चक्र) मोबाइलमा प्रभास हिरोको फिलिम हेर्दै हुनुहुन्थ्यो। त्यस्तै १५ मिनेट हेरिसकेपछि निद्रा लाग्यो। सुतेँ। ब्युँझिदा त करिब ४ बजिसकेको रहेछ,’ चक्रदेवकी श्रीमतीले भनिन्। 

तर, चक्रदेवले भने प्रहरीलाई आफूले प्रभासको हिन्दी फिल्म नहेरेर अंग्रेजी फिल्म हेरेको बताए। 

फेरि कुरा बाझियो। 

त्यतिखेर बडु दम्पतीलाई फरक-फरक स्थानमा प्रहरीले बयानमा लिएको थियो। बयान बाझिन थालेपछि थप अनुसन्धान गर्न साउन २१ गते बिहान प्रहरीले बडुलाई नियन्त्रणमा लियो।

चक्रको घरबाट निर्मलाको शव फेला परेको स्थान करिब ५० मिटरको दूरीमा छ। उनको घरबाट उखुबारी प्रस्ट देखिन्छ।

निर्मलाको शव फेला परेको दुई साता हुन लाग्दासमेत अपराधीको सुइँकोसमेत नपाएको प्रहरी आफैँ घनचक्करमा फसेको थियो। यसअघि प्रहरीले घटनालगत्तै कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगीलाई नियन्त्रणमा लिएको थियो।

यिनै दुई जनाको नाम गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले साउन १७ गते संसदमा लिएका थिए।

तर, घटनामा दुवैको संलग्नता देखिएन। दीपक रोगी थिए। थप अनुसन्धानले उनी घटनामा जोडिएको देखाएन। 

जीवनले चाहिँ प्रहरीसामु स्वीकारे, ‘हो, मैले मारेकै हुँ।‘ 

प्रहरीले ‘कसरी मारिस्?’ भनेर सोध्दा उसले भनेको थियो, ‘हान्दिएँ नि, खुकुरी हानेर छप्काइदिएँ।‘ 

निर्मलाको शवमा खुकुरीको चोटको कुनै संकेत थिएन। हत्या स्वीकार गर्ने जीवन मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् भन्ने चाल पाएपछि यिनी पनि शंकाको घेराबाट बाहिरिए।

अब, हिरासतमा बाँकी थिए चक्र। शंकाका केही आधार थिए तर ठोस प्रमाण थिएन। उनीमाथि थप अनुसन्धान सुरु हुन्छ। 

‘सेतो सर्ट लगाएको, पातलो कद, हल्का दाह्री पलाएको एउटा केटो निर्मलाको साइकल देखिएको दिन यतै बसेको देखेको थिएँ,’ एक स्थानीयले प्रहरीलाई दिएको जानकारी ठ्याक्कै चक्रको हुलियासँग मिल्न जान्थ्यो। हुलियाले पनि प्रहरीको शंकालाई बलियो बनाउँदै थियो। 

घरमा गर्भवती श्रीमती। बुबा अनि एक जना भाइ र बहिनी। दाजु महेश रोल्पाको प्रहरी चौकीमा कार्यरत। भाउजु भारतको बनवासा गएकी। बुबा र बहिनी घटना भएको भनेर अनुमान गरिएको दिउँसो साढे २ बजेदेखि ४ बजेको समयमा घरमै थिएनन्।  

शंकाको एउटा दृश्य यस्तो उब्जियो – निर्मला पानी परेकाले  साथीको दाइ चक्रको घरमा ओत लाग्न पुगिन्। गर्भवती श्रीमतीबाहेक अरु कोही घरमा नभएको अवस्था। श्रीमती पनि एउटा कोठामा सुत्न गइसकेकी। 

एक्लै भएको बेला तीव्र यौनइच्छाको सम्भावना। त्यही झोकमा अर्को कोठामा वा उखुघारी छेउको चौरमा बलात्कार। घटनापछि चिनिने डरले घाँटी थिचेर मारी हत्या अनि राति कसैले थाहा नपाउने गरी उखुबारीमा लगेर फालेका त होइनन्?

अनुसन्धानकर्मीको शंकालाई थप बल दिने काम उनकै ११ वर्षका भाइ गौतमको कुराबाट हुन्छ। 

साइकल भेटिएको दिन नै दिउँसो ३ बजे आएका गौतमलाई चक्रले सानिमाकहाँ पठाए। सानिमा कहाँबाट साँझ ६ बजेतिर फर्किएका उनलाई लगत्तै चक्रले फेरि भाउजुको माइत पठाए। 

भाइलाई भाउजुको माइतमा किन पठाउनु पर्‍यो? अनुसन्धानकर्मीले यो प्रश्नको जवाफ पाउन सकेका थिएनन्। जसले शंका दरिलो बनाइरहेको थियो।

निर्मलाको शव भेटिएको ठाउँमा गएका छौ कि छैनौ भनेर सोध्दा परिवारबाटै फरक फरक कुरा आएको थियो। पटक पटक प्रहरीले चक्रलाई प्रश्न गरेको छ। र, हरेक पटक उनले आफू उखुबारीमा जाँदै नगएको बताएका छन्। 

प्रहरीले उनको मोबाइलको कल डिटेल रेकर्ड र कल लोकेसन सबै हेर्छ। कल डिटेलमा कुनै शंकास्पद कुरा भेटिन्न। त्यसपछि उसको मोबाइल अनुसन्धानका लागि काठमाडौँको डिजिटल फरेन्सिक ल्याबमा पठाइयो। 

यस्तो ल्याबबाट मोबाइलमा डिलिट भइसकेका फोटो, च्याट लगहरु आदि पनि रिकभर हुनसक्छ।   

चक्रलाई हिरासतमा नै राखी प्रहरीले अरूतिर पनि अनुसन्धान गरिरहेको हुन्छ। केही दिनपछि ल्याबबाट रिपोर्ट आउँछ, जुन देखेर अनुसन्धानमा जुटिरहेको प्रहरीको टिम आफैँ चकित हुन्छ।

रिकभरपछि चक्रको मोबाइलमा घटनास्थलका १२ वटा फोटो भेटिए। त्यसो त, श्रीमतीको बयानबाट नै झुटो साबित भइसकेका थिए, चक्र। श्रीमतीले त शव भेटिएको ठाउँमा गएकै बताएकी थिइन्। 

आखिर किन उनले झुट बोले? 

चक्रको बयान झुटो साबित भएपछि प्रहरीले जिल्ला अदालतबाट सार्वजनिक अपराधमा म्याद थप गरी अनुसन्धान गरिरहेको थियो। अदालतबाट उनीमाथि अनुसन्धानका लागि दोस्रो पटक पनि म्याद थप भयो।

डिजिटल फरेन्सिक ल्याबबाट रिपोर्ट आइसकेपछि पनि प्रहरीलाई चक्रले घटनास्थल जाँदै नगएको बताउँदै आइरहेका थिए। १२ वटा डिलिट गरिएका फोटो भेट्टाइसकेको प्रहरी उनलाई छोड्ने पक्षमा थिएन।   

त्यसैले चक्रलाई बकाउन प्रहरीले फरक फरक उपाय अपनाइरहन्छ। 

अन्ततः उनले नबोली सुखै पाएनन्। मुख खोले, ‘मोबाइलमा पाँच वटा फोटो थियो सर।’

चक्रको झुटको पर्दा खुल्दैछ। घटनास्थलमा नगएको भए कहाँबाट आयो फोटो?

‘मैले खिचेको हैन, अरुको मोबाइलबाट ‘सेयर इट’ मार्फत् सारेको हुँ,’ चक्रको दावी। 

प्रहरीले फेरि सोधे – ‘कसको मोबाइलबाट सारेको?’ 

तर, उनी नाजवाफ। 

हत्या गरेर शव फ्याँकेपछि त्यहाँको फोटो कसैले किन खिच्छ? त्यसको जवाफ भने प्रहरीले अनुसन्धानमा खोजेको देखिएन। 

अनुसन्धानको त्यो बिन्दुमा प्रहरीलाई हत्याराछेउ पुगे झैँ लागिसकेको थियो। तर, प्रमाण के त? यसको जवाफ भने प्रहरीसँग थिएन।

चक्रदेवको झुटले शंका त उब्जायो तर उनले घटना गराएको स्वीकारेनन्। न त गतिलो प्रमाण नै फेला पर्‍यो। 

अनुसन्धानका क्रममा निर्मलाको शवबाट ‘भेजिनल स्वाब’ निकालिएको हुन्छ। त्यसलाई ल्याबमा पठाउँदा त्यसमा पुरुष वीर्यको डिएनए भेटिएको रिपोर्ट पनि आइसकेको हुन्छ।

त्यसो भए डिएनए परीक्षण गरे तथ्य खुल्न सक्छ। बडुको रगत निकालिन्छ र काठमाडौँ पठाइन्छ।

धेरैलाई थाहा नहोला, प्रहरीले निर्मला हत्या बलात्कार प्रकरणमा पहिलो पटक डिएनए गराएका व्यक्ति चक्र बडु नै हुन्।

रिपोर्ट आउँछ, नेगेटिभ। अर्थात्, निर्मलाको योनीभित्र भेटिएको पुरुष वीर्यको डिएनए चक्र बडुको डिएनएसित मिलेन। 

अनुसन्धान फेरि शून्यमा पुग्छ। ५ हजार धरौटी बुझाएर ११ दिनपछि चक्र हिरासतमुक्त हुन्छन्।

‘ऊमाथि शंका गर्ने धेरै कारणहरु देखिएकाले नियन्त्रणमा लिएको देखिन्छ,’ कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले भने, ‘डिएनए नमिलेपछि ऊ अहिले हाम्रो अनुसन्धानको घेरामा छैन।’ 

जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसँग डिएसपी ज्ञानबहादुर सेती निलम्बनमा परेपछिमात्रै ओझा यहाँ सरुवा भएर आएका हुन्। 

आफैले बोलेका एकपछि अर्को झुटले चक्र प्रहरीको शंकाको घेरामा परेका थिए। चक्रले किन त्यसरी झुट बोले, अहिलेसम्म खुल्न सकेको छैन। 

अहिले उनी रोजगारीको सिलसिलामा फेरि पहिले झैँ भारत पुगिसकेका छन्। उनका बुबालाई भने हामीले कञ्चनपुरको धर्नास्थलमा भेटेका थियौं। उनी अहिले पनि ‘निर्मलाका लागि न्याय’को धर्नास्थलमा नै पुगेर आवाज उठाइरहेका छन्।

(महेन्द्र बमको सहयोगमा)

27th November 2018, 07:01 pm | ११ मंसिर २०७५ मा प्रकाशित

५) ‘रे’ मा रुमल्लिएको निर्मला प्रकरण

‘बम दिदी बहिनीलाई धेरै कुरा थाहा छ।’ 

महेन्द्रनगर बजारमा उत्रनेबित्तिकै भेट भएका धनुष बोगटीले हामीलाई जे सुनाए, त्यो हामीले काठमाडौँमा हुँदा सुनिआएकै कुरा थियो। हामी जति दिन महेन्द्रनगरमा बस्यौँ, सकेसम्म धेरैसँग अन्तर्क्रिया गर्न खोज्यौँ। चिया पसलमा गफियौँ, इ-रिक्सामा सँगै बस्नेहरुलाई सोध्यौँ। जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने ठाउँमा भेला भएकाहरुलाई सोध्यौँ। 

सबैका औँला तेर्सिन्थे, बम दिदीबहिनीहरुमाथि। 

धनुष फार वेर्स्टन युनिभर्सिटीमा पढ्छन्, त्यहीँ निर्मलाकी साथी रोशनीकी दिदी बबिता बम पनि पढ्ने। घटनापछि उनी कलेज जान सकेकी छैनन्। तर, धनुषले निर्मला प्रकरणपछि मात्र बबिता आफ्नै कलेजमा पढ्ने थाहा पाएका थिए।

निर्मला पन्तको हत्यापछिका धेरै घटनाका प्रत्यक्षदर्शी हुन् धनुष। महेन्द्रनगरमा लगाइएको कर्फ्यु अनि प्रहरीको गोली लागि एक किशोरको मृत्यु र अन्य कयौँ घाइते हुँदा यिनी प्रत्यक्षदर्शी थिए। यी सबै घटनाबारे धनुष जसरी स्पष्ट वर्णन गर्न सक्छन् निर्मला प्रकरणबारे आफैँ त्यति प्रष्ट छैनन्। ‘सबै कुरा अरूको मुखबाट नै सुनेको हुँ। सबै जनाले ‘रे’ मात्र भन्छन्। यस्तै थियो भन्ने भेटेको चाहिँ छैन,’ उनले भने। 

निर्मलालाई न्याय दिलाउन गठित संघर्ष समितिकी संयोजक मीना भण्डारीलाई हामीले तपाईँको विचारमा को होला त दोषी भनेर सोध्दा उनले भनिन्, ‘हामीलाई के थाहा? खोज्नु पर्‍यो नि सरकारले। हामीलाई जहिले पनि शंका लाग्ने त्यही घर हो।‘

उनले पनि बम दिदीबहिनीको घरतिर नै औँल्याइन्। 

‘रे’ को चक्कर

हामी महेन्द्रनगर पुग्दा निर्मलाको शव भेटिएको चार महिना भइसकेको थियो। तर, अझै पनि त्यहाँका चोकचोकमा यही घटनासँग सम्बन्धित हल्लाहरु चल्न कम भएको छैन। 

‘बम दिदीबहिनीको घरमा भिआइपीका छोरा र एसपीका छोरा थिए रे। उनीहरुलाई ‘त्यस्तै’ अवस्थामा निर्मलाले देखिछिन् रे। अनि हत्या गरेको रे।’

यो ‘रे’ वाला हल्ला हामीलाई धेरैले सुनाए।

त्यस्तै अर्को धेरै सुनिएको हल्ला थियो- ‘देउता चढ्नेकोमा हेराउन जाँदा निर्मलाको आत्माले ‘त्यो दिन मेरी आमा बम दिदीबहिनीको घरमा आउँदा म भित्रै थिएँ, मलाई आँखामा पट्टी बाँधेर जिउसमेत बाँधेर राखिएको थियो’ भनेकी थिइन् रे।’

जब, सत्य कुरा सोझो हिसाबमा थाहा पाइँदैन तब मानिसहरु यस्ता अन्धविश्वासबाट सत्यको पहिचानका लागि जुट्छन्। 

फोटो स्रोत : गुगल म्याप३७ वर्षअघि नमीता,सुनीता,नीरा र चुडामणि हत्या प्रकरणको नसुल्झिएको रहस्यको अनुसन्धान गर्ने नाममा पनि तत्कालीन अञ्चलाधीशले यस्तै अन्धविश्वासी काम गरेको विवरण तत्कालीन सिडिओ सूर्यबहादुर सेन ओलीले आफ्नो आत्मकथामा लेखेका छन्। 
 त्यसमा लेखिए अनुसार अञ्चलाधीश, कर्णेल, एसपी, स्याङ्जाको सिडिओ र उनी बसेर धामी बोलाएका थिए।  एउटा गाले, झुपुल्ले, कपाले, मोटो, छोटो, अग्लो गुरूङ। अर्को ठीक उल्टो – दुब्लो पातलो, सिखुटे, चुच्चे बाहुन।  

मोटे गुरुङ्गले आदेश गर्न थाल्यो। दुब्लो बाहुनले टुनामुना शुरू गर्‍यो।

‘हेर हेर मनुवा … म सुनीताको मसान … हावालाई … ल्याइदिन्छु। जे सोध्नु छ सोध मनुवा। सबै कुरा थाहा पाउलास्’ बाहुनले काम्दै भन्यो। तुरुन्तै हुँक्का छोडी, छोडी आइमाईको जस्तो रूञ्चे आवाजमा रुन थाल्यो अनि अया गर्दै …… कराउन , चिर्रिन ….. थाल्यो। सुनीतालाई मार्दाखेरि उसले भोगेको कष्ट प्रदर्शन गरेको जस्तो भान भयो।  एकछिनमै बक्न थाल्यो -‘म केके गरुँला, कत्रो मान्छे हुँला भनेर पढ्दै थिएँ। … घुम्न आएका बेला मलाई फकाएर ठूलो घरमा लगे अनि पाँच जनाले छुरी हानेर मारेका हुन्’ भनेर हूँ हूँ गरी रुन थाल्यो।

‘कसरी मारे? त्यहाँ कसरी लगे? त्यो कसको घर हो? मार्नेहरू कस्ता र कोको थिए?,’ अञ्चलाधीशले सोधे।

‘सिनेमा हेर्न भनेर त्यो घरमा ल्याए। माथिल्लो तलामा लगेर पालैपालो करणी गरेपछि घर पछाडि रुखको आडमा लगी छुरी हानी मारे। घर चिन्दिनँ, ठूलो घर हो, त्यो घरभन्दा दुई घरमाथि होटल छ। मार्ने ५ जना थिए। एउटा वनको पिउन पनि थियो। ऊ कहिले हामीतिर कहिले गुण्डातिर गर्थ्यो। … उसलाई पनि पछि मारी दिए।’

‘को हुन् ती पाँचजना – कस्ता थिए – नाम बताऊ।’

‘एउटा थानाको पुलिस अफिसर हो, नाम जान्दिनँ, अरूले सर भन्थे, एउटा त्यो पिउन, अरू ३ वटा गुण्डा हुन्, नाम जान्दिनँ’ भन्दै फेरि रुन थाल्यो।

एसपी सोध्छन् – ‘पुलिस अफिसर कस्तो थियो? नचिनेका मान्छेसँग कसरी सम्पर्क भयो? त्यस दिन कहाँबाट त्यहाँ आयौ?’
‘मारेर फाल्न बोकेर लग्यो?’

‘अँ पाँच जनाले बोकेर लगे र सेती नदीमा फ्याँकिदिए।’

‘के छुरी नै हानेको?’

‘हो, छुरी हानी हाल्यो छातीमा, म बेहोस भइहालेँ। छुरीले हानी मारेको हो।’

ओलीलाई भने यस्तो कुरा बेफ्वाँकको लाग्यो। किनभने पोष्टमार्टममा छुरी हानेको देखिएकै थिएन।

तर, अञ्चलाधीशदेखि सेना र प्रहरीसम्मका अधिकृत अनुसन्धानको नाममा यस्तो नौटंकीमा फँसेका थिए। 
३७ वर्षपछि पनि नेपालीको सोच बदलिएको छैन। फरक के छ भने यस पटक महेन्द्रनगरमा धामी बकाइएको ठाउँ यही हो भनेर बताउने कोही थिएनन्। सबै ‘रे’को भरमा कुदेका थिए। 

हामीले भेटेका शिक्षक र वकिलजस्ता बुद्धिजीवी वर्गकाहरु भने अरु झैँ ‘रे’ का भरमा कुदेका देखिएनन्। उनीहरु संयमित किसिमले बोल्थे। तर, शंका उठ्ने वातावरण ‘उनीहरु’ले नै बनाएको भएर शंका उठेको बताउन भने चुक्दैनन्। मिडियामा आएका कुराले झन् अन्यौलमा पारेको उनीहरुको बुझाइ छ।

महेन्द्रनगर बजारबाट २ नम्बर गल्ली छिरेर करिब २ सय मिटर पर गएपछि तिवारी मेडिकल पसल भेटिन्छ। पसल पनि निर्मलाको चर्चाबाट अछुतो छैन। मेडिकलका सञ्चालक वीरेन्द्र तिवारी हुन्। उनी प्रहरीको अनुसन्धानप्रति खासै सन्तुष्ट देखिएनन्। हरेकको जस्तै उनको पनि कन्सपिरेसी थेउरी छ। 

यस्तो हुनसक्छ है भनी उनले सुनाएका कुरा यस्तो थियो- बम दिदीबहिनीको घरबाट उनीहरु ओपेरा होटलमा आए होलान्। त्यहाँ पार्टीसार्टी के थियो, रक्सीसक्सी खाए होलान्। त्यसपछि घर फर्कँदा आमाले थाहा पाउने डरले बमकै घरमा बसेकी होलिन्। राति त्यहाँ घटना भयो होला र लाश फ्याँके होलान्।

कसले?

उनी भिआइपी कोही होला भन्ने शंका गर्छन्।

यो अलि फरक खालको अनुमान थियो। हामीले काठमाडौँमा हुँदा धेरैको अनुमान, व्यक्तिमा एसपीका छोरा र मेयरका भतिजा अनि घटनास्थलमा ‌ओपेरा होटल भन्ने सुनेका थियौँ। महेन्द्रनगरमा एसपीका छोरालाई शंका गर्ने कमै देखिए। 

हाम्रा साथी महेन्द्र बमले सुनाए, ‘अहिले मात्रै हो यस्तो। पहिले त एसपीका छोरालाई नै शंका गर्थे।‘ 

डिएनए रिपोर्ट नेगेटिभ आएपछि एसपीका छोरामाथिको शंका कम हुँदै गएको हामीले देख्यौँ। 

महेन्द्रनगर बजारबाट करिब २ किलोमिटर पर नेपाली सेनाको २५ नम्बर बाहिनी पार गरेपछि निर्मलाको घर पुगिन्छ। त्यहाँका बासिन्दाहरु निर्मला प्रकरणमा खासै खुलेर बोलेको पाइँदैन। उनीहरू कसैलाई दोष लगाउँदैनन्। केवल एउटै कुरा भन्छन्- ‘हत्यारा चाँडो पत्ता लागोस्।’

हामी पुग्दा निर्मलालाई न्याय माग्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि निर्मलाका आमाबुबा २४ घन्टे धर्नामा बसेका थिए। धर्नामा पुग्ने सबैको एउटै भनाइ थियो, ‘बम दिदी बहिनीलाई सबै कुरा थाहा छ। समातेर एक दुई लात हान्नुपर्छ, सबै भन्छन्। हामीलाई दिनुहोस् हामी ३ घण्टामा सबै ओकल्ने बनाइदिन्छौं।’

महेन्द्रनगर बजारमा अटो रिक्सा चलाउनेले राजेन्द्र बडुले सुनाए, ‘बम दिदीबहिनी त आइमाई हुन्। तर, यहाँ घटना एसपीको छोरा र मेयरको भतिजाले गरेको भन्ने पनि हल्ला छ। बम दिदी बहिनीलाई समातेर केरकार गर्दा थाहा हुन्छ।’

उनलाई बम दिदीबहिनीलाई प्रहरीले हिरासतमा राखेको समेत थाहा रहेनछ भन्ने लाग्यो। हामीले भन्यौं, – ‘अनि उनीहरुलाई त समातेका थिए नि त।’ 

उनले आक्रोशित हुँदै जवाफ फर्काए, ‘समातेर नानी, मासु खाने कि के खाने भनेर मेजबानी गरेर राखेर सोधेपछि कसैले बताउँछ?’

बम दिदीबहिनीहरुप्रतिको आक्रोश यति थियो कि केही अघि बजारबाट आएको एक हुलले बम दिदीबहिनीको घरमा आक्रमण गरेका थिए। उनीहरुले हानेका ढुंगाले घरको झ्यालका शिशा फुटेका छन्। 

निर्मलाको घर नजिकै भेटिएका दमाइ बाजेले ‘बम दिदीबहिनीको घरसम्म एसपी मर्निङ वाकको लागि आउने गरेको सुनेको’ बताए। आक्रोशित हुँदै भने, ‘अरु बाटो थिएनन्? किन आउनु त्यो बाटो!’

निर्मलाको छिमेकी एक महिलाले भनिन्, ‘त्यो एसपी डोके रहेछ। दुनियाँ साथीसँग बुझ्याँ हुम्। मुख देख्दै रिस उठ्न्या।’ 

महेन्द्रनगरका बासिन्दामात्रै हैन, निर्मला प्रकरणबारे अनुसन्धान गरेर प्रतिवेदनसमेत सार्वजनिक गरेका नेपाल मानव अधिकार सङ्गठन (ह्युरोन) अध्यक्ष इन्द्र अर्याल निर्मला प्रकरणमा राज्यको ओहदामा बसेका ठूला व्यक्ति वा उसका सन्तानले घटना गराएको निष्कर्ष निकाल्छन्।

घटनाको प्रकृति हेर्दा सामान्य मानिसले पनि घटना बम दिदीबहिनीको घरसँग सम्बन्धित भएको थाहा पाउने उनको दाबी छ। उनी भन्छन्, ‘यो घटनाको दोषी भनेको राजनीतिक संरक्षण प्राप्त उच्च व्यक्तिको सन्तान वा उच्च व्यक्ति हुनसक्ने प्रबल सम्भावना छ।‘

यी हुन् हल्ला

काठमाडौँमा सुनेका कुरा, सामाजिक सञ्जाल र इमेलमार्फत् यही शृङ्खलाका पाठकहरुसँगको अन्तर्क्रियापछि निर्मला प्रकरणमा हामीले यी ‘रे’ धेरैले सुनेको र तथ्य खोजी गर्नुपर्ने ठानेका छौँ –

•     बम दिदीबहिनीहरुको घरमा नेता, आर्मी, पुलिस लगायत भिआइपीहरुको आवतजावत हुन्थ्यो। त्यो घरमा दिदीबहिनीमात्र बस्थे। उनीहरुको चरित्र ठीक छैन। 

•    एसपी विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर आयुष विष्ट पनि त्यो घरमा जाने गर्थे। (मिडियामा समेत यो विषय आएको छ)

•    बम दिदीबहिनीको घरमा घटना भएको हुनुपर्छ। नभए अम्बाको रुख किन काटियो, घरमा रङ किन लगाइयो? एउटा कोठाको ढोका उनीहरुले नखोलेर बन्द गरेका छन् रे। किन?

•     यो कुकृत्यमा कुनै भिआइपी वा उसको छोराको संलग्नता छ। त्यसैले व्यवस्थित रुपमा प्रमाणहरु नष्ट गरिएका वा नष्ट गर्ने आदेश दिइएका हुन्। घटनास्थलमा कुकुर किन प्रयोग गरिएन?

•    त्यो दिन ओपेरा होटलमा एसपीका छोराको बर्थ डे पार्टी थियो। मोडल बनाउने भनी निर्मलालाई त्यहाँ लगिएको थियो र बलात्कारपछि हत्या गरियो। 

•    निर्मला हराएपछि साइकल जता भेटियो, लाश पनि त्यतै होलान् नि भन्ने बम दिदीबहिनीको प्रतिक्रिया थियो। थाहा नभएको भए उनीहरुले कसरी त्यसो भन्न सक्थिन्?

•    निर्मलाकी आमाले बम दिदीबहिनीको घरमा निर्मलालाई खोज्न आउँदा उनीहरुले किन गेट बन्द गरेर भित्र पस्न दिएनन्? बबिताले पोइल गइहोलिन् नि किन भनिन्?

•     घटनास्थलमा भोलिपल्टमात्र कापी र अम्बा कसरी भेटियो? पानी पर्दा पनि कापी कसरी भिजेन? 

28th November 2018, 07:23 pm | १२ मंसिर २०७५ मा प्रकाशित

६) निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर

भीमदत्त नगरपालिकाका चार वटा वडाका बासिन्दाहरुको आवतजावत गर्ने मुख्य बाटोमै छ एउटा दुई तल्ले घर। 

बटुवाहरु औँला तेर्स्याउँदै भन्छन् – ‘निर्मला हराएको बम दिदी बहिनीको घर यही हो नि।’

धेरैको शंकाको घेरामा रहेको यो घर बाटोमै जोडिएको भने छैन। घरलाई चारैतिरबाट पर्खालले घेरिएको छ। एउटा फलामको सानो गेट छ। भित्र बारी र फराकिलो आँगन पनि।

दिदी बहिनीमात्र बस्ने घर भन्ने सुनेको हुनाले सिधै घरमा पस्नु ठीक लागेन। 

त्यसमाथि धर्नास्थलमा भएकाहरुले सुनाएका थिए – त्यो घर वरिपरि त पुलिस, सिआइडीहरु छ्याप्छ्याप्ती हुन्छन्। कहाँ पस्न दिन्छन् तपाईँहरुलाई!

बम दिदी बहिनीकहाँ सिधै जानु उचित लागेन। उनीहरु बारे हामीसँग भएका केही डकुमेन्ट फेरि हेर्नुपर्छ भन्ने लाग्यो। त्यो  दिन बाहिरैबाट जिपिएस लोकेसन लियौँ र बजारतिरै फर्कियौं।

प्रतिवेदनको ‘भेरिफाइ’ 

हामीसित निर्मला प्रकरणका दुई वटा प्रतिवेदन थिए – एउटा गृह मन्त्रालयले गठन गरेको सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको छानबिन समितिको प्रतिवेदन र अर्को नेपाल मानवअधिकार संगठन (ह्युरोन) ले गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन। 

असोज १० गते सार्वजनिक गरिएको ह्युरोनको प्रतिवेदनको दोस्रो बुँदा यस्तो छ –

प्रतिवेदनबाट बुझिने कुरा- 
दिदी बबिता बम ओपेरा होटलको डान्सबारमा डान्सरका रुपमा कार्यरत छिन्। उनी काम गर्ने ओपेरा होटलमै घटना भएको दिन बर्थ डे पार्टी भएको थियो र घटनासँग सम्बन्धित केही मानिस पार्टीमा जम्मा भएका थिए। यो बुँदामा स्थलगत अनुसन्धान र स्थानीयको भनाई मेल खाएको ठोकुवा पनि गरिएको छ। 

त्यसो भए ओपेरा होटलमा गएर यसको स्वतन्त्र पुष्टि किन नगर्ने? हामी लाग्यौं ओपेरा होटलतिर। 

महेन्द्रनगर बसपार्कबाट करिब ७ सय मिटरको दूरीमा छ, ओपेरा होटल। कञ्चनपुरकै राम्रो र महँगो होटलमध्ये एक मानिन्छ यो। 

होटेलमा काम गर्ने रविन्द्रप्रसाद तिवारीलाई हामीले सोध्यौँ। उल्टाखाम वडा नम्बर २ का वडा सदस्यसमेत रहेका उनले भने, ‘खै मैले काम गरेको ८/९ वर्ष भइसक्यो। अहिलेसम्म त यहाँ डान्सबार देखेको छैन।’

उनीसितको कुराकानीको अडियो सुन्नुस्।

उनी भन्छन् – ‘ओपेरामा डान्सबार भन्ने कुरा शतप्रतिशत गलत हो।’ 

उनले नदेख्ने गरी हामी ग्राहकका रुपमा फेरि यही होटलमा पुग्यौँ र चार तले यो होटलका सबै ठाउँ चहार्‍यौँ। तर, डान्सबार कतै देखेनौँ। 

काठमाडौँ आएर हामीले अनामनगर कार्यालय रहेको ह्युरोनका अध्यक्ष इन्द्रप्रसाद अर्याललाई भेट्यौँ। हाम्रो क्यामेरा अगाडि भने उनले होटेलमा डान्स बार नभएको स्वीकारे। 

तर, बबिता अर्कै डान्सबारमा डान्सर रहेको दावी गरिरहे। के नामको डान्स बार चाहिँ उनले बताउन सकेनन्। 

हामीसित ओपेरामा डान्सबार नभएको बताए पनि उनी, उनकै संगठनका महासचिव महामुनिश्वर आचार्य र नेपाल मानवअधिकार संगठन, कञ्चनपुर शाखाका सभापति त्रिभुवनकुमार भट्ट तीन जनाको अनुगमन टोलीको प्रारम्भिक प्रतिवेदनमा तयार पारेको हो। त्यसमा स्पष्ट रुपमा ‘बम दिदीबहिनी मध्ये जेठी बबिता बम डान्सबारमा डान्सरका रुपमा कार्यरत रहेको र घटना भएको दिन उनी कार्यरत ओपेरा होटलमा ‘बर्थ डे पार्टी भएको’ उल्लेख छ।

प्रतिवेदन पूरा पढ्न यहाँ क्लिक गर्नुस्।

यही प्रतिवेदनका आधारमा मिडियामा समाचारहरु बनेका छन्। र, त्यसकै आधारमा मानिसले एक किसिमको धारणा बनाएका छन्। 

तर, यस्तो संवेदनशील विषयको प्रतिवेदन पनि ‘रे’ का आधारमा कसरी बनेको होला? ओपेरा होटलमा डान्सबार नभेट्टाएपछि हाम्रो मनमा उठेको यो प्रश्नको जवाफ पाउन सकेनौं।

भैँसी एक वर्षअघि ब्याएको!

यसै प्रतिवेदनको सातौँ नम्बरको बुँदामा बम दिदी बहिनीको छिमेकमा भैँसी ब्याउन लागेको र त्यहाँ मान्छे जम्मा भएको उल्लेख छ। र, त्यहाँ भेला भएका मानिसले नै त्यहाँ ‘लाश/शव’ भन्ने शब्द सुनेको उल्लेख छ। बिहान ४ बजेतिर त्यो घरमा ट्याम्पु/टुकटुक आएको पनि उल्लेख छ। 

यो हाम्रो लागि महत्त्वपूर्ण ‘क्लु’ थियो। यसलाई हामीले भेरिफाइ गर्ने क्रममा मिडियामा प्रकाशित यो सामाग्री भेट्यौँ जसमा लेखिएको थियो –
 स्थानीय महिला समूह र अगुवाले आइजिपी खनालसमक्ष निर्मला हराएको बबिता र रोशनी बमको घरमा सोही दिन राति हल्लाखल्ला सुनेको बताएका थिए। आइजिपीसँगको छलफलका बेला उपस्थित पत्रकारका अनुसार छिमेकमा भैँसी ब्याएकाले साल नझरुन्जेल रुँगेर बस्दा त्यस्तो हल्ला सुनिएको उनीहरूको भनाइ थियो। (लिङ्क)
प्रतिवेदनमा उल्लेख भएका कुरा र पत्रिकामा उल्लेख भएका कुरा मिलेका छन्। हामीले छिमेकमा बुझ्न खोज्यौँ। 

माथिको गुगल म्यापमा देखिएका मध्ये एक नम्बरको घर बम दिदीबहिनीको हो। 

हामीले उनको घर नजिकैका छिमेकीसँग बुझ्न खोज्यौँ। किनभने माथि उल्लेख गरिएका नम्बरका घरहरुबाट बम दिदी बहिनीको कोठाभित्र भएका कुरा नदेखिए पनि घरमा हुने अरु गतिविधि प्रष्ट देखिन्छ। 

भदौ ६ गते बम दिदी बहिनीहरुको घरमा एक समूहले आक्रमण गरेको थियो। ढुंगा हानेर झ्यालका शिशा फुटाइदिएका थिए। त्यसैले छिमेकीहरु नयाँ मान्छेसित कुरा गर्न एकदमै डराउँछन्। ‘हामीले बोल्नुपर्ने ठाउँमा बोलेका छौँ, मिडियामा बोल्दैनौँ,’ भने सुरुमा हामीलाई। 

जुन घरबाट निर्मला हराएकी हो, त्यही घरबाट छानबिन हुनुपर्ने तर प्रहरीले छानबिनै गर्न नचाहेको आरोप धेरैको छ। आक्रोशितहरुले आफ्नै घरमा पनि आक्रमण गर्लान् कि भन्ने डर छ उनीहरुमा।

खोजबिनका क्रममा थाहा भयो- रिपोर्टहरुमा भनिएको भैँसी त्यो ठाउँको छिमेकमा पक्कै ब्याएको रहेछ। तर, करिब एक वर्ष अगाडि। १ नम्बरको घरको वरपरका घरहरुमध्ये २ नम्बरको घरमा मात्र भैँसी पालेको बुझियो। 

कुन घरमा भैँसी ब्याएको थियो र मान्छेहरु जम्मा भएका थिए? अनि लाश र शव भन्ने आवाज सुन्ने को-को थिए? कतै खुलेन।

‘रे’ भन्नेहरु चाहिँ धेरै भेटिए। 

भिआइपीको आवतजावत

बम दिदीबहिनीहरुको घरमा भिआइपीहरुको आवतजावत हुने गरेको कुरा पनि हामीलाई धेरैले सुनाए। 

ह्युरोनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले हामीसँग जिल्लास्थित उच्च व्यक्तिहरुसँग उनीहरुको उठबस हुने गरेको आफूहरुले बुझेको बताएका थिए।

हामीले मिडियामा यस्तो समाचार पनि भेट्यौँ –
 निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन्। त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ। त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे। उनीहरुका बुबाआमा दार्चुलामा बस्ने गरेका थिए। घरमा उनका छोरीहरु रोशनी र बबिता मात्रै बस्थे। निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन्। उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन।

स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्राय: आवत-जावत गरिरहन्थे। पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन्। अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन्। स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे। (लिङ्क)

माथिको गुगल म्यापमा देखिएको घरमध्ये २ नम्बरको घर देवी पाण्डेको हो। उनले हामीलाई भनिन् – ‘गाडी आउँछन्। भिआइपी मान्छे आउँछन् भन्ने छ। म नै अचम्ममा छु। म यति नजिकै छु। आजसम्म देखेको छैन। देखेको भए किन लुकाउनु पर्‍यो?’

बम दिदीबहिनीको घरमा गाडी पस्दैन। गाडी लिएर कोही आयो भने, कम्पाउन्ड बाहिरै पार्क गरेर भित्र जानु पर्छ।  

उनी थप्छिन्, ‘बबिता दिउँसो ट्युसन भनेर जान्थी। कहाँ जान्थी, के गर्थी त्यो चाहिँ म भन्न सक्दिनँ। तर रोशनी घरदेखि स्कूल मात्र गर्थी। त्यो म भन्न सक्छु।’

सुन्नुस् थप्न पनि सक्दिनँ लुकाउन पनि सक्दिनँ भन्दै अडियोमा उनी के भन्छिन्-

माथिको गुगल म्यापमा देखिएका मध्ये ३ नम्बरको घर गणेशप्रताप गुरुङको हो। सबभन्दा नजिकैको यो अर्को घर हो। गणेश र उनकी श्रीमती सुमित्रा दुवैसित हामीले सोध्यौँ। 

‘सब हावा कुरा। हल्लामात्र हो। हामी यहाँ बसेको कति भयो, एक जना पनि आएका छैनन्। एक जना देखेको मात्र भए हामी पनि यिनीहरुलाई धपाउँथ्यौं,’ गणेशले भने।

‘हाम्रो नजरमा कति पनि दोषी छैनन्। जिरो पनि दोषी छैनन्, ‘ सुमित्राले पनि यसै भनिन्। 

‘अनि आउँछन् भन्छन् त बजारमा, सबैले। किन त?’

सुन्नुस् गुरुङ दम्पतिसितको कुराकानी

‘हल्ला कहाँबाट चल्छ थाहा छैन। हामी छिमेकी कसैले देखेको छैन। हुनै नसक्ने हल्ला चल्छ। दिक्क लाग्छ अहिले त। उनीहरूले आँखाले नै देखे जसरी बोल्छन्,’ उनीहरुले भने।

निर्मला हराएको दिन साउन १० गतेको कुरा सम्झँदै सुमित्राले भनिन्, ‘साउन १० गते यहाँ डान्स, हल्ला खल्ला थियो रे भन्ने हल्लासमेत भयो। मेरी छोरी राति १२ बजेसम्म सुतेकी थिइन। हामी नेट चलाएर बसिरहेका थियौँ। त्यो दिन ९ बजेसम्ममा बत्ती निभाएर सुतिसकेका छन्, यिनीहरु।’

सुमित्राले अझ थपिन्, ‘उनीहरूको ठूला मान्छे कोही छैनन्। मेयरका भतिजा, एसपी कोही पनि आएका छैनन्। यो सय प्रतिशत गलत हो। दोष नभई बदनाम गराएका छन्। शङ्कास्पद गतिविधि भएको भए भन्थ्यौँ हामीले पनि। एक जना मान्छे पनि आएको भए आउँथे भन्थ्यौँ। मलाई मात्र हैन सबै छरछिमेकलाई सोध्दा हुन्छ। सबैले एउटै भन्छन्।’

राति ट्याम्पो आएको पनि थाहा नभएको उनीहरुले बताए। 

देवीले थपिन्, ‘यिनीहरूले गल्ती गरेको भए म पनि चार लात्ती हान्थेँ। उनीहरूलाई समाजबाट हटाउँथेँ। आज गल्ती गरे फेरि भोलि पनि गर्लान्। मेरी पनि छोरी छे। भोलि मेरी छोरीलाई गर्लान्। प्रमाण भए हामी नै लखेट्छौं।’

हामी काठमाडौँबाट त्यहाँ पुगेकाले कञ्चनपुरका सबैलाई स्थानीय बासिन्दा नै देख्छौँ। तर, महेन्द्रनगर बजारका ‘स्थानीय बासिन्दा’ जसरी बम दिदीबहिनीहरुमाथि औँला ठड्याइरहेका छन्, उनीहरुको घर छेउमै बस्ने छरछिमेकी स्थानीय ‘बासिन्दा’ हरु भने किन बचाउ गरिरहेका छन् त? 

यो प्रश्नको जवाफ हामीले भेट्न सकेनौँ। अनुमान चाहिँ लगायौँ, ‘रे’ को कारण।

पोलिग्राफमा चक्र बडु ‘फेल’, बबिता ‘पास’ 

टेम्पो चालकदेखि धर्नामा बस्ने नागरिक समाजकाले समेत बम दिदीबहिनीहरुलाई पक्रेर बकाउनु पर्ने प्रतिक्रिया दिन्छन्। 

प्रहरी चाहिँ किन उनीहरुमाथि छानबिनै गर्दैन त? सारा दुनियाँले औँला उठाइरहेकाहरुमाथि अनुसन्धान गर्नु पर्दैन? ठूला मान्छेको दबाबका कारण छानबिनै नगरेको हो त?

हामीले अनुसन्धानमा संलग्न विभिन्न स्रोतहरुसँग बुझ्यौँ। 

प्रहरीले उनीहरूको मोबाइल, कल डिटेल रेकर्ड, कल लोकेसन रेकर्ड, फेसबुक लगायत प्राविधिक पक्षको विस्तृत अनुसन्धान गरेको भेटियो। बहिनी रोशनीले कुनै पनि मोबाइल नचलाउने देखियो। 

दिदी बबिता बमले भने दुई वटा सिम प्रयोग गरेको देखिन्छ – नेपाल टेलिकमको र एनसेलको। बबिताले एनसेल नेट चलाउनका लागि र एनटिसीको भने फोन गर्नको लागि प्रयोग गर्थिन्। उनीहरुको घरमा वाइफाइ छैन। एनसेलको सिम राति ८ बजेपछि मात्र एक्टिभ हुने गरेको देखियो।

तीन महिनासम्म उनका दुवै नम्बरमा आउने र जाने फोनको बारेमा अनुसन्धान प्रहरीले गरेको छ। 

साउन १० गते जुन दिन निर्मला हराएकी थिइन्, बबिताले आफ्नो मोबाइलबाट साँझ साढे ५ बजेतिर मात्र कल गरेको देखिएको छ, आफ्नी आमालाई। करिब सात बजेतिर अर्को कल पनि गरेकी थिइन्। बबिताले प्रहरीलाई बताए अनुसार उनले दार्चुलामा रहेकी आमालाई निर्मलाकी आमाले घरमा आएर हप्काएको कुरा सुनाएकी हुन् दुवै कलमा। 

फेसबुकमा पनि बबिताको इन्गेजमेन्ट भएको केटाबाहेक अरूसँग कुरा गरेको देखिएको छैन।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेरबहादुर कठायतले बम दिदी बहिनी विरुद्ध कुनै पनि प्रमाण फेला नपरेको बताए। ‘उनीहरुको मोबाइलदेखि सबै कुराको अनुसन्धान गर्दा कुनै पनि ठोस प्रमाण भेटिएन,’ उनले भने।

शंकाको घेरामा परेका चक्रदेव बडुसँगै बबिताको पनि पोलिग्राफ टेस्ट गराएको थियो, प्रहरीले। बबिताको पोलिग्राफ टेस्टमा उनले झुटो बोलेको देखिँदैन। तर, चक्रदेवले भने पटक-पटक झुट बोलेको भेटिएको थियो।

झुटो बोलेको बाहेक चक्रदेवविरुद्ध प्रहरीले कुनै ठोस प्रमाण फेला पार्न सकेको थिएन। डिएनएसमेत नमिलेपछि चक्र छुटेका थिए र अहिले भारत पुगिसकेका छन्।  महेन्द्र बमको सहयोगमा

(यी त भए छिमेकीका कुरा। बम दिदीबहिनीहरु आफै चाहिँ के भन्छन् त? हामीले उनका बुबा दीपेन्द्रबहादुर बमलाई मोबाइलमा सम्पर्क गर्‍यौँ। उनी दिक्क भइसकेका झैँ लाग्यो मिडियादेखि। अहिले उनी र उनकी श्रीमती इन्द्रादेवी बम दार्चुलामा रहेछन्। युट्युबमा राख्ने भए हुँदैन, उनले सीधै इन्कार गरे। भिडियो खिच्ने हैन भनेपछि बल्ल उनी तयार भए। र, छोरीलाई फोन गरेर हामी आउने जानकारी दिए। बाबुको अनुमतिपछि बल्ल हामीले बम दिदीबहिनीहरुलाई भेट्न पायौँ। आफूमाथिका विभिन्न आरोपबारे उनीहरु के भन्छन् त? #WhoKilledNirmala को अर्को भागमा)

29th November 2018, 07:04 pm | १३ मंसिर २०७५

७) बबिताको त्यो बोली जसले उनीहरुलाई ‘अपराधी’ बनायो

दार्चुलामा रहेका बुबा दीपेन्द्रसँग बम दिदीबहिनीसित कुरा गर्न अनुमति माग्दा सुरुमा उनी पन्छिन खोजे। साथी महेन्द्र बमले सुदूरपश्चिमेली लवजमा हाम्रो उद्देश्य प्रष्ट्याएपछि मात्रै उनी तयार भए। अनलाइनबाट भनेकाले उनले हामीलाई युट्युबर ठानेका रहेछन्।

‘युट्युबवालाहरु त हरामी हुँदा रहेछन्, काटेर भिडियो राख्ने। के के हेडलाइन राख्ने, तलको कमेन्ट हेर्दा त तनाव नै हुने,’ बबिता बमले हामीसँगको भेटमा दिएको यस्तो प्रतिक्रियाले उनीहरुका बाबु सशंकित हुनुपर्ने कारण खुलाएको थियो।

निर्मला पन्त आएको देख्ने तर गएको नदेख्नेहरु भएका कारण सबैको शंका यही घरमा छ। अनि धेरै आरोपहरु उनीहरुमाथि लागिरहेका छन्। हामी यी आरोपहरुबारे उनीहरु के भन्छन् त भन्ने सुन्न चाहन्थ्यौँ। 

किनकि बम दिदी बहिनीबारे महेन्द्रनगर बजारमात्र होइन, सामाजिक सञ्जालमा पनि धेरै कुरा उठिरहेका थिए। मूलधारका मिडियामा बम दिदी बहिनीका विषयमा गृह मन्त्रालयको रिपोर्ट उदृत गरेरमात्र समाचार आएको देखिन्छ। ती समाचारमा उनीहरुसँग स्वतन्त्र रुपमा मिडियाले प्रश्न गरेको छैन।

बम दिदीबहिनीमाथि किन अनुसन्धान गरिएन?

बम दिदीबहिनीहरुमाथि अनुसन्धान नै गरिएन भन्ने एउटा आरोप छ।

तर बबिताले भनिन्, ‘म २० दिनसम्म हिरासतमा बसेकी थिएँ। एसपी दिल्लीराज विष्ट हुँदा दुई दिन र अर्को एसपी आएपछि १८ दिनसम्म राखेर केरकार गरेका हुन्।’

के के सोध्थे त? 

बबिताको दावी अनुसार राति १२/१ बजे पनि उठाएर सोध्थे। ‘हरे, के के मात्र सोधेनन्? जुत्ता कसले किनिदिएको? जुत्ता कुन दोकानबाट किनेको हो? यस्तो यस्तोसम्म सोध्ने के!,’ उनले भनिन्, ‘शारीरिक दु:ख दिएनन् तर मानसिक तनाव दिन्थे।’

गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा पनि प्रहरी निरीक्षक एकिन्द्रबहादुर खड्काले ‘शवको पोस्टमार्टम गरेपश्चात् बम दिदीबहिनीहरुलाई सोधपूछ तथा अनुसन्धान गर्न २४ घण्टा नियन्त्रणमा लिई प्रमाण केही नदेखिएकाले छाडिएको हो’ भनेका छन्। 

तत्कालीन एसपी दिल्लीराज विष्टलाई हटाएर एसपी कुबेर बहादुर कठायतले जिम्मेवारी सम्हालेपछि भने बबितालाई १८ दिन र रोशनीलाई ६ दिन हिरासतमा लिइएको थियो।

सोधपूछ त भएको छ तर तरिकासँग स्थानीय असन्तुष्ट छन्। महेन्द्रनगर बजारमा अटो रिक्सा चलाउने राजेन्द्र बडुले अघिल्लो दिन नै हामीलाई भनेका थिए, ‘समातेर नानी, मासु खाने कि के खाने? भनेर मेजबानी गरी सोधेपछि कसैले बताउँछ?’

धर्नास्थलमा पनि जुन घरबाट हरायो त्यही घरबाट अनुसन्धान गर्नुपर्ने, सबै कुरा बम दिदीबहिनीहरुलाई थाहा छ, उनीहरुबाट ओकल्न लगाउनु पर्छ भन्नेहरु थिए। 

अर्थात्, स्थानीयको माग बम दिदी बहिनीहरुलाई यातना दिएर भए पनि ‘कुरा ओकल्न लगाउनु पर्छ’ भन्ने छ। 

प्रहरीले उनीहरूको मोबाइल, कल डिटेल रेकर्ड, कल लोकेसन रेकर्ड, फेसबुक लगायत प्राविधिक पक्षको विस्तृत अनुसन्धान गरेको छ। तर त्यसबाट प्रहरीले यो घटनासँग सम्बन्धित कुनै पनि क्लु पाउन सकेको छैन।

निर्मलाकी आमालाई घरको गेट लगाएर किन भित्र पस्न दिइनन्?

निर्मला साँझसम्म घर नआएपछि उनकी आमा दुर्गादेवी पन्त खोज्न आएकी थिइन्। बजारमा हामीले सुनेका थियौं – बम दिदी बहिनीले दुर्गादेवीलाई घरको गेट लगाएर भित्र आउन दिएनन्। 

जति बेला निर्मलाकी आमा छोरी खोज्न आएकी थिइन्, त्यही बेला उनीहरुका छिमेकी देवी पाण्डे पनि त्यहीँ थिइन्। देवीको घर उनीहरुको घरभन्दा अगाडि रहेको सडक पारी छ। देवी आफ्नी सानी छोरी कृतिकालाई लिन बम दिदी बहिनीकहाँ आएकी थिइन्। 

‘साँझ म बच्चा लिन आउँदा अगाडिको ढोका बन्द थियो। म पछाडिको ढोकाबाट आएँ,’ उनले भनिन्। 

सडकसँगै जोडिएको भए पनि पर्खाल लगाइएको कम्पाउन्डमा फलामको एउटा सानो गेट छ। गेटभित्र पसेपछि सानो बारी र फराकिलो आँगन। त्यहाँ मूल ढोका छ। मूल ढोकालाई दायाँ पारेर जाँदा पछाडिपट्टि अर्को ढोका पनि छ। 

निर्मलाकी आमा छोरी खोज्न त्यहाँ आउँदा उनी पनि घरभित्रै थिइन्।

उनले हामीसँग निर्मलाकी आमा आउँदा के भयो यसरी सुनाइन् –
 ‘रोशनी र मेरी छोरी टिभी हेरेर बसेका थिए। तेरी दिदी खोइ भनेर मैले सोध्दा ट्युसन भनी। गाना हेर्दै थिए। रोशनीले बस-बस भन्दै थिई। मैले मेरो घरको ढोका खुल्लै छ बस्दिनँ भनेँ। मेरी नानी कम्मर हल्लाउँदै थिई। मैले नाच नानी समेत भनेँ। मेरी नानी उठेर नाचिहाली। एकैछिनमा बबिता आई। ऊ आएर एक साइडमा बसी। 

एकछिनमा निर्मलाकी आमा आइन्। मैले उनले बोलाएको आवाज चाहिँ सुनिनँ। गेटमा ढ्वाङ ढ्वाङ गरेको आवाज आयो। गेटमा को आएछ भनेर रोशनी हेर्न गई। हामी पनि पछि-पछि गयौँ। निर्मलाकी आमाले ‘रोशनी, निर्मला खोई बाहिर निकाल’ भनिन्। रोशनीले ‘गा हुन् गा हुन्’ भनिन्।

‘हैन आन्टी अघि नै गएकी चटपटेको पैसा दिएँ। अम्बा खायौँ,’ सबै भन्दै थिई रोशनीले।

मेरी छोरी घर पुगेको छैन। केही भए तँ जिम्मेवार हुन्छेस् भनेर निर्मलाकी आमाले भनिन्। त्यसपछि उनी फर्किँदै थिइन्। त्यसपछि यो (बबिता) छिटी भएर बोली ‘केरे केरे आन्टी, के भन्नुभयो तपाइँले? तपाईँकी छोरी यहाँबाट गइसकेकी थिई। हामी किन जिम्मेवार? कहाँ गई, पोइला पो गई कि भन्दिइन्। बा-बा हो, यत्ति हो। अनि म छोरी लिएर निस्किएँ।

पछि धेरै कुरा उठ्यो। गेट खुल्लै थियो। म यहीँ नै थिएँ। गेटमा ताला लगाएको समेत भन्ने हल्ला आउँछ। मलाई अचम्म लाग्छ। त्यसपछि र अगाडिको कुरा भन्न सक्दिनँ। मैले देखेको कुरा यत्ति हो।
‘पोइल गई कि!’ भनेको बबिता स्वयम् पनि स्वीकार्छिन्। उनले भनिन्, ‘रिसको झोँकमा तेरी छोरी पोइला गई कि कहाँ गई भन्नु मेरो एउटा गल्ती भयो।‘ 

त्यस दिन बरन्डाबाट बबिताले जे भनिन् त्यसोमात्र नभनेको र निर्मलाकी आमालाई भित्र बोलाएको भए अहिले यति धेरै शंकाको शृङ्खला चुलिने थिएन। निर्मलाकी आमा घर भित्र गइनन् भने बम दिदीबहिनीहरुले पनि उनलाई घरभित्र बोलाएनन्।

त्यसैले धामी देखाउँदा ‘आमाले बोलाउँदा मलाई घरभित्रै बाँधेर राखेको थियो’ भन्दै निर्मलाको आत्माले बकेको हल्ला चल्यो। 

निर्मलाको हत्या त्यही दिन दिउँसो २ देखि ४ बजेको बीचमा भएको अनुमान छ। यदि हत्या त्यही घरमा भएको भए, त्यतिबेला शव घरमै हुनुपर्थ्यो। 

‘अपराध गरिसकेपछि मानिस केही डराएको हुन्छ, सबुत छाडिएला कि भन्ने त्रास उसमा भइरहन्छ,’ अनुसन्धानमा पोख्त पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘त्यस्ता व्यक्ति घटनालगत्तै सहज रुपमा बस्नै सक्दैन। व्यवहार असामान्य नै हुने गर्छ त्यस्ता व्यक्तिको।’  

अब प्रश्न उठ्छ – लाश एउटा कोठामा राखेको अवस्थामा छिमेकीकी छोरीसँग गीत बजाउँदै नाच्दै गर्न सक्छन्? 

‘निर्मलाकी आमाले पनि मलाई देखेकी थिइन्। हामी छिमेकीलाई भनेको भए हामी नै यिनीहरूको घर घेर्ने थियौँ। मलाई शङ्का छ हेर्दे भनेको भए हामी नै हेर्थ्यौँ,‘ देवीले भनिन्, ‘मैले साँचो कुरा बताउँदा मलाई बम दिदी बहिनीहरुले पैसा खुवाए भन्ने समेत आरोप लाग्यो। म त साँचो कुरा बताउन डराउँदै डराउँदिन।’ 

निर्मलाकी आमाले गेट लगाएको थियो भन्ने र छिमेकी देवीले लगाएको थिएन भन्ने दुवै कुरा बाझियो। गेट बन्द थियो कि थिएन भन्ने स्वतन्त्र पुष्टि हामीले कतैबाट गर्न सकेनौं। 

त्यही दिन निर्मलाकी आमा दुई पटक आएकी थिइन्। रोशनी भन्छिन्, ‘दोस्रो चोटी आन्टीले राम्रो कुरा गर्दै थिइन्। कस्तो लुगा लगाएको यो – त्यो भन्दै थिइन्। मैले त दोस्रो पटक घरभित्र नै बोलाएकी थिएँ। उनलाई हामीमाथि शङ्का थिएन। दिदीको एउटा बोलीले मात्र कुरा बिग्रिएको हो।’ 

हामीले बुझे अनुसार बबिताको बोली र व्यवहार अलि छुच्चो छ। त्यही छुच्चो बोली व्यवहार उनीहरुमाथि शंका उब्जनुको प्रमुख कारण भयो, यस घटनामा।

साइकल जहाँ छ, लाश पनि त्यहीँ होला भनिन्?

साउन ११ गते साइकल भेटिएको भन्ने कुरा श्रीमानसँग हुँदा नजिकै रहेकी बबिताले ‘साइकल भेटिएछ, लाश पनि त्यतै भेटिएला भनेको’ बयान गृह मन्त्रालयको छानबिन समितिलाई क्वीन ब्युटी पार्लरकी सञ्चालक रुपा कार्कीले दिएकी छिन्। 

बबिताले उनको बयानलाई झुटो भनिन्। ‘मैले भनेकी छैन। पार्लरमा रुपा कार्कीहरूले नै कुरा गरेको सुन्दै थिएँ। बरु उनीहरूले ‘साइकल त्यहाँ भेटिए, लाश पनि भेटिन्छ, त्यहाँ केटाहरू पनि बस्थे’ भनेका हुन्। मैले केही भनेकी छैन।’

उनले यसो भनेको सुन्ने अरु कोही नभएकोले यो कुरा बबिताले भनेकी हुन् कि हैनन् पनि हामीले स्वतन्त्र रुपमा पुष्टि गर्न सकेनौँ। 

डान्सबार र डान्सरको कुरा

बबिता डान्सर भएको र ओपेरा होटलको डान्सबारमा काम गर्ने नेपाल मानवअधिकार संगठनको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन पूरा पढ्न यहाँ क्लिक गर्नुस्।

‘मेरो काम कलेज पढ्नेमात्र हो। डान्स बारमा काम गर्ने झुट हो। मलाई कसैले यसबारेमा सोधेको नि छैन। मेरो चरित्र हत्या गर्न खोजेको हो,‘ बबिताले भनिन्। 

अनुसन्धानले पनि उनले कुनै डान्सबारमा काम गर्ने देखाएको छैन। 

संगठनको प्रतिवेदन सार्वजनिक हुँदाको दृश्य, संगठनका अध्यक्ष इन्द्र अर्याल र बबिता बमको प्रतिक्रियासहितको भिडियो हेर्नुस्-

बबिताले चर्चामा रहेको ओपेरा होटेललाई बाहिरबाट मात्र देखेको र कहिल्यै भित्र नगएको दावी गरिन्। उनले मेयरको भतिजा र एसपी विष्टका छोरा किरण विष्ट कसैलाई नचिन्ने पनि बताइन्। 

उनीहरुको कल डिटेल र फेसबुकमा प्रहरीले गरेको अनुसन्धानबाट पनि मेयरका भतिजा र विष्टका छोराबीच सम्पर्क भएको देखिएको छैन।

‘पहिले मेयरका छोरा भनेर हल्ला चलाए। पछि छोरा सानो रहेको चाल पाएछन् अनि मेयरका भतिजा भन्न थालेका हुन्। मेरो कसैसँग चिनजान छैन,‘ उनले दावी गरिन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीसँग बम दिदी बहिनी बसेको फोटो पनि आयो। तर, बबिता दावी गर्छिन्- ‘मैले प्रधानमन्त्रीलाई टिभीमा मात्र देखेको हो।‘ 

प्रधानमन्त्रीले भदौ २० गते जनतासँग प्रधानमन्त्री टेलिभिजन कार्यक्रममा बम दिदीबहिनीको पक्षमा बोलेका थिए। 

दिदीको कलेज छुट्यो, बहिनीको स्कूल

कसैले कुनै अपराध गरेको भए पनि अदालतले दोषी प्रमाणित नगरुन्जेल ऊ अभियुक्तमात्र हुन्छ। तर, बम दिदी बहिनीको हकमा भने यो लागू हुन्न। अधिकांशले बम दिदी बहिनीलाई नै दोषी ठानेका छन्। तर, प्रमाण भने जुट्न सकेको छैन। रोशनी भन्छिन्, ‘अहिले बाटोमा जति पनि मान्छे हिँड्छन् हाम्रो घरमा नै औला र आँखा लगाउँछन्। सबै जना यही घर हो भन्छन्।‘

बबिता फार वेस्टर्न युनिभर्सिटीमा बिबिएस दोस्रो वर्षमा पढ्दै थिइन्। यो घटनाका कारण उनले परीक्षासमेत दिइनन्। साउनदेखि उनी कलेज गएकी छैनन्। 

बहिनी रोशनी पनि घटनापछि स्कूल गएकी छैनन्। उनी पढ्ने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डे भन्छन्, ‘रोशनी स्कूल आएकी छैनन्।‘

नौ कक्षा पढिरहेकी रोशनीलाई अर्को स्कूलमा पढाउनका लागि उनका बुबा सर्टिफिकेट लिन गएका थिए। तर, उनको ट्रान्सफर सर्टिफिकेट विद्यालयले दिएन। 

सर्टिफिकेट दिएमा जे पनि हुनसक्ने चेतावनी पाएपछि स्कुलले सर्टिफिकेट नदिएको एक शिक्षकले बताए। उनले नाम खुलाउन चाहेनन्। 

30th November 2018, 07:40 pm | १४ मंसिर २०७५ मा प्रकाशित

पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट

‘तपाईँहरु सिआइडी हो?’

स्थलगत रिपोर्टिङका लागि महेन्द्रनगर पुगेर सूचना संकलन गर्दैगर्दा एक महिलाले हामीमाथि शंका गरिन्।  

परिचयपत्र देखाएपछि बल्ल उनले हामी काठमाडौँबाट आएको पत्रकार भनेर विश्वास गरिन्। 

उनको छेउमै बसेका अर्का पुरुषले भने, ‘पुलिस  आए भने त सबै मिलेर कुटेर खेदाउनुपर्छ।’

उनको यो आक्रोशपूर्ण प्रतिक्रियाले त्यहाँ प्रहरीप्रतिको विश्वास कुन तहमा झरेको छ अनुमान गर्न सकिन्छ। 

‘अहिले त पुराना प्रहरी सबै फर्काएर नयाँ आएका छन् हैन र?’ हामीले सोध्दा समेत उनीहरुको जवाफ थियो-‘उस्तै त हुन् नि सबै।’

उनीहरुको यस्तो प्रतिक्रियाले प्रहरीप्रति स्थानीयको आक्रोशमात्र देखाउँदैन, अनुसन्धानमा जुट्न भनेर यहाँ पुग्ने प्रहरीलाई काम गर्न कति कठिन छ भन्ने पनि देखाउँछ।

‘स्थानीयको सहयोग हुँदा प्रहरीलाई अनुसन्धानमा अत्यन्तै सहज हुन्छ,’ पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल भन्छन्, ‘सहयोग भएन भने प्रहरीले अनुसन्धान त गर्छ तर निकै घुमाउरो र कठिन हुन्छ।’

उनी उदाहरण दिँदै भन्छन्, ‘कुनै ठाउँमा कसैलाई गोली हानेर भागेमा स्थानीयले देखेको भए फलानोले गोली हान्यो भन्छ। यस्तो लुगा लगाएको थियो, हुलिया पनि खुलाउँछ। र, स्थानीयले यतिखेर घटना भयो भन्ने जानकारी दिँदा अनुसन्धानमा सहज हुन्छ। त्यही कुरा दिएनन् भने प्रहरीले घुमाउरो र समय खर्चेर अनुसन्धान गर्नुपर्छ।‘ 

कञ्चनपुरमा प्रहरीप्रति यो हदसम्मको अविश्वास कसरी उब्जियो त?

प्रहरीकै व्यवहारका कारणले। 

घटनाको पहिलो जानकारी पाउँदादेखि नै प्रहरीले बेवास्ता गरेको र पीडित परिवारको विश्वास जित्न नसक्नुको परिणाम अहिले सिङ्गो प्रहरी संगठनले भोगिरहेको छ।

+++

पूरै जिल्लाको कमान्ड सम्हालिरहेका प्रहरी प्रमुख दिल्लीराज विष्टको कार्यालयको दूरी निर्मलाको शव भेटिएको ठाउँबाट करिब तीन किलोमिटर मात्रै छ। तर, पनि उनी घटनास्थलमा चार दिनपछि मात्रै पुगे।  घटनास्थलबाट नजिकै रहेको निर्मलाको घरमा परिवारलाई भेट्न पनि उनी पुगेनन्।

त्यस्तै लापरवाही निर्मलाको घर पर्ने वडा प्रहरी कार्यालयका इञ्चार्ज इन्सपेक्टर जगदीश भट्टले पनि गरे। भट्टको घर पनि सोही वडामा छ। उनले राति ८ बजे नै निर्मला हराएको खबर पाएका थिए। तर, चासो लिएको देखिन्न। गृह मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदनमा उनले भनेका छन्, ‘बिहान शव भेटिएर खबर पाएपछि मात्र घटनास्थल पुगेको हुँ।’

निर्मलाको शव भेटिएको उखुबारी लोकेन्द्र भट्टको हो। लोकेन्द्र जगदीशका भतिजा हुन्। समितिको प्रतिवेदनमा उनले भनेका छन्- ‘लोकेन्द्र भट्ट र मेरो घर सँगसँगै छ।’

बम दिदीबहिनीको घरबाट निस्केर करिब ४ सय मिटरको दुरी पार गरेपछि वरपर कतै घर नभएको सुनसान ठाउँ आइपुग्छ। बायाँतिर रुख र झाडी छ भने दायाँतिर खुला खेत। करिब २ सय ४० मिटर ठाउँ यस्तै छ।

त्यसभन्दा पर जाने हो भने, दुई वटा घर देखिन्छ। दायाँ लोकेन्द्र भट्टको घर र बायाँ चक्रदेव बडुको। वरपर अरु कुनै घर छैन।

प्रतिवेदनको बयानअनुसार निर्मला फर्कने बाटो वरपर नै इन्स्पेक्टर जगदीश भट्टको घर पनि छ। 

नहरको पानीमा रहेको भनिएको निर्मलाको साइकल बाहिर निकाल्ने माइलो भन्ने गोपाल चौधरी उनकै भतिजाको घरमा बसेको पनि प्रतिवेदनमा उल्लेख छ। 

विश्वास गुम्ने र शंका उब्जने कारण पहिलो दिनदेखि नै

छोरी घर नफर्किएपछि निर्मलाकी आमा दुर्गादेवी पन्त छोरीको साथीको घरमा दुई पटक जान्छिन्। साँझ ६ बजेतिर एक्लै र ७ बजेतिर छिमेकी लक्ष्मण भट्टसँग। तर, दुवै पटक दिउँसो नै घरबाट गइसकेको जवाफ पाउँछिन्। तर, घर पुगेकी हुँदिनन् निर्मला। त्यसपछि निर्मलाकी आमा प्रहरीको सहयोग खोज्न जान्छिन्। अस्थायी प्रहरी पोस्ट सल्लाघारीमा रिपोर्ट दिन पुग्दा मध्यरात भइसकेको थियो।

‘राति साढे १२ बजेतिर निर्मलाकी आमा आफै आएर घटनाबारे जानकारी गराएको हो,’यो प्रहरी चौकीका इन्चार्ज सई रामसिंह धामीले समितिलाई बताएका छन्, ‘रातिमा केटी मान्छेमात्र बसेको ठाउँमा जान नसकिने, भोलि बिहान जाउँला भनी पठाएको हुँ।’

प्रहरीले यो बिन्दुबाटै पीडितको विश्वास गुमाउन थालिसकेको थियो। धामीको बयानबाट निर्मलाकी आमाले बम दिदीबहिनीको घरमा गएर हेरिदिनु पर्‍यो भन्दै गुहारेको झैँ देखिन्छ। महिलामात्र बसेको घर भए महिला प्रहरी लिएर वा छरछिमेकीमार्फत् त्यो घरभित्र हेरिदिएको मात्र भए पनि पीडितको विश्वास जित्न सकिन्थ्यो।

त्यसो त धामी त्यो दिन पानी परेको बताउँछन्। तर, यसलाई मात्र कारण बनाउँदैमा प्रहरीले गरेको बेवास्ता ढाकछोप हुन्न । 

तत्काल नगए पनि बिहान साढे चार बजे नै प्रहरी बम दिदीबहिनीको घरमा गएको सई धामीले बताएका छन्। तर, त्यो दिन तत्काल रेस्पन्स गर्न चुक्दा प्रहरीले आफूमाथि शंका उब्जने वातावरण बनाएको हो।

यस्ता घटनामा प्रहरीले पीडित पक्षलाई विश्वासमा लिनु कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा काठमाडौंको रानीबारी हत्याकान्डले पनि देखाउँछ।

२०५९ सालमा काठमाडौंको रानीबारीमा इन्जिनीयर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको खुकुरी प्रहार गरी हत्या भयो। घटनाको एक दशक नाघ्दासम्म पनि प्रहरीले अपराधीको सुइँको पाउन सकेको थिएन। यो घटनामा पनि १८ वटा समिति बनेका थिए। 

हत्यारा पत्ता नलागे पनि प्रहरीले पीडित परिवारको विश्वास भने जितेको थियो। पीडित परिवारले कहिले पनि प्रहरी र सरकारको आलोचना गरेनन्। परिवारले दिएका सूचना र शंकालाई बेवास्ता नगरी प्रहरीले सुन्दै आयो। अन्ततः १२ वर्षपछि हेमन्त मल्ल ठकुरीको नेतृत्वमा रहेको सिआइबी टोलीले हत्या गर्ने मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गर्न सफल भयो।

निर्मलाको हत्या भएको लगभग एक महिनापछि भदौ ४ गते राजधानीको बबरमहलमा पूर्व राजदूत केशव झाको हत्या भयो। अहिलेसम्म हत्यारा पत्ता नलागे पनि पीडित पक्षले सरकार र प्रहरीको आलोचना गरेको देखिएको छैन। 

दोस्रो दिन घटनास्थलको दृश्यले प्रहरी अझ ‘नाङ्गियो’ 

निर्मला प्रकरणमा पहिलो दिनमात्र हैन, त्यसपछिका प्रत्येक घटनाक्रमले प्रहरीलाई पीडित पक्ष र अरुले पनि शंका गर्नुपर्ने स्थिति बनाएको छ।

निर्मला हराएको भोलिपल्ट बिहान ९ बजेतिर उखुबारीमा शव भेटियो। माउन्टेन टेलिभिजनका पत्रकार पुष्कर भट्टले घटनास्थलको भिडियो खिचेका थिए। त्यो टेलिभिजनमा प्रसारण पनि भएको थियो। सामाजिक सञ्जालमा पनि घटनास्थलको भिडियो र फोटो छ्याप्छ्याप्ती भइसकेको थियो।

यी फोटो र भिडियोले घटनास्थलको अनुसन्धानमा प्रहरी कति कमजोर रहेछ भन्ने छरपष्टै पार्‍यो। 

घटनास्थलमा सिन अफ क्राइम (सोको अफिसर) खटिने गर्छ। नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (सिआइडी) मातहत सोको अफिसर रहने गर्छ। 

विभागका प्रमुख एआइजी पुष्कर कार्की भन्छन्, ‘सोको अफिसरले घटनास्थल घेर्ने, रेखाङ्कन गरेर सुरक्षित गर्ने, प्रमाण जुटाउने, घटनाको विश्लेषण गर्ने काम गर्छ। घटनास्थलमा खटिनुअघि उनीहरुलाई ९० दिनको विशेष तालिमसमेत दिइएको हुन्छ।’

नेपाल प्रहरीले प्रत्येक अपराध अनुसन्धान गर्ने एकाईमा सोको अफिसर, प्रमाण संकलन गर्न सोको किट बक्सको समेत व्यवस्था गरेको छ। तर, भिडियो हेरेपछि प्रष्ट हुन्छ- यसको व्यवहारिक प्रयोग कति भयो?

घटनास्थलमा क्राइम सिन प्रोटेक्सन (पहेँलो) टेप लगाएर प्रवेश निषेध गर्नुपर्ने हो। त्यो छैन भने डोरी नै बाँधेर भए पनि सुरक्षित बनाउनु पर्ने हो, त्यसो गरेको देखिएको छैन। प्रहरी र सर्वसाधारण सँगसँगै उभिएर ‘तमासा हेरे जस्तो’ देखिएको छ।

अझ घोप्टो अवस्थामा फेला परेको निर्मलाको शवलाई उत्तानो पार्दा गुप्ताङ छोप्न शवकै छेउमा भेटिएको उनको सुरुवाल प्रयोग गरिएको छ। त्यो पनि पानीमा चोपल्दै।

सोको अफिसर हरसिंह धामी गृह मन्त्रालयको छानबिन समितिलाई भन्छन्,‘मैले त्यसो गरेको देखिनँ।’

प्रमाण संकलन र घटनास्थल संरक्षणमा तालिम पटक्कै छैन भन्ने गतिलो प्रमाण यो भिडियो नै छ।

घटनास्थल सुरक्षित नभए धेरै प्रमाण लोप हुनसक्ने  पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्। उनी भन्छन्,’घटनास्थल अनुसन्धानको लागि सुरक्षित हुनुपर्छ। मानिसलाई सहजै घटनास्थलमा छिर्न दिनुहुँदैन।’

उखुबारीभित्र प्रहरीले कसैलाई रोक्न  सकेन। न त कुनै सीमा रेखा नै बनाइएको देखियो। शव भेटिएपछि घटनास्थल पुगेका वडा सदस्य रविन्द्र तिवारी भन्छन्,’मैले जगदीशलाई कति पटक भनेँ, सबै मानिस घटनास्थलमा गइरहेका छन्, रोक्नुेपर्‍यो भनेर। तर, उसले वास्तै गरेन।’

घटनास्थलमा कुकुर किन प्रयोग नगरिएको भनेर पनि प्रश्न उठाइएको छ। 

कमान्ड कहाँ चुक्यो?

हामीले बुझे अनुसार कञ्चनपुर जिल्लाको जिम्मेवारी सम्हालिरहेका एसपी विष्टको कमान्ड यति फितलो थियो कि उनकै कार्यालयमा रहेका जुनियर प्रहरीहरुको समेत विश्वास उनले जित्न सकेका थिएनन्। उनका कतिपय अन्तरङ्ग कुरा त उनकै कार्यालयबाट उनकै मातहतका कर्मचारीबाट बाहिरिएको पाइएको छ। 

तर, प्रहरी चेन अफ कमान्डमा चल्ने संस्था भएकाले एसपी विष्टको कमान्डलाई मात्रै दोष दिएर प्रहरी नेतृत्व उम्कने ठाउँ छैन। प्रहरीको चेन अफ कमान्ड अनुसार घटनास्थलबाट एसपी विष्टले संघीय प्रहरी इकाई कार्यालयलाई रिपोर्ट गर्नुपर्थ्यो। त्यतिबेला त्यहाँ एसएसपी विक्रम चन्दको कमान्ड थियो।

एसएसपी चन्दले रिपोर्ट गर्नुपर्ने ठाउँ प्रदेश प्रहरी कार्यालय हो। त्यतिबेला त्यहाँ एसएसपी हरिराज वाग्लेको कमान्ड थियो। 

प्रदेश प्रहरी कार्यालयले रिपोर्ट गर्नुपर्ने ठाउँ सिधै मुख्यालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हो।

जघन्य प्रकृतिको अपराध भएकाले यो घटनाको रिपोर्ट आइजी तहसम्मै भएको हुन्छ। आइजीको निर्देशनबिना केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिँदैन। डिएसपी अंगुर जिसीको नेतृत्वमा सिआइबीको टोलीलाई आइजीले साउन १३ गते नै कञ्चनपुर खटाएको छ।

अब प्रश्न उठ्छ- घटनास्थलमा ‘सर्वसाधारणको चित्त बुझाउन भए पनि कुकुर प्रयोग गर’ भनेर संघीय प्रहरी इकाई कार्यालयबाट एसएसपी विक्रम चन्दले एसपी विष्टलाई नभनेको या भनेर पनि विष्टले नटेरेको? अथवा ‘कुकुर प्रयोग गर है’ भनेर प्रदेश कार्यालयले संघीय प्रहरी इकाई कार्यालयलाई नभनेको या भनेर पनि नटेरेको? 

घटनाक्रम हेर्दा लगभग एक महिनापछि भदौ ७ गते बल्ल प्रदेश प्रहरी कार्यालयले एसएसपी चन्दलाई छानबिन तथा अनुसन्धानका लागि कञ्चनपुर पठाएको देखिन्छ। जबकि, घटनाबारे शव भेटिएको तेस्रो दिन साउन १३ गते नै प्रतिनिधि सभामा समेत आवाज उठेको छ।

पपुलिस्ट बन्न खोज्ने आइजी

आइजी सर्वेन्द्र खनालको कमान्ड पनि यो घटनामा छरपष्टै भयो। एसपी विष्टमाथि अनुसन्धानमा लापरबाही गरेको र जिम्मेवारी नसम्हालेको मात्र आरोप थियो। तर, उनले आफ्नै एसपीको पनि डिएनए चेक गराउन लगाए। निर्मलाको भेजिनल स्वाबमा भेटिएको पुरुष वीर्यको डिएनएसित अरु डिएनए म्याच हुन्छ कि हुँदैन परीक्षण गरिएको हो। यस अनुसार बलात्कारमा संलग्न भएको हुनसक्नेको मात्र डिएनए परीक्षण गर्नुपर्ने हो।

अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपीलाई कानुन अनुसार विभागीय कारबाही गर्नुको साटो उनले शंकास्पद अभियुक्तका रुपमा डिएनए नै परीक्षण गर्न लगाए।

अपराधको अनुसन्धानमा अरु प्रमाणहरु भेटिएपछि वैज्ञानिक पुष्टिका लागि मात्र डिएनए चेक गराउनु पर्ने हो। तर, भिडको मागकै भरमा एसपी विष्टमात्र हैन, एसपी विष्टका छोरा किरण विष्ट र मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको पनि डिएनए चेक गरियो।

बलात्कारको एउटै घटनामा बाबुछोरा दुवैको डिएनए चेक गरियो। यसअघि अभियुक्तको डिएनए चेक भएको नभएको मिडियामा सार्वजनिक गरिँदैन थियो। यही घटनामा सबैभन्दा पहिला शंकास्पद व्यक्ति चक्रदेव बडुको डिएनए चेक भएको कुरा धेरै पछि मात्र सार्वजनिक भएको थियो। 

चार महिनासम्म निर्मला प्रकरणमा प्रहरीको भूमिकाबारे चर्को आलोचना भइरहँदा प्रहरी हेडक्वार्टरले औपचारिक रुपमा कुनै जानकारी दिन जरुरी ठानेन। हेडक्वार्टरले अनुसन्धानबारे औपचारिक रुपमा प्रष्ट नपार्दा हल्ला र ‘रे’ ले बजार लिइरह्यो।

सर्वसाधारण प्रहरीको आलोचना गर्दै थिए, आइजीले त्यसैमा हो मा हो मिलाउँदै आफ्नै सङ्गठनका व्यक्तिलाई ‘धमिरा’सम्म भन्न भ्याए। पपुलिष्ट भाषणमा नै उनी रमाए।

प्रहरीले अनुसन्धानमा समातेको ट्र्याकमा होइन, भीडको पछाडि नै कुदाए आइजीले प्रहरी सङ्गठनलाई। भिडले जे-जे भन्दै गयो, त्यसैमा सही थाप्नुतर्फ लाग्यो प्रहरी नेतृत्व। दशैंपछि आइजीको सिफारिशमा गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट हटायो।

भिडले अहिले सोधिरहेको छ, गल्ती नगरेको भए किन हटायो? गल्ती गरेको हो भने किन थुनेन?

आइजी खनाल यो विषयमा पनि केही नबोली चुप छन्।

हालसम्म अपराध अनुसन्धानमा अब्बल ठहरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) संलग्न अनुसन्धानमा प्रश्न उठेको थिएन।तर, अपराध अनुसन्धानमा पोख्त नभएका नारायणसिंह खड्काको कमान्डमा रहँदा भएको घटनाले यो संगठनसमेत नराम्ररी विवादमा मुछियो।

प्रमाण नजुटाई अभियुक्त सार्वजनिक गर्न हतार

पहिलो दिनदेखि नै प्रहरी र पीडितबीच विश्वासको संकट सुरु भएको थियो। समय क्रममा पीडितमात्र होइन, स्थानीय बासिन्दाको समेत प्रहरीले विश्वास गुमाइसकेको थियो। गुमेको विश्वास आर्जन गर्नेतर्फ प्रहरीले पटक्कैा प्रयास गरेन।

यही पृष्ठभूमिमा भदौ ४ गते प्रहरीले दीलिपसिंह विष्टलाई घटना संलग्न अभियुक्त भन्दै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो।

स्थिति त्यसपछि झन् बिग्रियो। 

एक त प्रहरीसँग विष्टलाई अभियुक्त भन्ने कुनै गतिलो प्रमाण नै थिएन। उसले दिएको भनिएको बयानले नै हत्यारा भन्ने निचोडमा प्रहरी पुगेको थियो। 

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरीले निर्मलाका बाबुलाई किटानी जाहेरी दिन दिएको दबाबले स्थिति अझ बिगार्ने काम भयो। निर्मला हत्या प्रकरणमा प्रहरीले एक जनालाई समातेको छ, सार्वजनिक गरेको छैन भन्ने खबर महेन्द्रनगर बजारभरि फैलिसकेको थियो। तर, को समातिएको हो भन्ने कसैलाई पत्तै थिएन। यतिसम्म कि निर्मलाका बुबालाई समेत कसको विरुद्ध जाहेरी दिन प्रहरीले लगाइरहेको छ भन्ने थाहा थिएन। प्रहरीले पनि जानकारी दिएको थिएन।

यसअघि शंकाको घेरामा परेका चक्र बडु जस्तै उनको पनि डिएनए परीक्षणका लागि पठाइएको हुन्छ्। तर, त्यसको रिपोर्ट नआउँदै प्रहरीले पत्रकार सम्मेलन गर्दै विष्टलाई सार्वजनिक गर्छ। प्रहरीको हतारो आफ्नै लागि खुट्टामा बन्चरो हानेजस्तै हुन पुग्यो।

केही सातापछि डिएनए रिपोर्ट आउँदा म्याच हुँदैन। यसपछि त झन् प्रहरी विवादमा पर्छ। 

डिएनए रिपोर्ट नआएसम्म चक्र बडुलाई जस्तै अभियुक्त भनी सार्वजनिक नगरेको भए उसै पनि विश्वास गुमाउँदै गएको प्रहरी अझ बढी आलोचना हुनबाट जोगिन्थ्यो, सायद।

तर, एउटा मानसिक सन्तुलन गुमेको व्यक्तिलाई नक्कली अपराधी बनाई प्रहरीले फँसाउन खोजेको भन्दै आन्दोलन चर्किएपछि एक जनाको ज्यानसमेत गयो, केही घाइते भए। कर्फ्यु लगाउनु पर्ने स्थिति बन्यो।

प्रोपोगान्डामा प्रहरी

पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी प्रहरीप्रति नै विश्वास गुम्दै गएको यो अवस्थालाई ‘लामो समयपछि सङ्गठनभित्र आएको ठूलो सङ्कट’ का रुपमा लिन्छन्। 

तर, यसलाई व्यवस्थापन गर्न भने प्रहरी चुकिरहेको छ।

बरु, प्रहरी आफू अनुसारको व्याख्या गर्दै कहिले घटनास्थलको फोटो, कहिले अभियुक्त दीलिपसिंह विष्टको भिडियो ‘लिक’ गरेर, कहिले मास डिएनए टेस्ट गर्दैछौं भन्दै ‘प्रोपोगान्डा’ मच्चाउन खोज्छ। तर, हरेक पटक उसको प्रोपोगान्डा उसैलाई ‘ब्याकफायर’ भएको छ।

हालैका दिनहरुमा निर्मला पन्तका पोस्टर च्यात्दै गरेको फोटो र भिडियोले पनि प्रहरीलाई अझ बदनाम गराइरहेको छ।

अहिले स्थिति यस्तो छ कि प्रहरीले साँच्चिकै अपराधी पत्ता लगाएर उभ्याउने हो भने पनि पत्याउने अवस्था छैन। विश्वासको संकटलाई निवारण नगरेसम्म  निर्मला प्रकरणले समाधान हैन समस्यामात्रै उब्जाउँछ। 

(निर्मला प्रकरण सुदूरपश्चिममा भएको एउटा अपराधको घटनामात्र अब रहेन। यो देशभर न्याय खोज्ने आन्दोलन पनि भएको छ। सरकार आफैले यो प्रकरणलाई अनावश्यक उत्तेजना र शंकाको घेरामा कसरी पुर्‍यायो? छानबिन र अनुसन्धानका लागि गठन गरिएको समितिका सदस्यको व्यवहार र प्रतिवेदनबाट किन उल्टै सरकार अप्ठेरोमा पर्‍यो? #WhoKilledNirmala को अर्को भागमा)

2nd December 2018, 07:59 pm | १६ मंसिर २०७५ मा प्रकाशित

९) निर्मला प्रकरणमा ‘भिआइपी’ कनेक्सन

‘अँ, फलानो भिआइपीका छोरा यो घटनामा संलग्न छन् रे भन्ने व्यापक हल्ला पहिलेदेखि छ यहाँ त,’ महेन्द्रनगर बजारमा घर भएका एक जना पसलेले हामीलाई सुनाए। 

काठमाडौँमा मंसिर ८ गते आयोजित जनसभामा विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले समेत भने, ‘सरकारका मान्छेहरु नै, सरकार चलाइराखेका मान्छेका छोराछोरी नै  निर्मला पन्तको हत्या र बलात्कारमा संलग्न छन् भन्ने प्रष्ट हुन्छ।’

हुनत यो पनि हामीले महेन्द्रनगरमा सुनेका धेरै हल्लाहरुमध्येको एउटा अर्को हल्ला हो। तर, सरकारका गतिविधिहरुले यो हल्लालाई चिर्ने हैन बढाउने काम गरिरहेको छ। 

पीडितको विश्वास जित्न नसकी एकपछि अर्को गल्ती गरिरहेको नेपाल प्रहरीको नेतृत्वलाई ट्र्याकमा ल्याई पीडित, स्थानीय बासिन्दा र सर्वसाधारणलाई कानुनी राज्यप्रति आश्वस्त बनाउने जिम्मेवारी राजनीतिक नेतृत्वको हुनुपर्ने हो। तर, न गृह मन्त्रालय न सरकार, कसैले पनि यो घटनाको गम्भीरता बुझेन। फलस्वरुप अहिले यो दुई तिहाईको सरकार फगत्- निर्मलाको एउटा पोस्टरदेखि त्रसित छ। र, डराएर च्यात्दै हिँड्ने अवस्थामा पुगेको छ। 

अनि सबैको मनमा परेको छ, यदि राज्यले हत्यारा र बलात्कारीलाई संरक्षण नगरेको भए किन यस्तो? 

***

गृहमन्त्रीको त्यो बोली

पहिलो दिनदेखि प्रहरीले गरेको बेवास्ताका कारण पीडित र स्थानीय बासिन्दाको सुरक्षा निकायप्रति विश्वास गुम्दै थियो। अनेक हल्ला चलिरहेका थिए, स्थानीय बासिन्दा आन्दोलित थिए।

तर, सरकारले यसलाई गम्भीर रुपमा लिएन।

शव भेटिएको पर्सिपल्ट प्रतिनिधि सभामा कांग्रेसलगायत प्रतिपक्षी सांसदहरुले घटनाबारे गृहमन्त्रीले जानकारी गराउनु पर्ने माग गरिरहँदा कञ्चनपुरबाट निर्वाचित सत्तारुढ नेकपाका सांसद दीपकप्रकाश भट्टले उनीहरुलाई ‘लाशमाथि राजनीति गरेको’ आरोप लगाए। 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्यसको पाँच दिनपछि संसदमा घटनाबारे जानकारी गराउँदै भने, ‘आफन्तले दिएको जानकारीका आधारमा दुई जनालाई पक्रिसकेका छौं- २२ वर्षका जीवन घर्ती मगर र १७ वर्षका दीपक नेगी।’

गृहमन्त्रीले पहिलो गल्ती त्यहीँ गरे। शंकाका आधारमा नियन्त्रणमा लिइएकालाई संसदको रोष्ट्रमबाट उनले अभियुक्त बनाइदिए।

पछि थाहा भयो, गृह मन्त्रीले अभियुक्त भनेर चिनाएका एक जना यौन रोगी र अर्का ‘खुकुरी हानेर निर्मलालाई मारेको हुँ’ भन्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेछन्। घटनामा संलग्न नभएको देखिएपछि उनीहरु रिहा त भए तर सरकारले नक्कली अपराधी खडा गर्ने प्रयास गरिरहेको सन्देश गृहमन्त्रीको त्यही वक्तव्यले दियो।

र, पछि भदौ ४ मा सिआइबीसहितको टोलीले घटनामा संलग्न भएको भनेर दीलिपसिंह विष्टलाई सार्वजनिक गर्दा ‘फेरि अर्को पागललाई फँसाउन लाग्यो’ भन्ने मानसिकताको विकासमा गृहमन्त्रीको त्यही बोलीले काम गर्‍यो।

गृहमन्त्रीले असोज १० गते राज्य व्यवस्था समितिको बैठकमा दिएको अभिव्यक्तिले पनि अनुसन्धानमा झनै शंका उब्जायो। उनले ‍प्रहरीले निर्मलाका बुबाको नक्कली औँठाछाप लिएको ‘खुलासा’ गरे

भएको के थियो भने जुन दिन निर्मलाको शव भेटिएको थियो, त्यतिबेला निर्मलाका बुबा यज्ञराज पन्त कान्छी श्रीमतीका साथ भारतमा राधेराधेको धार्मिक कार्यक्रममा थिए। उनीसँगैको टोलीमा रहेकी एक महिलाको भारतीय सिममा महिलाका दाजुले नेपालबाट फोन गरेपछि मात्र उनले घटनाबारे थाहा पाएका थिए। 

साउन १२ गते यज्ञराज फर्किएपछि प्रहरीले उनलाई सनाखती मुचुल्कामा हस्ताक्षर गर्न लगायो जसको मिति भने अघिल्लो दिन अर्थात् साउन ११ गतेको थियो। सनाखती मुचुल्का भनेको घटनास्थलमा भेटिएका सामानहरु सम्बन्धित व्यक्तिकै हो कि होइन भनी गरिने सनाखत हो जुन जतिबेला गर्दा पनि हुने विषय हो। यज्ञराजले हस्ताक्षरकै मुनि मिति लेखिदिएको भए यति धेरै शंका गर्नुपर्ने थिएन। गृहमन्त्रीले सनाखती मुचुल्का भनेको के हो भन्ने मात्र बुझिदिएको भए पनि संसदीय समितिमा यो विषय उठाउनै पर्ने थिएन। 

गृहमन्त्रीले आफ्नै लागि घातक हुने गरी लिएको त्यो निर्णय

भदौ ४ गते प्रहरीले निर्मलाको हत्या र बलात्कार गरेको भन्दै पत्रकार सम्मेलन गरी दीलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्‍यो। जबकि, प्रहरीसँग उसको बयानबाहेक अरु केही प्रमाण थिएन। डिएनए परीक्षणको समेत रिपोर्ट आइसकेको थिएन।

त्यसपछि आन्दोलन यति चर्कियो कि तीन दिनपछि जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाइयो। तर, त्यसको भोलिपल्ट गोली चल्दा १५ वर्षका सन्नी खुनाको ज्यानै गयो। 

ज्यान जाने गरी गोली चलेर कर्फ्यु लगाउनु परेपछि एसपी विष्टलाई भोलिपल्ट निलम्बन गरियो। 

जुन दिन एसपी विष्टलाई फिर्ता बोलाइएको थियो, त्यही दिन गृहमन्त्री बादलले एउटा उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेका थिए।

कालान्तरमा यही निर्णय उनका लागि ‘घातक’ हुन पुग्यो। 

यस्ता जघन्य प्रकृतिका अपराधको अनुसन्धानका लागि कि त न्याय क्षेत्रबाट कि अनुभवी प्रहरी अधिकृतबाट नेतृत्व गर्नुपर्ने चलिआएको अभ्यास विपरीत उनले यो समितिको नेतृत्व निजामती कर्मचारीलाई सुम्पिए।

गृह मन्त्रालयका सहसचिव (कारागार व्यवस्थापन विभागका महानिर्देशक) हरिप्रसाद मैनाली नेतृत्वको ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गर्दा गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको थियो- ‘विस्तृत छानबिन तथा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने गरी…’

प्रहरीको समेत संलग्नता भएको केस भन्दै गृहमन्त्रीले बहुचर्चित ३३ किलो सुनकान्डको छानबिन पहिलो पटक निजामती कर्मचारीको नेतृत्वमा अनुसन्धान गर्न लगाएका थिए जसले न ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लगाउन सकेको थियो, न सुन मगाउने को हो भन्ने नै। बयान संकलनको ठेलीसहितको प्रतिवेदन कति हचुवा रहेछ भन्ने अदालतबाट प्रमाणको अभावमा अभियुक्तहरु धमाधम छुटेपछि प्रष्ट भयो।

तर त्यसबाट समेत नचेती गृहमन्त्रीले दोस्रो पटक पनि निजामति कर्मचारीलाई नै यो घटनाको छानबिन गर्ने जिम्मा सुम्पिए।    

जघन्य अपराधको अनुसन्धान गर्न निजामति कर्मचारी अयोग्य रहेको बताउँछन् पूर्वन्यायाधीश बलराम केसी। उनी भन्छन्, ‘निजामति कर्मचारीले प्रहरीले गर्ने किसिमको अनुसन्धान गर्नै सक्दैन।’ 

उनका अनुसार कर्मचारीलाई अनुसन्धान गर्न दिनु गलत हो किनकि उनीहरुलाई अनुसन्धानको ज्ञान हुँदैन।

केसी भन्छन्, ‘पूर्व प्रहरी वा अन्य सुरक्षा निकायका व्यक्तिहरुलाई भने अनुसन्धानमा सहभागी गराउन सकिन्छ।’

छानबिन समितिका सदस्यको ‘प्रोपोगान्डा’

मैनाली नेतृत्वको यो उच्चस्तरीय छानविन समिति किन गठन गरियो भन्ने गृह मन्त्रालयले पनि गुमराहमा राख्यो, समितिले पनि गुमराहमा राख्यो। 

गृहमन्त्री बादलले सार्वजनिक रुपमा भन्दै हिँडे – ‘छानबिन हुँदैछ, निर्मलाको हत्यारा चाँडै पत्ता लाग्छ।’

सबैलाई लाग्यो- यही समितिले अपराधी पत्ता लगाउँछ। 

त्यहाँमाथि समितिका एक सदस्य उप-सचिव वीरेन्द्र केसीले जस्तो प्रोपोगान्डा गरे, त्यसपछि त सबैलाई लाग्न थाल्यो- अपराधी त निकै शक्तिशाली पो रहेछ। 

भदौ २५ गते रिपोर्टस क्लबमा गरिएको पत्रकार सम्मेलनमा उनले ‘शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले’ जीवन रक्षाका लागि सरकारमात्र हैन, संयुक्त राष्ट्र संघ नै समेत गुहारे। 

हेर्नुस् उनको प्रेस विज्ञप्तिको पूर्ण पाठ 

जो घटनाको छानबिन गरिरहेको छ, उसैले आफ्नो ज्यानको खतरा रहेको भनेपछि बजारमा चलेको शक्तिशाली र भिआइपी संलग्न अपराधीको हल्लालाई वैधता दिने काम भयो।

तर, उनको प्रोपोगान्डाको पर्दाफास त्यतिबेला भयो, जब भोलिपल्ट उनले गृहमन्त्रीलाई भेटे र राजीनामा फिर्ता लिएको घोषणा पर्सिपल्ट गरे। 

गृह मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै उनले भने, ‘गृहमन्त्रीज्यू र गृहसचिवज्यूलगायत विशिष्ट व्यक्तिसँग मेरो झण्डै एक–दुई घण्टा छलफल भयो। सो छलफलमा गृहमन्त्रीज्यू र मेरो धारणा एउटै रह्यो। तर बीचमा कम्युनिकेसन ग्याप भएका कारण बुझाइमा फरक भएको रहेछ। त्यसपछि म समितिमा फर्किन तयार भएँ।’

उनले छानबिन समितिको प्रतिवेदनमा आफ्ना कुरा पनि समेटिने भएकाले राजीनामा फिर्ता गरेको समेत बताएका थिए।

संयुक्त राष्ट्र संघसम्म गुहार्नु पर्ने गरी कसले उनलाई धम्की दिएको थियो, त्यो पनि खुल्यो। 

उनले त्यही पत्रकार सम्मेलनमा भने, ‘भदौ १५ गते एक्लै निर्मलाको साइकल भेटिएको स्थानमा छानबिन गर्न गएको बेला मोटरसाइकलमा एउटा मोटो मान्छे आयो। ‘सर तपाईँको काम चाहिँ एकदमै सराहनीय छ। तर, यहाँ चाहिँ योभन्दा अगाडि पनि ट्रकमा ब्रेक फेल भयो भनेर किचेर मारेका छन्। अरू साथी खोइ तपाईँको? भनेर सोधे। मैले उहाँहरू अलिक अगाडि हुनुहुन्छ भन्ने जवाफ दिएको थिएँ। म पानी नाप्न  गइरहेको थिएँ। उहाँले भन्नुभयो सार्कीलाई पनि ब्रेक फेल भनेर मारेका थिए। तपाईँ पनि ख्याल गर्नुहोस् है।’

यो सुझाव थियो कि चेतावनी थियो कि परिवारलाई समेत ज्यान मार्ने धम्की नै थियो भन्ने बारे छानबिन समितिका सदस्यले छानबिनै गरेनन्। 

सोमबार हामीसँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘अहिले यो विषयमा धेरै नभनौँ होला। त्यतिखेर धम्की आयो। अहिले भने केही छैन।’

उनको माग चाहिँ के थियो त?

‘प्रहरीबाट नै गल्ती भएकाले उनीहरुलाई फौजदारी मुद्दा लगाउनुपर्छ अनि मात्र पोल खुल्छ भनेको थिएँ,’उनले भने।

प्रतिवेदनको अन्त्यमा उनको थप राय समेटिएको छ। 

अपराधी पत्ता लगाउने समिति: हात्ती आयो हात्ती आयो फुस्सा

१५ दिनको अवधि दिइएको समितिको म्याद १५ दिन थप गरिएपछि असोज ९ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाइएको थियो। 

सार्वजनिक नहुँदासम्म प्रतिवेदनले अपराधी पत्ता लगाएको हुनुपर्ने अनुमान सबैको थियो। प्रतिवेदन सार्वजनिक नगरी सरकारले अपराधी लुकाउन खोज्यो भन्दै थप आलोचना भयो। तर, ११ दिनपछि जब प्रतिवेदन सार्वजनिक भयो, तब देखियो यसको हैसियत।

अपराधी पत्ता लगाउने ठानिएको उच्चस्तरीय छानबिन समितिले अनिता भन्ने बबिता बम ट्युसन सेन्टर गएको हो कि होइन समेत पत्ता लगाउन सकेन। अन्यौल चिर्नुपर्ने प्रतिवेदनले झन् अन्यौल थप्ने काम गर्‍यो।  शंका निवारण गर्नुपर्ने प्रतिवेदनले झन् शंका थप्ने काम गर्‍यो। 

शव भेटिएको ठाउँ नै घटनास्थल हो कि हैन भन्नेसम्म पनि प्रतिवेदनले पत्ता लगाउन सकेको देखिएन।

बयानमुखी प्रतिवेदनमा फलानोले यसो भन्यो, तिलानोले यसो भन्यो भन्नेमात्र छ। तर, क्रस भेरिफाइ गरेर हो चाहिँ के त भन्ने देखाउन सकेको छैन। 

एसपी विष्टका छोरा किरण विष्टले छानबिन समितिलाई बयान दिँदाको घटना स्मरण गर्दै हामीलाई भने, ‘मैले म Raw मा फोटो खिच्छु भनेको थिएँ, उनीहरुले कागजमा ‘कच्चा पदार्थ’ लेखेका रहेछन्।’ Raw व्यवसायिक फोटोग्राफरहरुले फोटो खिच्दा प्रयोग गर्ने फाइल फरम्याटको नाम हो।

प्रतिवेदनले किरण विष्टलाई झनै शंकाको घेरामा धकेलेको छ। निर्मला हराएको दिन उनी होटल ओपेरामा भएको प्रतिवेदनमा समेत उल्लेख गरिएको छ। किरणलाई उद्धृत गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘ओपेरा होटलको फेमिली रेस्टुरेन्टमा ऐश्वर्या विष्ट, साथी शिशिर र उनीसँग आएका तर मैले नचिनेका तीन जना केटीहरु पनि थिए।‘

ती केटीहरु को थिए भन्ने अनुसन्धान समितिले गरेको छैन। जसले गर्दा ती नाम नखुलेका केटीहरु कतै निर्मला र बम दिदीबहिनी त हैनन् भन्ने शंका उब्जिरहेको छ। जबकि ती केटीहरुमध्ये एक मेकअप आर्टिस्ट र अर्की उनकी साथी रहेको प्रहरीको अनुसन्धानमा खुलिसकेको छ। 

घटनास्थलमा कुकुर प्रयोग नभएको निश्कर्ष प्रतिवेदनले निकालेको छ तर कुकुर प्रयोग हुनसक्ने अवस्था थियो कि थिएन भनेर विज्ञहरुसित राय लिएको भने पाइँदैन। 

कारागार विभागका महानिर्देशकको नेतृत्व रहेको उच्चस्तरीय छानबिन समितिले कञ्चनपुर कारागारका नाइके टेकराज जोशीको समेत बयान लिन पुगेको छ। जसमा उनी भन्छन्, ‘यो निर्मला पन्तको हत्यामा उनको (दीलिपसिंह विष्ट) संलग्नता हुनै सक्दैन। उनले यो कार्य गरे भन्नेमा हामीलाई २०० प्रतिशत विश्वास छैन। गम्भीर षड्यन्त्र छ।’

कारागार भित्र बसेको एक कैदीले कारागार बाहिर भएको घटनामा अर्का ज्यान मुद्दामा कैद भुक्तान गरी रिहा भएका व्यक्तिको बारेमा १०० हैन २०० प्रतिशत विश्वास छैन भनी यकिनका साथ कसरी भन्न सक्छन्?

 कोही व्यक्तिले आफ्नो बाहेक अरुको बारेमा यसो गर्न सक्छ र यसो गर्न सक्दैन भनी जिम्मेवारी लिनै सक्दैन। यस्तो तथ्यहीन कुरालाई समेत प्रतिवेदनमा राख्नुले नै यो अपराधी पत्ता लगाउने हैन, बयान संकलन गर्ने प्रतिवेदन देखिएको छ। 

यसले अनुसन्धानलाई सघाउने भन्दा उल्झाउने काम गर्‍यो। 

प्रधानमन्त्री ओलीको बोलीले बिगारेको स्थिति

निर्मला प्रकरण सुदूरपश्चिममा भएको एउटा अपराधको घटनामात्र नरहिसकेको थियो। यो देशभर न्याय खोज्ने आन्दोलन पनि भइरहेको छ। यस्तो अवस्थामा सरकार आफै यो प्रकरणलाई अनावश्यक उत्तेजना र शंकाको घेरामा पुराउन उद्दत रह्यो।

यसमा सरकार प्रमुख केपी शर्मा ओलीको बोली पनि एउटा प्रमुख कारण बन्न पुगेको छ। 

भदौ २० गते ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले प्रधानमन्त्रीका रुपमा हैन, पार्टी अध्यक्षका रुपमा आफ्नो आक्रोश पोखे। जसले यो प्रकरणलाई अझै अल्झायो र झन् झन् बल्झायो। 

महेन्द्रनगरमा कर्फ्यु हटेको बल्ल ८ दिन भएको थियो। अझै पनि सरकारले बलात्कारी र हत्यारा लुकाइरहेको भनेर आक्रोश कायमै थियो। 
प्रधानमन्त्रीले आन्दोलनकारीलाई शान्त बनाउने कूटनीतिक भाषा प्रयोग गर्नुपर्थ्यो तर एउटा पार्टीको वडा तहको नेताका शैलीमा उनले ‘कसैका बाबुआमा कसैतिर होलान्, कुनै पार्टीलाई भोट देलान्’ भन्दै आक्रोशित मुद्रामा बम दिदीबहिनीको बचाउमा लामै समय खर्चिए।

बम दिदीबहिनीहरुको बारेमा प्रहरीले गरेको अनुसन्धानको तथ्य प्रस्तुत गरेको भए स्थिति बेग्लै हुनसक्थ्यो तर प्रधानमन्त्रीले पीडित परिवार र हत्या गरिएकी किशोरी निर्मला पन्तको बारेमा एक शब्द बोलेनन्। जसले बम दिदीबहिनीहरुलाई प्रधानमन्त्रीकै संरक्षण भएको छाप धेरैमा पर्न गयो। निर्मलाका बुबा यज्ञराज पन्तले नै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीको अभिव्यक्तिले बम दिदीबहिनी झन् तगडा भएको प्रतिक्रिया दिएका थिए।

बम दिदीबहिनीको बचाउको नाममा प्रधानमन्त्रीले उनीहरुलाई उल्टै संदिग्ध पात्रको रुपमा उभ्याइदिए।

कोस्टा रिकामा मानार्थ पिएचडीको उपाधि लिन जानुअघि न्युयोर्कमा प्रधानमन्त्री ओलीले यही विषयमा त्यहाँ बस्ने एक नेपाली पत्रकारलाई अन्तर्वार्ता दिए, जसमा उनले निर्मलाका बलात्कारी पत्ता लगाउन १२ वर्षसम्म लाग्न सक्छ भनिएको समाचार मिडियामा आयो।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीले त्यसो भन्नुभएको हैन भनेर खण्डन गर्दासम्म ढिलो भइसकेको थियो। धेरैले प्रधानमन्त्रीले त्यही भनेको बुझे। 

पछिल्लो समय जब सरकारले आफ्नो उपस्थिति देखाउन काठमाडौँका बिजुलीको खम्बा खम्बामा नयाँ युगको सुरुवात लेखिएका पोस्टर राख्यो, प्रतिवादमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका उस्तै शैलिका निर्मलाका पोस्टर टाँसिए। 

सरकारले पोस्टर च्यात्न थाल्यो। तर यसले सरकारलाई फाइदा हैन हानी गर्‍यो। झन् तीव्र गतिमा देशभर यही पोस्टर फैलिन थाल्यो। अहिले त पोस्टरबाहेक स्टिकरबाट पनि निर्मलालाई न्याय खोजिएका छन्। 

सरकारले आफ्नै गतिविधिहरुका कारण यो प्रकरण बल्झिरहेको छ भन्ने महसूस गरी दुई तिहाईको दम्भ नहटाएसम्म निर्मला प्रकरण साम्य हुने देखिन्न। 

3rd December 2018, 07:28 pm | १७ मंसिर २०७५ मा प्रकाशित

1 Thought.

Leave a Reply

Your email address will not be published. Required fields are marked *